द्रौपदी अर्थात् पाँच नाथकी अनाथिनी-२७

मत्स्यगन्धाबाट योजनासुगन्धा र त्यसपछि सत्यवती

तिनै सत्यवती महाभारतको जगमा गाडिएकी पत्थर जस्तै भएर हस्तिनापुरको भविष्यप्रति चिन्तित रहेकी राजमाताको रुपमा देखिन्छिन्। उनकै गर्भबाट पछि हस्तिनापुरका उत्तराधिकारीहरू जन्मेका हुन् चित्राङ्गद र विचित्रवीर्य नामका दुई राजकुमारहरू। पछि तिनै दुई राजकुमारहरू क्रमशः हस्तिनापुरका राजा भए जुन सर्त दाशराजले महाराज शन्तनुसँग राखेका थिए …

अधिकार र कर्तव्यका बारेमा सधैँ बहस हुने गरेको छ- अधिकारले कर्तव्यलाई बलियो बनाउँछ कि कर्तव्य परायणताले अधिकारको संरक्षण गरेको हुन्छ? अधिकारले कर्तव्यलाई पथ प्रदर्शन गर्छ कि कर्तव्यले अधिकारको बाटो फराकिलो बनाउँछ? यो समस्या रामायणमा पनि देखाइएको छ र कर्तव्य परायणताले अधिकारलाई जितेको छ। अधिकार गौण बनाइएको छ। कर्तव्य परायणताले मात्र दशरथ पुत्र रामलाई पुरुषोत्तम श्रीराम बनाएको छ। देवताको रुपमा पूज्य बनाएको छ। भगवान विष्णुको १२ कलाको उत्तराधिकारी देखाएको छ। सधैँ शान्तिकामी पुरुषोत्तम श्रीरामलाई कर्तव्य पथमा सफल हुन वाण बोकाइएको छ र धेरै राक्षसहरूको वध उनको हातबाट गराइएको छ। तर कर्तव्य पूरा गर्न गराउन उनले आफ्ना वैधानिक राजकीय अधिकारहरूलाई पन्छाएर, स्पष्टरुपमा देखिएका अधिकारहरूलाई अँध्यारा कुनामा राखेर, कर्तव्यको बाटामा आफूलाई हिँडाएर एक आदर्शवादी पुत्र, एक आदर्शवादी पिता, एक आदर्शवादी पति र मायालु भ्राताका रुपमा यो संसारमा अमरत्व पाएका छन् आदिकवि बाल्मीकिको रामायणमार्फत्।

तर अर्को व्यास रचित महाकाव्य महाभारतमा भने अधिकारको अस्वस्थकर प्रतिस्पर्धा र लडाईँले कर्तव्यका बाटोमा सधैँ अवरोध ल्याएको देखिन्छ। जस्तो कि निषाद दाशराजले आफ्नो रुपवती छोरी मत्स्यगन्धाको बारेमा, पराशर ऋषिसँगको व्यवहारका सबै जानकारी पाएका पनि थिए कि थिएनन्? त्यसबारेमा मत्स्यगन्धाकै छोरा व्यासले लेखेको महाभारतमा कतै वयान गर्दैनन्, अर्थात् छोरीको माछाको गन्ध कसरी हरायो र अत्तरको बास्ना जस्तै योजनासुगन्धा कसरी हुन पुगी भन्ने बारेमा सायद दाशराजलाई जानकारी कतै भएको होस्। यसबारेमा जानकारी पाउने तीन जनामात्र देखिन्छन्- एकजना पराशर ऋषि, दोस्रो पाराशर कृष्ण अर्थात् वेदव्यास, र तेस्रो व्यक्ति स्वयं मत्स्यगन्धा जो भावी महारानीका सत्यवतीका रुपमा नियतिले बाटो पहिल्याएको देखिन्छ। किन यस्तो हुँदैछ भन्न थाहा नभए पनि तर योजनासुगन्धा नभएकी भए र तत्काल जन्मेको बच्चाको कतै जानकारी नहुने गरी उनको शरीर सुगठित पार्ने वरदान नदिएको भए? किन राजा या पथिकहरू उनीप्रति आकर्षित हुन्थे होलान् र?

कुरो महर्षि पराशरको थियो। पराशरमा अचानक यति धेरै कामान्धता ओइरिएको थियो कि उनलाई त्यो षोडशीको भोग गर्नु नै नितान्त आवश्यक थियो। षोडशी कन्याले बरु कर्तव्यको ज्ञान गराउँदै भनेकी थिइन्- महर्षि, हाम्रो डुङ्गालाई वारिपारिका मानिसहरूले देख्छन् र हाम्रो चर्तिकलालाई यसरी अर्थाउने छन् जसले मेरोभन्दा पनि तपाईँको प्रतिष्ठामा आँच आउने छ। संसारलाई जितेर आफूलाई एक रिपुमर्दन शक्तिपुत्रका रुपमा स्थापित गरेका ऋषि पराशर एकजना धीवर पुत्रीको यौवनका भारमा किचिएर, मदनका वाण खप्न नसकी सदाका लागि प्रताडना खप्न तयार हुनका लागि तयार भए। तर तत्कालका लागि कर्तव्यप्रति सजग बनाएकाले तत्काल बादल निर्माण गरी वारिपारिका मानिसहरूले नदेख्ने बनाउने काम भएको थियो।

अनि मात्र ऋषिको चाहना पूरा गर्दा उनको विवाह पछि आफ्नो पतिलाई दिने अस्मिताको पनि रक्षा नभएको र जिन्दगी भर कुमारी आमा भएर बाँच्ने बाध्यताका बारेमा जब किशोरीले स्मरण गराइन्, तत्काल उनका कुमारित्व आरोपण गरियो, माछाको गन्धलाई सुगन्धित बनाइयो, भर्खर जन्मने बच्चालाई वयस्क स्वरुप दिइयो र यता कतै त्यो बयस्क सन्तान नदेखिने गरी जङ्गलतर्फ लाग्यो। नियतिका अनेक मोडहरूको विश्लेषण गर्नसक्ने महर्षि पराशरले त्यो धीवर कन्यालाई पराशर पत्नीको दर्जा त दिन चाहेनन्। अर्थात् छोरालाई माने, कुमारित्व फिर्ता गर्न सक्षम थिए, मत्स्यगन्धालाई योजनासुगन्धा बनाउन सके तर न कामको वेग थाम्न सके, न धीवर कन्यालाई अपनाएर सँगै लिएर हिँड्ने हिम्मत गर्न सके। सायद भविष्यका लागि यो पनि एउटा तयारीको अवस्थामा थियो तत्कालीन समय। भोलिका लागि विषवृक्ष तयारी हुँदै थियो जस्तो। संसारको नयाँ विश्वयुद्धको तयारी हुँदे थियो सायद। र पछि भयो समयको कालखण्डमा पक्कै।

महाराज शन्तनुलाई यदि थाहा हुन्थ्यो भने कि उनले मन पराएकी धीवर कन्या कसैको सक्षम छोराकी आमा भइसकेकी छे र उनले मन पराएकी केटीको अमूल्य अस्मिता डुङ्गाभित्रै महान ऋषि पराशरले लुटिसकेका थिए। सायद त्यस्ती कन्यासँग महाराज शन्तनुले पनि जीवन मरणको प्रश्न जस्तो गरी विवाहको प्रस्ताव पनि राख्दैनथे होलान् र दाशराजले पनि विवाह पूर्व नै अपनाउन नचाहने ऋषिका तर्फबाट नाति पाइसकेकी छोरीका लागि, विवाह पश्चात् आफ्नी छोरीबाट जन्मने सन्तानले मात्र हस्तिनापुरको राजगद्दीको उत्तराधिकारी हुन पाउने कडा सर्त पनि राख्दैनथे होलान्।

मत्स्यगन्धाले एउटा ठुलो समस्याको समाधानचाहिँ अचानक तर रहस्यमय तरिकाले भेटेकी थिइन्। उनको जन्मँदै चारवेदको ज्ञाता छोराले भनेका थिए- माता, हजुरको यो द्विविधाजन्य परिस्थितिको म ज्ञाता छु। कुनै पनि समस्या आएमा मलाई सम्झनु होस्, म जहिले पनि हाजिर भएर हजुरको आज्ञा पालना गर्नेछु, परेको द्विविधाजनक समस्याको समाधान गर्नेछु। ती त्रिकालदर्शी पुत्रको क्षमताको धीवरपुत्रीले अनुमान यसरी लगाएकी थिइन् कि नियतिले त्यो बालक उनकै गर्भबाट जन्माउनै पर्ने कर्तव्यको पालना गराएको उनले बुझेको जस्तो गरिन् र त्यही बुझिन् जत्ति पराशरले बुझाउन सके, जत्ति उनका पुत्रले आमालाई छोटो समयमा बुझाउन सके। धीवरपुत्री मत्स्यगन्धाले यति बुझिन्, पुत्रवती भएपछि अब पो उनी वयस्का भइन्, नयाँ कर्तव्यको बोध भयो तर दुनियाँलाई भन्न नमिल्ने गरी। को हो पति पनि भन्न नमिल्ने अवस्थामा उनी थिइन्।

परिस्थितिको तत्कालीन विश्लेषण गर्दा शन्तनुले उनलाई मन पराएको कारण के थियो होला? अत्यन्त राम्री कन्या भएर या योजनासुगन्धाका कारणले सुगन्धित हावाका कारणले? अनि विवाहका लागि अन्य राजकन्याहरू नखोजेर आफ्नै राजधानी निकटको घाटमा डुङ्गा चलाउने धीवर निषादकी पुत्रीप्रति आसक्त हुनुपर्ने कारण? विवाहका लागि मरिहत्ते गर्नुपर्ने कारण पनि के थियो होला? भारत वर्षलाई नयाँ नयाँ उत्तराधिकारीहरूको उत्पत्ति? या नियतिको खेलमा जता जता समयले डोर्‍यायो, उतै उतै लाग्दै गएका हुन्? धीवर दाशराजको सर्त पूरा गर्दा आफ्नो वैधानिक उत्तराधिकारीबाट बच्चा भए पनि राज्यको उत्तराधिकारीका रुपमा स्वीकार नगर्ने सर्तप्रति राजा नतमस्तक थिए। राजाको इच्छा पूरा गर्नका लागि वैधानिक उत्तराधिकारी, कर्तव्य पूरा गर्नका लागि आफ्ना सम्पूर्ण अधिकार छोड्न तयार थिए र भावी उत्तराधिकारीको जन्म नहोस् भनेर शन्तनुका पुत्र देवब्रत विवाह नै नगर्ने प्रण गरेर भए पनि पिताजीको विवाह गराउन तत्पर थिए।

नियतिको खेल भनौँ या भारतवर्षको इतिहासमा नयाँ मोड ल्याउने समयको खेल थियो- एकजना महिलाको अचानक प्रवेश, दाशराजकी पुत्री योजनासुगन्धाको शन्तनु महाराजको जीवनमा अचानक प्रवेश। सत्यवतीको रुपमा। वयस्क पुत्रसँगको भेटघाट शन्तनु महाराज हुँदा भयो कि भएन, कतै उल्लेख पाइँदैन। सायद पराशरबाट सन्तान जन्मेपछि योजनासुगन्धामा नयाँ क्षमताको विकास भएको चाहिँ पक्कै देख्न पाइन्छ पहिले र पछिको उनको जीवनीको तयारी र प्रयोगका सम्बन्धमा देखिने फराकिला विचारहरूको प्रतिस्पर्धा।

सत्यवतीलाई यदि महाभारतको कथा या इतिहासबाट पन्छाउने हो भने सम्पूर्ण महाभारत ग्रन्थ निरस हुनेछ। महाभारतका सम्पूर्ण राजकीय जीवनमा देखिएका जीवनका परिभाषाहरू फरक फरक तरिकाले बुझाउने कोसिस भएको छ। पारम्परिकरुपमा खेलिने नयाँ नयाँ खेलहरूमा र समयले खेल्ने नयाँ नयाँ नियतिको खेलका बारेमा बुझ्नका लागि सत्यवतीको जीवनलाई केलाएर हेर्दा नबुझिने भएको छैन।

हरिविनोद अधिकारी/आईएनएस-स्वतन्त्र समाचार

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *