प्रधानमन्त्री ओलीले सचिवहरूलाई मंगलबार विशेष निर्देशन दिने

प्रधानमन्त्री केपी शर्मा ओलीले आज विभिन्न सङ्घीय मन्त्रालयको कार्यप्रगतिबारे जानकारी लिएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सबै मन्त्रालयका सचिवहरूसँग कार्यप्रगति र भावी कार्ययोजनाबारे जानकारी लिएको प्रधानमन्त्री कार्यालयका सचिव कृष्णहरि पुष्करले जानकारी दिए ।

उनका अनुसार सचिवहरूले आफ्नो मन्त्रालयको कार्यप्रगति, वस्तुस्थिति, सुधारको मार्गचित्र, भावी कार्ययोजन, कार्यक्रम कार्यान्वयनका चुनौती र समाधानबारे प्रस्तुति दिएका थिए । ओलीले प्रधानमन्त्री भएपछि पहिलो पटक यस प्रकारको बैठक बोलाएका हुन् ।

त्यस अवसरमा उपप्रधानमन्त्रीद्वय, मन्त्रीहरू, प्रधानमन्त्रीका मुख्य सल्लाहकार, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, सुरक्षा निकायका प्रमुखलगायतको उपस्थिति थियो । आज दिन ११:३० बजे सुरू भएको बैठक साँझ ५:३० बजेसम्म चलेको थियो । प्रधानमन्त्री ओलीले उक्त प्रस्तुतिकरणमाथि आगामी मङ्गलबारको बैठकमा विशेष निर्देशन दिने कार्यक्रम तय भएको जनाइएको छ ।

बैठकपछि प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमार्फत मङ्गलबार फेरि छलफल हुने बताएका छन् । उनले लेखेका छन्, ‘नागरिकलाई छिटो सेवा प्रवाह र विकासका कामलाई अगाडि बढाउन के–के समस्या छन्, कसरी काम गर्न सकिन्छ भन्ने विषयमा सचिवज्यूहरुले आ-आफ्ना मन्त्रालयको स्थितिबारे विस्तृतमा खुलेरै कुरा राख्नुभयो । भनिन्छ, समस्याको सही पहिचान नै आधा समाधान हो । अब भोलिको एक दिन हामीले सोच्ने समय लिएका छौँ र मङ्गलबार फेरि छलफल गरेर काम अगाडि बढाउने विषयमा निर्णय लिन्छौँ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *