घोराही-रक्षा चौर सडक ३५ वर्षदेखि अधुरो

दाङ जिल्लाको मुख्य बजार घोराही-तुलसीपुर जोड्ने वैकल्पिक सडकका रूपमा रहेको घोराही-रक्षा चौर खण्ड निर्माण सुरु भएको ३५ वर्ष भइसकेको छ । विसं २०४५ देखि उक्त सडक निर्माण सुरु भए पनि हालसम्म पूर्णता पाउन सकेको छैन ।

करिब २१ किलोमिटर रहेको उक्त सडकको हालसम्म १० किमी मात्रै कालोपत्र भएको छ । सडकको ट्रयाक खोलिएको करिब ३५ वर्ष बितिसक्दा पनि स्तरोन्नति नहुँदा घोराही-तुलसीपुर यातायातमा कठिनाइ हुँदै आएको स्थानीयको भनाइ छ ।  सडक कालोपत्र गर्न पटक पटक सरोकार भएका निकायमा दबाब दिँदै आए पनि सुनुवाइ नभएको तुलसीपुर-४ का दोलकबहादुर खत्रीले बताए ।

सडक धेरै पहिला नै ट्रयाक खोलिएको हो । समयमा स्तरोन्नति नहुँदा कतै पुनः नयाँ ट्रयाक बनाउनुपर्ने स्थित छ भने कतै नाली बनाउनुपर्ने अवस्था छ, तुलसीपुर-४ का वडाध्यक्ष तुलसी थापाले भने । करिब १० किलोमिटर सडक कालोपत्रे भइसकेको बताउँदै बाँकी ११ किमीअन्तर्गत कतिपय स्थानमा नयाँ ट्रयाक र नाली बनाउनुपर्ने अवस्था रहेको जानकारी दिए ।

सडक निर्माणका लागि आफूले पटक पटक प्रदेश र सङ्घ सरकारलाई दबाब दिइरहेको वडाध्यक्ष थापाले बताए । घोराही, हापुर, निघुवार, अक्कासी, सङ्क्राम हुँदै रक्षा चौर जोड्ने सडकको ट्रयाक खोल्ने काम पुरा भए पनि स्तरवृद्धि नहुँदा स्थानीयलाई सास्ती हुने गरेको छ ।

घोराही-रक्षा चौर खण्डको कौवाखोली-कल्लेखोलासम्मको सडक स्तरोन्नति हुन सकेको छैन । उक्त सडकका लागि परेको बजेट कटौती हुँदै गएको छ भने परेको बजेट पनि फ्रिज हुने गरेको वडाध्यक्ष थापाले जानकारी दिए ।

घोराही-तुलसीपुर जोड्ने वैकल्पिक सडक नहुँदा यात्रीले सास्ती भोग्नुपरेको स्थानीय बताउँछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर