सुदूरपश्चिम प्रदेश सरकारकी मन्त्री थापा बर्खास्त

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री टीका थापालाई बर्खास्त गरेका छन्।

मन्त्री थापाले सरकारको नीति विपरीत काम गरेको उल्लेख गर्दै मुख्यमन्त्री सोडारीले  बर्खासत गर्नुभएको मुख्यमन्त्रीका स्वकीय सचिव दीर्घ जोशीले जानकारी दिए।

जोशीले भने, “प्रतिपक्षीले माग गरेको विशेष अधिवेशनमा नजाने सरकारको नीति थियो, उहाँ सरकारको नीति विपरीत विशेष अधिवेशनको बैठकमा सहभागी हुनुभएकाले मुख्यमन्त्रीले मन्त्री थापालाई बर्खास्तमा गर्नु भएको हो।”

नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले)को माग बमोजिम प्रदेश प्रमुखले संविधानको धारा १८३ को उपधारा ९३०अनुसार आह्वान गरेको प्रदेशसभाको अधिवेशन यही साउन ८ गतेबाट जारी छ।

अधिवेशनअन्तर्गत पहिलो बैठक र आजको दोस्रो बैठकमा मन्त्री थापा उपस्थित भएकी थिइन्। बर्खास्तमा परेकी मन्त्री थापा नागरिक उन्मुक्ति पार्टीबाट प्रदेशसभा सदस्य हुन्।

प्रदेश सरकारबाट नेपाल कम्युनिष्ट पार्टी(एमाले) बाहिरिएसँगै असार २० गतेदेखि मुख्यमन्त्री सोडारी अल्पमतमा परेका छन्। उनले संविधानमा भएको व्यवस्था बमोजिम यही साउन १८ गतेभित्र विश्वासको मत लिइसक्नुपर्छ।

प्रदेशसभाको आजको दोस्रो बैठकको विषेश समयमा सभामुखबाट समय लिएर बोल्ने प्रदेशसभाका सदस्यले वर्षासँगै उत्पन्न विपद्का घटनाबाट मृत्यु हुनेलाई क्षतिपूर्ति र प्रभावितलाई राहत प्रदान गर्न सरकारको ध्यानाकर्षण गराएका थिए।

विषेश समयमा नेपाली कांग्रेसका प्रमुख सचेतक विक्रमसिंह धामी, एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावल, नेकपा (माओवादी केन्द्र)का शिवसिंह ओली र नागरिक उन्मुक्ति पार्टीका घनश्याम चौधरीले भनाइ राखेका थिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *