विद्युतीय धरापमा परी गैँडा मरेको पुष्टि

गत साउन ८ गते मृत अवस्थामा भेटिएको गैँडा विद्युतीय धरापमा परेर मरेको खुलेको छ । चितवन राष्ट्रिय निकुञ्जले सुरुवाती अवस्थामा गैँडा कालगतिले मरेको सार्वजनिक गरेको भए पनि गैँडा कालगतिले नभई करेन्ट लागेर मरेको खुलेको हो ।

निकुञ्जका पशु चिकित्सक डा विजयकुमार श्रेष्ठले भरतपुर महानगरपालिकाको शिस्वारमा मरेको गैँडाको पोस्टमार्टममै विद्युतीय झड्काबाट मरेको खुलेको बताए । मानव बस्तीको बिचमा आएर गैँडा कसरी कालगतिले मर्छ भन्ने नभएको हैन तर अहिले पोस्टमार्टम हेर्दा विद्युतीय धरापले गैँडा मरेको देखिन्छ, उनले भने ।

चितवन राष्ट्रिय निकुञ्जको मानव बस्तीनजिकै मकैबारीमा सो गैँडा मृत अवस्थामा भेटिएको थियो । गैँडा मृत भेटिएपछि डा श्रेष्ठकै नेतृत्वमा गैँडाको पोस्टमार्टम गरिएको थियो । गैँडालाई कुन उद्देश्यले विद्युतीय झड्का दिइयो भन्ने खुल्न सकेको छैन । यद्यपि यसको निकुञ्जले भने अनुसन्धान गरिरहेको जनाएको छ । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले सो घटनामा शङ्कास्पद केही व्यक्तिलाई पक्राउ गरी अनुसन्धान सुरु गरिएको बताए ।पक्राउ परेका व्यक्तिका बारेमा भने उनले खुलाएनन् । विगतमा निकुञ्जमा विद्युतीय धरापमा पारेर गैँडा कि त चोरीसिकारीले मारेका छन् कि त खेती बचाउन किसानले विद्युतीय धराप राखेका छन् । खाग खुर सुरक्षित रहेकाले पनि निकुञ्जले चोरीसिकारी गिरोहले भन्दा पनि किसानले नै खेती बचाउन गैँडा मारेको हो कि भन्ने आशङ्का निकुञ्ज पदाधिकारीको छ ।

निकुञ्जका सूचना अधिकारी तिवारीले गैँडाको मृत्युका सम्बन्धमा अध्ययन रिपोर्ट सार्वजनिक गरिने बताए । यसअघि २०७९ साल माघ १० गते निकुञ्जको पश्चिमी क्षेत्र अन्तर्गत पर्ने अमलटारीमा चोरीसिकारीले दुई वटा गैँडा विद्युतीय धरापमा पारेर मारेका थिए । आर्थिक वर्ष २०८०/८१ मा चितवनमा २१ वटा गैँडा मरेको तथ्याङ्क निकुञ्जसँग छ ।

यसरी मरेकामध्ये प्राकृतिक कारणले १८, चोरीसिकारीबाट दुई र पहिचान नभएको एक रहेको सूचना अधिकारी तिवारीले जानकारी दिए । यस्तै २०७९/८० मा २२ वटा गैँडा मरे । यसरी मरेकामध्ये दुई चोरीसिकारीबाट मरेका र बाँकी २० वटा कालगतिले मरेका हुन् । पछिल्लो समय चोरीसिकारीभन्दा प्राकृतिक कारणले गैँडा मर्ने क्रम बढेको छ । यो समाचार गोरखापत्र दैनिकमा छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर