कांग्रेस–एमालेले जनताको अधिकार खोस्न खोजे सडक संघर्षमा जान्छौं : प्रचण्ड
प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस–एमालेले संविधान संशोधनमार्फत नागरिकको अधिकार खोस्न खोजे सडक संघर्ष गर्न बाध्य हुने चेतावनी दिएका छन् ।
संविधान संशोधन गरेर सत्तारुढ कांग्रेस र एमालेले जनताको अधिकार खोस्ने दुःशाहस गरिरहेको उल्लेख गर्दै उनले त्यसलाई सफल हुन नदिने बताए । उनले फेरि सडकमा पलेटी कसेर जन दबाब सिर्जना गर्न बाध्य हुने चेतावनी दिए ।
पुष्पलाल स्मृति प्रतिष्ठानले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले नेपाली जनतालाई थप अधिकार दिलाउन आफूहरुले संविधान संशोधन गर्न चाहेको स्पष्ट पार्दै जनताको अधिकार कटौती गर्ने आशयका साथ सत्तारुढ दलहरु आए त्यस विरुद्ध संघर्ष गर्ने बताए ।
दुईवटा ठूला पार्टीले गर्न खोजेको संविधान संशोधन भनेको नेपाली जनताले प्राप्त गरेका अधिकारलाई पनि खोस्न खोज्ने, त्यसलाई उल्ट्याउने र देशलाई फेरि पहिलेकै निरंकुशतातिर लैजान चाहने खालको भएको जिकिर गरे । उनले त्यस्ता खालका गतिविधि स्वीकार्य नहुने पनि बताए । उनले ठूला दुई दलले थ्रेस होल्ड बढाएर साना दलहरुलाई निष्तेज पार्ने प्रयास गरेको आरोप पनि लगाए ।
अध्यक्ष प्रचण्डले सबै कम्युनिस्टहरुलाई एकै ठाउँमा ल्याउने प्रयासलाई पनि अघि बढाउने बताए ।
प्रतिक्रिया