बेचन झालाई पक्राउ गर्ने डीआईजी केसीको सरूवा

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाउने धन्दामा संलग्न उच्च तहका बिचौलिया बेचन झा र पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतीकलाई पक्राउ गर्ने डीआईजी मनोज केसीलाई गृह मन्त्रालयले आकस्मिक रूपमा सरुवा गरेको छ । सामान्यतया कम्तीमा एक वर्ष अवधि पुगेपछि सँगसँगै सरुवा भएकालाई एकै लटमा सरुवा गर्ने प्रचलन रहेकामा गृहले डीआईजी मनोज केसीलाई विशेष ब्युरोमा खटाएको दुई महिना नहुँदै राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा पठाएको हो ।

विशेष ब्युरोकै समन्वयमा झा र थापा गत १४ असारमा पक्राउ परेका थिए । उनीहरूमाथि उच्च राजनीतिक नेतृत्वलाई तान्ने प्रयास गरिएको र त्यस क्रममा प्रहरी नेतृत्वलाई समेत ‘बाइपास’ गरेको आरोप डिआइजी केसीलाई लागेको छ । यद्यपि, प्रत्यक्ष रूपमा उनी पछिल्लो समय सो प्रकरणको अनुसन्धानमा संलग्न थिएनन् ।  स्रोतका अनुसार भुटानी शरणार्थी प्रकरणमा उनको भूमिकालाई लिएर गृहमन्त्री रमेश लेखकले जिम्मेवारीबाट हटाएका हुन् । गत जेठमा बढुवा भएलगत्तै केसीको ब्युरोमा सरुवा भएको थियो । तर, दुई महिना नहुँदै बिहीबार उनको फेरि सरुवा भएको छ । ब्युरोमा डीआईजी राजन अधिकारीलाई जिम्मेवारी दिइएको छ ।

हाई प्रोफाइल जोडिएको नक्कली भुटानी शरणार्थी प्रकरणको विस्तृत अनुसन्धान केसीकै नेतृत्वमा भएको थियो । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रमुख रहँदा उनले यस प्रकरणको अनुसन्धानको नेतृत्व गरेका थिए । जस क्रममा पूर्वमन्त्रीहरू टोपबहादुर रायमाझी, बालकृष्ण खाणलगायत हाई प्रोफाइल पक्राउ परेका थिए । त्यतिवेला गृह मन्त्रालयकै मिलेमतोमा सो ठगीधन्दा भएको थियो । यसमा राजनीतिक नेतृत्वसमेत जोडिएको अनुसन्धानमा खुल्यो । उच्च तहको राजनीतिक नेतृत्वबाट बिचौलियाका रूपमा बेचन झा त्यतिवेला गृह मन्त्रालय पुगेको अनुसन्धानमा खुल्यो । तत्कालीन गृहसचिव टेकनारायण पाण्डेले गरेको बयानमा सो कुरा उल्लेख छ ।

तत्कालीन गृहमन्त्री बालकृष्ण खाण र सचिव पाण्डेलाई ठगी गिरोहसँग भेट गराइदिने व्यक्ति उनै झा हुन् । सचिव पाण्डेको बयान उल्लेख छ, ‘मन्त्रालयमा राजनीतिक रूपमा सम्पर्कमा आएका बेचन झासँग बयान लिएपछि यस विषयमा थप गहिराइमा पुग्न सकिन्छ ।’ झाले सत्तागठबन्धनमै आफ्नो भूमिका रहेको भनेर सचिव पाण्डेलाई मन्त्रालयमा बताएका थिए ।

अनुसन्धानमा आबद्ध प्रहरी अधिकारीका अनुसार खाण र पाण्डेलाई भेट्न झा कांग्रेसका उच्च तहका नेतामार्फत नै गृह मन्त्रालय गएका थिए । साथै, खाणले बिचौलियाहरूसँग भेट्दा सो पैसा आफूले विभिन्न व्यक्तिलाई बुझाउनुपर्ने पनि बताएका थिए । यस आधारमा यो अपराधमा अरू धेरै उच्चपदस्थको संलग्नताको संकेत प्रहरीले पाएका थिए । तर, प्रहरीले उनको बारेमा विस्तृत जानकारी पाउनुअघि नै उनी भारत भाग्न सफल भएका थिए । भारतीय मूलका झाले ०६३ मा मात्र नेपाली नागरिकता लिएका हुन् । उनको भारतको पनि परिचयपत्रहरू फेला परेकाले त्यसतर्फ पनि अनुसन्धान भइरहेको छ ।

बिचौलिया झालाई पक्राउ गरेकाले अघिल्लो सत्तागठबन्धन ढलेको आरोप लाग्दै आएको छ । त्यसलाई थप पुष्टि गर्ने गरी नयाँ सरकारले त्यसको अनुसन्धानमा संलग्न प्रहरीलाई हटाउन थालेको छ । स्रोतका अनुसार त्यसको अनुसन्धानमा संलग्न श्यामलाल ज्ञवालीलाई पनि सिआइबीबाट हटाउने तयारी छ । यो समाचार नयाँपत्रिका दैनिकमा छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर