भीमदत्तका दर्जन घर कटानको जोखिममा

कञ्चनपुरको भीमदत्त नगरपालिका–९ का देवबहादुर चन्दको पक्की घर वरपर भ्वाङै भ्वाङै परेको छ । घरको केही भागको माटो कटान गरेर घर भत्किने जोखिम छ ।

गत असार तेस्रो साता आएको बाढीले घर वरपरको जमिन कटान गरेको चन्द बताउँछन् । ‘अविरल वर्षापछि निर्माणाधीन महाकाली तेस्रो चरणको नहर भरिएर बस्तीतिर पस्यो । त्यही बाढीले कटान गर्दा घर भत्किने डर छ,’ उनले भने ।

बाढीले कटान गरेर घर जोखिममा परेको एक महिना पुग्नै लाग्दा पनि तटबन्धन निर्माण हुन नसक्दा डराइडराइ बस्नुपरेको उनको गुनासो छ । ‘तटबन्ध निर्माणका लागि बारम्बार माग गरिरहेका छौँ । तर, हाम्रो पीडा कसैले सुनेन,’ उनले भने, ‘पानी पर्दा कुन बेला घर तहसनहस पार्छ ? डराइ डराइ बस्नुपर्ने बाध्यता छ ।’

भीमदत्त नगरपालिका–९ निङलाशैनी टोलका दर्जनभन्दा बढी घर जोखिममा छन् । कटान गरेर भ्वाङ्ग पारिएको ठाउँमा अहिले त्रिपाल टाँगिएको छ । ‘अस्थायी तटबन्ध निर्माण गर्ने केही राहत हुन्थ्यो । तटबन्ध नहुँदा त्रिपाल टाग्नुपर्ने बाध्यता छ,’ स्थानीय मोहन नाथले भने, ‘आकाशमा बादल लाग्ना साथ निन्द्रा लाग्दैन ।’

स्थानीयले अस्थायी तटबन्ध निर्माणको माग गरेका छन् । ‘यहाँ खोला नदी केही छैन । कहिल्यै बाढी आएको थिएन । पानीले नहर भरिएपछि बस्तीतिर आएर क्षति पुर्याएको हो,’ तुम्णानीकी राजमतीदेवी विष्ट भन्छिन्, ‘यस्तो घरमा जोखिम मोलेर कसरी बस्ने ?’

उनका अनुसार कालोपत्रे सडक भत्किएपछि आवतजावतमा समस्या भएको छ । बाढीले दुई कठ्ठा जमिन र त्यसमा बनेको पसल भत्काएको स्थानीय भुवन सिंह धामीले बताए ।

चुरेमा भएको वर्षापछि आएको बाढीले ब्रह्मदेव र महेन्द्रनगर जोड्ने सडकमा पनि क्षति पुगेको छ । थोरै वर्षाले पनि अब सडक भत्किएर महेन्द्रनगरसँगको सम्पर्क टुट्ने जोखिम रहेको भीमदत्त नगरपालिका–९ राम नाथले जानकारी दिए ।

भीमदत्त नगरपालिका–९ स्थित स्थानीय थापा चौराह जोड्ने सडकको कल्भर्ड बाढीले बगाउँदा भीमदत्तको वडा नम्बर ६, ७ र ८ सँगको सडक अवरुद्ध विच्छेद भएको छ । ‘कल्भर्ड भत्किएको छ । गाडी सञ्चालन गर्न सकिने अवस्था छैन,’ नाथले भने, ‘कल्भर्ड भत्किएको ठाउँनिर हिँडेर जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर