बर्दियाको बुरहान वाइल्डरनेस क्याम्प टाइम म्यागजिनको १०० गन्तव्यको सूचीमा

विश्वविख्यात अमेरिकी म्यागजिन ‘टाइम’ले सन् २०२४ मा भ्रमणका लागि छनोट गरेका अद्भुत सय गन्तव्यको सूचीमा नेपालको बर्दिया राष्ट्रिय निकुञ्ज पनि परेको छ । निकुञ्जको ‘बुरहान वाइल्डरनेस क्याम्प’ टाइमले सार्वजनिक गरेको सूचीको १६औँ नम्बरमा परेको हो ।

म्यागजिनले संसारभरका सय महत्वपूर्ण होटेल, रेस्टुरेन्ट, क्रुज, म्युजियम, पार्कलगायत समेटेर ‘वर्ल्डस् ग्रेटेस्ट प्लेसेस् २०२४’ को सूची बिहीबार सार्वजनिक गरेको छ । कर्णाली नदीको दुई भंगालाबीच प्रायद्वीपमा रहेको बुरहान वाइल्डरनेस क्याम्पमा विभिन्न गतिविधि गर्न सकिन्छ । क्याम्पले आगन्तुकहरूलाई पार्कमा प्रवेश नगरी बुसवाक, क्यानो ट्रिप, एन्टी–पोचिङ युनिटसहित वन्यजन्तु ट्याकिङ र एसियाली हात्तीमा यात्रालगायतका सुविधा प्रदान गर्ने म्यागजिनले उल्लेख गरेको छ । सूक्ष्म–संरक्षण शैलीमा सञ्चालित बुरहानले जैविक पदचिह्नलाई न्यून गर्दै जनावरहरूको संरक्षणलाई प्राथमिकतामा राखेको छ ।

नेपाल पर्यटन बोर्डका निर्देशक मणिराज लामिछाने टाइमजस्तो विख्यात म्यागजिनले नेपालको बुरहान क्याम्पलाई विश्वका सय अद्भूत गन्तव्यभित्र समेट्नु देशकै गौरवको विषय भएको बताउँछन् । ‘सम्भवतः टाइमको सूचीमा पहिलोपटक नेपाली प्रडक्ट परेको हो । यसले नेपाललाई सुपर लक्जरी डेस्टिनेसनका रूपमा प्रचार गरिदिएको छ । अहिलेसम्म नेपालमा चितवन मात्र वाइल्ड लाइफ टुरिजममा परिचित रहँदै आएको थियो । अब बर्दिया पनि वाइल्ड लाइफ ह्याभेनका रूपमा विश्वभर परिचित बनेको छ,’ उनले भने, ‘विश्वविख्यात म्यागजिनले उत्कृष्ट सूचीमा राख्दा नेपालको सित्तैमा विश्वव्यापी प्रचार भएको छ । यसले पर्यटन क्षेत्रमा स्वदेशी तथा विदेशी लगानीको सम्भावना पनि उजागर गरिदियो ।’

संरक्षणविद् मनोज गौतम र उनकी दिदी प्रभा गौतमले वास्तविक रूपमा पुनर्प्रयोगमुखी संरक्षणलाई बढावा दिन ‘बुरहान वाइल्डरनेस क्याम्प’ स्थापना गरेका हुन् । यसले स्थानीय बासिन्दालाई बढीभन्दा बढी लाभ प्रदान गर्नुका साथै स्थानीय प्रकृति र संस्कृतिलाई संरक्षण गर्न पनि मद्दत गरेको छ । क्याम्पले स्थानीय र जैविक खाना प्रदान गर्छ । यसले रोजगारीको माध्यमबाट आदिवासी थारू संस्कृतिलाई पनि टेवा दिएको म्यागजिनले जनाएको छ ।

गत वर्ष बुरहानमा पाँच सयभन्दा बढी पाहुनाहरूलाई स्वागत गरिएको थियो । बुरहानले स्थानीय होमस्टे र रेस्टुरेन्टहरूलाई सघाएको छ । यसले स्थानीय युवाहरूलाई उद्धार र गाइडसम्बन्धी तालिम तथा रोजगार प्रदान गर्छ । उक्त वन्यजन्तु संरक्षण क्षेत्रमा जंगली हात्ती, एकसिंगे गैँडा, बंगाली बाघलगायतका जनावर तथा विभिन्न प्रजातिका चरा पाइन्छन् ।

टाइमको विश्वका उत्कृष्ट स्थानहरूको वार्षिक सूचीले नयाँ र रोमाञ्चक अनुभव प्रदान गर्नेतर्फ मनन गर्दै विश्वभर बस्न र घुम्नका लागि सय उत्कृष्ट स्थानहरूलाई सार्वजनिक गर्दै आएको छ । २०२४ को सूची तय गर्न टाइमले आफ्ना संवाददाता र योगदानकर्ताहरूको अन्तर्राष्ट्रिय सञ्जालबाट सहयोग प्राप्त गरेको थियो । म्यागजिनले आवेदन प्रक्रियामार्फत होटेल, क्रुज, रेस्टुरेन्ट, आकर्षणस्थल, संग्रहालय, पार्कसहित विभिन्न ठाउँहरूको नामांकन मागेको थियो ।

नेपाललाई ‘सुपर लक्जरी डेस्टिनेसन’का रूपमा प्रचार गरिदियो : मणिराज लामिछाने निर्देशक, नेपाल पर्यटन बोर्ड टाइमजस्तो विख्यात 
म्यागेजिनले नेपालको बुरहान क्याम्पलाई विश्वका १०० अद्भुत गन्तव्यभित्र समेट्नु देशकै गौरवको विषय हो । सम्भवतः टाइमको सूचीमा पहिलोपटक नेपाली प्रडक्ट परेको हो । यसले नेपाललाई सुपर लक्जरी डेस्टिनेसनका रूपमा प्रचार गरिदिएको छ । अहिलेसम्म नेपालमा चितवन मात्र वाइल्ड लाइफ टुरिजममा परिचित रहँदै आएको थियो । अब बर्दिया पनि वाइल्ड लाइफ ह्याभेनका रूपमा विश्वभर परिचित बनेको छ । विख्यात म्यागेजिनले उत्कृष्ट सूचीमा राख्दा नेपालको सित्तैमा विश्वव्यापी प्रचार भएको छ । यसले पर्यटन क्षेत्रमा स्वदेशी तथा विदेशी लगानीको सम्भवना पनि उजागर गरिदियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर