हवाई र सडक दुर्घटना रोक्न विशेष ध्यान दिन सांसदहरूले गराए सरकारको ध्यानाकर्षण

प्रतिनिधिसभाका संसदहरूले हवाई र सडक दुर्घटना हुन नदिन विशेष ध्यान दिन सरकारसँग आग्रह गरेका छन् ।

आइतबार प्रतिनिधिसभा बैठकमा बोल्दै सत्तारूढ कांग्रेस सांसद राजेन्द्र बजगाईं, एमालेकी सचेतक सुनिता बराललगायतका सांसदहरूले हवाई र सडक दुर्घटना हुन नदिनका लागि विशेष ध्यान दिन सरकारको ध्यानाकर्षण गराएका हुन् ।

सांसद बजगाईंले सौर्य एयरलाइन्सको विमान दुर्घटना र त्रिशूली नदीमा भएको बस दुर्घटनामा परी धेरै नागरिकले ज्यान गुमाउनुपरेको उल्लेख गर्दै सो अवस्था आउन नदिनका लागि सरकारलाई रूलिङ गर्न सभामुख देवराज घिमिरेको ध्यानाकर्षण गराए । उनले सरकारले हवाई दुर्घटना हुँदा शोक व्यक्त गर्दै आधा राष्ट्रिय झण्डा झुकाएको तर त्रिशूलीमा बस दुर्घटना हुँदा त्यस्तो नगरेर विभेद गरेको भन्दै आपत्ति पनि जनाए ।

सांसद बजगाईंले भने, ‘नेपालको हवाई सेवाको लागि सरकारसँग परामर्श गरेर सम्माननीय सभामुखज्यूले यस विषयमा रूलिङ नै गर्नुपर्छ । हुन त बस दुर्घटनाको विषयमा सरकार अनुत्तरित छ । हामीले आधा झण्डा झुकायौं हवाई सेवा दुर्घटनाको सन्दर्भमा । तर ६५ जनाको ज्यान गएको बस दुर्घटनाको बारेमा विभेद भयो भन्ने पनि प्रश्न उठेको छ । सम्माननीय सभामुखज्यूलाई म यो अनुरोध गर्न चाहन्छु कि यो विषयमा रूलिङ गरिदिनुपर्‍याे ।’

एमालेकी सचेतक बरालले सरकारले हवाई र सवारी दुर्घटना हुन नदिनका लागि विशेष ध्यान दिन जरूरी रहेको बताइन् । उनले हवाई दुर्घटना हुन नदिनका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणलाई सचेत गराउन पनि सरकारलाई सुझाव दिइन् ।

सचेतक बरालले भनिन्, ‘हवाई दुर्घटना र सडक दुर्घटनाका बारेमा विशेष ध्यानाकर्षण हुन जरूरी छ । सरकारले विशेष ध्यान दिन जरूरी छ । आज यात्रालाई मृत्युको गन्तव्य हो कि भन्ने परिकल्पना गरेर हिँड्नुपर्ने जुन अवस्था छ, यो असाध्यै दुःखद् पक्ष छ । हवाई मार्गबाट दुई मिनेट पनि उड्न नपाउँदै भएको दुर्घटनाले हामीलाई विक्षिप्त मात्रै बनाएको छैन, ठूलो क्षति व्यहोर्नुपरेको छ ।’

सचेतक बरालले हवाई दुर्घटना हुन नदिनका लागि सरकारले नीतिगत व्यवस्था नै गरेर अघि बढ्नुपर्ने पनि बताइन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *