मन्त्रीलाई सहसचिवहरूले भने : कटौती भएको प्राविधिक सचिवको पद थप्न पहल गरिदिनुस्

प्रधानमन्त्रीसँग कुरा राख्छु : मन्त्री खड्का

विभिन्न मन्त्रालयमा कार्यरत प्राविधिक सहसचिवहरूले कटौती भएको प्राविधिक सचिवको पद थप गर्न माग गरेका छन् ।

प्राविधिक समूहका सहसचिवहरूले आज ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्कालाई भेटेर प्राविधिक सचिवको पद कटौती हुँदा वृत्तिविकासको अवसरबाट वञ्चित हुनुपरेको भन्दै पद थपका लागि पहल गरिदिन आग्रह गरेका हुन् ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका प्राविधिक सहसचिव मधुप्रसाद भेटवालले शान्ति तथा पुनःनिर्माण मन्त्रालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको इञ्जिनियरिङ सेवाको सचिव पद कटौती हुँदा निजामती सेवामा प्राविधिक जनशक्तिका लागि वृत्तिविकासमा असर पर्न गएको बताए ।

उनले सरकारले घोषणा गरेको विकास र समृद्धिको नारालाई यथार्थमा परिणत गर्न प्राविधिक जनशक्तिको भूमिका महत्त्वपूर्ण भएकाले प्राविधिक क्षेत्रको विज्ञता आवश्यक रहेका क्षेत्रमा सम्बन्धित विषयको विज्ञ जनशक्तिलाई परिचालन गर्न आग्रहसमेत गरे ।

भेटमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री खड्काले प्राविधिक क्षेत्रका सहसचिवको समस्यालाई आफूले बुझेकाले यसको समाधानका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरे ।

‘विषयमा अनुभवी व्यक्तिले सम्बन्धित मन्त्रालयको नेतृत्व गरोस् भन्ने मेरो चाहना हो, तपाईंहरूको समस्याका बारेमा म प्रधानमन्त्रीसँग कुरा राख्छु,’ मन्त्री खड्काले भने ।

उनले कर्मचारीले जति धेरै काम गर्‍याे त्यति सरकार सफल हुने भएकाले काममा ध्यान दिनसमेत आग्रह गरे ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर