सुदूरपश्चिममा सरकार हराएको भन्दै टर्च बालेर सांकेतिक विरोध

सुदूरपश्चिम प्रदेश सभाको विशेष अधिवेशनको तेस्रो बैठकमा सरकार पक्ष सहभागी नभएपछि प्रतिपक्षी दलले सांकेतिक विरोध जनाएका छन् ।

मन्त्रीको अनुपस्थितिमा बैठक चल्न नसक्ने भन्दै सभामुख भीमबहादुर भण्डारीले अनिश्चितकाललाई बैठक स्थगित गरेपछि प्रतिपक्षी दल काँग्रेस, एमाले र नागरिक उन्मुक्ति पार्टीका सांसदहरूले प्रदेश सभा भवन अगाडि टर्च बालेर सरकारको खोजी गरेका हुन् ।

उनीहरूले मोबाइलको फ्ल्यास लाइट बालेर विरोध जनाएका छन् । एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावलले प्रदेशका नागरिक बाढी, पहिरो प्रभावित भएका बेला सरकारले प्रदेश सभाको बैठक समेत छलिरहेको भन्दै विरोध गरे ।

काँग्रेसका प्रमुख सचेतक विक्रमसिंह धामीले सरकार प्रदेश सभाको बैठक छलेर हिँडेकाले उक्त विषयमा आफूहरू गम्भीर रहेको बताए ।

काँग्रेस र एमालेका एक चौथाइ भन्दा बढी प्रदेश सभा सदस्यको मागअनुसार प्रदेश प्रमुखले आह्वान गरेको विशेष अधिवेशनको तेस्रो बैठक सोमबार दिउँसो २ बजे बोलाइएको थियो ।

बैठक सुरु भएपछि सभामुख भीमबहादुर भण्डारीले बैठकमा मन्त्रीको उपस्थिति अनिवार्य बनाइएको तर मन्त्री नै अनुपस्थित रहेको बैठक अघि बढाउन नसक्ने भन्दै अनिश्चितकाललाई स्थगित गरेका थिए ।

२० असारमा एमालेले समर्थन फिर्ता लिएर सरकारबाट बाहिरिएपछि अल्पमतमा परेका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विशेष अधिवेशनको बैठकमा सहभागी भएको भन्दै भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री टीका थापालाई आइतबार बर्खास्त गरेका थिए ।

थापा विशेष अधिवेशनको पहिलो र दोस्रो बैठकमा सरकारको तर्फबाट सहभागी भएपछि प्रदेश सभाको बैठक सञ्चालन भएको थियो । तर मुख्यमन्त्रीले आफ्नो निर्देशन विपरीत बैठकमा सहभागी भएको भन्दै थापालाई बर्खास्त गरेका हुन् ।

अल्पमतमा परेपछि चालु आर्थिक वर्षको बजेट पारित गर्न नसकेका मुख्यमन्त्री सोडारीले प्रदेश सभाको अधिवेशन अन्त्य गरेर अध्यादेशमार्फत ल्याउन खोजेका थिए । तर प्रदेश प्रमुख नजिर मियाँले उक्त निर्णय कार्यान्वयनमा ढिलाइ गर्दै विशेष अधिवेशन बोलाएपछि उनको चाहना पूरा हुन सकेको छैन ।

सरकारले वैकल्पिक बजेट समेत ल्याउन नसकेपछि सुदूरपश्चिम प्रदेश अहिले बजेट शून्यतामा गएको छ । अल्पमतमा परिसकेका मुख्यमन्त्री सोडारीले संवैधानिक प्रावधान बमोजिम समर्थन फिर्ता लिएपछिको एक महिनासम्म सत्ता नछाड्ने भएपछि प्रदेशमा अन्यौलता सिर्जना भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *