सौर्य एयर दुर्घटना छानबिन आयोगमाथि राजेन्द्र लिङ्देनले उठाए प्रश्न

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले सरकारले गठन गरेको सौर्य एयरलाइन्सको विमान दुर्घटनासम्बन्धी छानबिन आयोगले निष्पक्ष रूपमा छानबिन गर्नेमा आशंका व्यक्त गरेका छन् ।

आइतबार प्रतिनिधिसभा बैठकमा आकस्मिक समयमा बोल्दै उनले सो विमान दुर्घटनामा जिम्मेवार मानिएका व्यक्तिका आफन्तलाई सो छानबिन आयोगको प्रमुख बनाइएको आरोप लगाए । उनले सो आयोगबाट निष्पक्ष छानबिन हुन्छ भनेर भन्न सकिने आधार नभएको बताए ।

सरकारले सो विमान दुर्घटनाबारे छानबिन गर्न नेपाल नागरिक उडडयन प्राधिकरणका पूर्वमहानिर्देशक रतिशचन्द्रलाल सुमनको नेतृत्वमा ५ सदस्यीय आयोग गठन गरेको थियो । तर, पूर्वमहानिर्देशक सुमनका आफन्त पनि सो दुर्घटनामा जिम्मेवार रहेको कुरा बाहिर आएकाले सो आयोगले निष्पक्ष छानबिन गर्छ भनेर विश्वास गर्न नसकिने अध्यक्ष लिङ्देनको जिकिर थियो । उनले सरकारले एउटै मान्छेलाई विमान दुर्घटनापछि छानबिनको जिम्मेवारी दिनेको गरेको भन्दै आपत्ति पनि जनाए ।

‘सो विमान पोखराका लागि उड्न उपयुक्त थियो कि थिएन भन्ने कुरा जाँच गर्ने र अनुमति दिने सुरक्षा प्रमुख जो अनुसन्धानको सबैभन्दा पहिलो दायरामा आउँछन्, उनका भिनाजुलाई अहिले यो छानबिन आयोगको प्रमुख बनाइएको छ भन्ने कुरा बाहिर आइराखेको छ,’ अध्यक्ष लिङ्देनले भने, ‘भनेपछि कुन प्रकारको छानबिन हुन्छ होला ? र एउटै मान्छेलाई यस प्रकारको छानबिनको जिम्मेवारी पटकपटक किन दिइँदैछ भन्ने कुरातर्फ पनि मन्त्रालयको ध्यान जान जरूरी छ । र, म मन्त्रालयको ध्यानाकर्षण गराउन चाहन्छु ।’

अध्यक्ष लिङ्देनले उडानका लागि उपयुक्त नरहेको सो विमान उडान भर्ने काम भएको भन्दै आपत्ति जनाए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर