देशभर १० जनामा हैजा संक्रमण, सरसफाइमा विशेष ध्यान दिन विज्ञको सुझाव

स्वास्थ्य सेवा विभागअन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)ले देशभर हालसम्म १० जनामा हैजा सङ्क्रमण पुष्टि भएको जनाएको छ । ललितपुरमा सात र कैलालीमा तीन जनामा हैजा पुष्टि भएको महाशाखाका निर्देशक डा यदुचन्द्र घिमिरेले जानकारी दिए ।

उनले हैजाबाट बच्न व्यक्तिगत सरसफाइ र सम्बन्धित निकायको व्यवस्थापकीय भूमिका महत्त्वपूर्ण रहेको बताए । उनले भने, ‘हैजाको सम्बन्ध सरसफाइबाहेक खानेपानीको आपूर्तिसँग पनि जोडिएको छ । ललितपुरमा इनारको पानीमा दिसामा देखिने जीवाणु भेटिएको हो । ढलबाट मिसिएको हुन सक्छ । शौचालयको अवस्था र फोहोरको व्यवस्थापन कस्तो छ त्यसले पनि भर पर्छ । हैजा फैलिन नदिन यी सबैमा ध्यान दिनु जरूरी छ ।’

हैजा ‘भिब्रियो कोलेरी’ प्रजातिको जीवाणुबाट मानिसमा लाग्ने अति सङ्क्रामक झाडापखालासम्बन्धी रोग हो । शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पतालका सङ्क्रामक रोग विशेषज्ञ डा शेरबहादुर पुनले भने, ‘हैजाका जीवाणु सङ्क्रमित खाना वा पानीको सेवनका कारण लाग्ने गर्दछ । सरसफाइ तथा स्वच्छ खानेपानीको कमीले यो रोग फैलिने सम्भावना रहन्छ ।’

हैजा सङ्क्रमण भएको एक दिनभन्दा कम समयदेखि पाँच दिनसम्म लक्षणहरू देखा पर्छन् । हैजा सङ्क्रमण भयो र उपचार पाएन भने केही घण्टामै सङ्क्रमितको मृत्यु पनि हुनसक्ने विज्ञ बताउँछन् ।

डा पुनका अनुसार यसका मुख्य लक्षणमा पातलो तथा चौलानी पानी जस्तो दिसा, वाकवाकी र बान्ता हुने, कडा जलवियोजन हुने हुन्छ । कडा लक्षण देखिएमा आँखा गाडिने, मुख जिब्रो र घाँटी सुक्खा हुनु, तिर्खा लाग्नु, छाला सुक्खा हुनु, रक्तचाप कम हुुन, पिसाब पहेँलो हुनु र पिसाबको मात्रा कम हुने हुन्छ ।

डा पुनले मुख्यतः तीनवटा कुरामा ध्यान दिन सके हैजालाई नियन्त्रणमा राख्न सकिने बताउँछन् । पहिलो सुरक्षित पानी, व्यक्तिगत सरसफाइ र अर्को अनुगमन । उनी सबैभन्दा महत्त्वपूर्ण पाटो सफा र स्वच्छ पानी सेवन गर्नुपर्ने बताउँछन् । ‘हैजा दूषित पानीबाट एकदमै सहज र सरल तरिकाले फैलिने गर्दछ । धाराको पानी मान्छेले उमालेर वा फिल्टर गरेर खान्छन् तर जारको पानी धेरैले त्यसो गर्दैनन्,’ उनले भने, ‘किनेको पानी पिउनयोग्य नै छ भनेर सिधै खाइन्छ । विद्यालयदेखि लिएर कार्यालयदेखि लिएर सार्वजनिक स्थलमा जारको पानी राख्ने चलन छ । कतिपय व्यवसायीहरुले प्रशोधित नै नगरेका पानी बजारमा पठाउँदा रहेछन् । जसले गर्दा हैजाको संक्रमण फैलिन्छ ।’

उनले व्यक्तिगत सरसफाइ व्यवहारमा लागू भएको नदेखिएको बताए । ‘शौचालयको व्यवस्थापन राम्रो हुनुपर्छ । शौचालयको व्यवस्थापन कमजोर हुँदा हैजालगायत पानीजन्य रोगहरू फैलिन सक्छ । दिसामा रहेका जीवाणुहरू कुनै कारणले गर्दा बगेर फेरि हाम्रो खानेपानीमा आइपुग्छ । शौचालयको प्रयोग गरेपछि साबुन पानीले मिचिमिचि हात धुन जरूरी छ,’ उनले भने ।

डा पुन कतिपय व्यापारीले प्रशोधन नै नगरी पानी बजारमा ल्याइदिँदा खेरी मानिसहरु बिरामी हुने भएकाले सम्बन्धित निकायले नियमित अनुगमनलाई प्राथमिकतामा राख्नुपर्ने धारणा राख्छन् । उनी भन्छन्, ‘अनुगमन कडाइका साथ गर्ने हो धेरै हदसम्म नियन्त्रणमा आउँछ । किनभने विकसित देशमा पानीजन्य रोगहरू अत्यधिक कम छ ।’

हैजालगायत पानीजन्य रोगबाट बच्न उमालेको वा क्लोरिन झोल हालेर शुद्धीकरण गरिएको पानी पिउने, खानेकुरालाई राम्ररी पकाएर खाने, खाना बनाउनु अघि र खाना खानु वा खुवाउनु अघि, दिसापिसाब गरेपछि वा बालबालिकाको दिसा धोएपछि, फोहोर चलाएपछि, घर वा कार्यालय छिर्नु अघि, बाहिर सामान छोएपछि साबुन पानीले कम्तीमा २० सेकेन्डसम्म मिची-मिची हात धुनुपर्ने विज्ञहरूको सुझाव छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *