कारागार र बाल सुधारगृहको अवस्था सुधार गर्ने मन्त्रीहरूको प्रतिबद्धता

सरकारले नेपालका कारागार र बाल सुधारगृहमा देखिएका समस्याहरूको समाधान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

कानुन, न्याय तथा मानव अधिकार समितिको आइतबारको बैठकमा नेपालका बाल सुधारगृहमा रहेका बालबालिकाहरू र कारागारहरूमा रहेका कैदी तथा थुनुवाहरूको मानव अधिकारको अवस्थाका सम्बन्धमा स्थलगत अनुगमन गर्न गठित उपसमितिहरूको प्रतिवेदन पेस भएको थियो । सोही प्रसंगमा बोल्दै गृहमन्त्री रमेश लेखक, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडी र कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले बाल सुधारगृह कारागारमा रहेका समस्याहरू समाधान गर्ने बताएका हुन् ।

बैठकमा बोल्दै गृहमन्त्री लेखकले देशभरका कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी रहेका भन्दै त्यसको व्यवस्थापनका लागि भौतिक संरचनामा सुधार गर्नु आवश्यक भएको बताए । उनले यसतर्फ सरकारले गम्भीरतापूर्वक ध्यान दिने बताए ।

उनले कारागारको सुरक्षा व्यवस्थापन, सवारीसाधन, पुस्तकालयलगायतको व्यवस्थापनमा पनि जोड दिइने बताए । उनले कारागारलाई सीप विकास केन्द्रको रुपमा विकास गर्नुपर्ने पनि बताए । उनले कारागार व्यवस्थापनका लागि तीन तहका सरकारकाबीच समन्वय गरेर अगाडि बढ्नुपर्ने बताए ।

गृहमन्त्री लेखकले बाल सुधारगृहमा पनि भौतिक संरचनाको अभाव रहेको भन्दै सरकारको ध्यानकर्षण भएको बताए । उनले अपराध न्यूनीकरण तथा नियन्त्रण गर्न सरकारले ध्यान दिने पनि बताए ।

बैठकमा बोल्दै महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले कारागार र बाल सुधारगृहमा अमानवीय व्यवहार हुने गरेको बताए । उनले कारागारमा मानव अधिकार उल्लंघन भएको बताए । उनले १८ वर्षभन्दा माथिकालाई बाल सुधारगृहमा राख्दा समस्या उत्पन्न हुने गरेको भन्दै कानुन सुधार गरेर उनीहरूका लागि छुट्टै व्यवस्था गर्नुपर्ने बताए ।

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले सरकार कारागार र बाल सुधारगृहको अवस्था सुधार गर्न प्रतिबद्ध रहेको बताए । उनले कारागारमा हुने समस्याहरूका बारेमा आफूहरूलाई जानकारी भएको भन्दै संविधानअनुरूप सुधार गर्नुपर्ने कुराहरू सुधार गर्ने बताए ।

उनले कानुनमा आवश्यक सुधारका लागि सम्बन्धित मन्त्रालयहरूसँग छलफल गरेर सुधारका कामहरू अगाडि बढाइने बताए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *