राहदानीकाे दुरूपयोगबाट हुने अपराध रोक्न एनसीबी र विभागबीच समझदारी

अपराध नियन्त्रण गर्न राष्ट्रिय केन्द्रीय ब्यूरो काठमाडौ (एनसीबी) र राहदानी विभागबीच आज समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवर र राहदानी विभागका महानिर्देशक तीर्थराज अर्यालले प्रहरी प्रधान कार्यालयमा आयोजित एक समारोहबीच आज उक्त समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् ।साथै उनीहरूले समझदारीपत्र आदानप्रदानसमेत गरे ।

सो अवसरमा प्रहरी महानिरीक्षक कुँवरले इन्टरपोलमा रहेका विभिन्न डाटाबेसमध्ये एसएलटीडी (चोरी र हराएको यात्रा कागजात) डाटाबेस हाल नेपालले पनि प्रयोग गर्दै आएको र उक्त डाटाबेसलाई व्यवस्थित गर्न इन्टरपोलद्वारा डब्ल्यूआईएसडीएम (डाटा व्यवस्थापनका लागि इन्टरपोल वेबसेवा) प्रविधि इन्टरपोलका सदस्य राष्ट्रलाई आवश्यकताअनुसार प्रदान गरेको चर्चा गरे ।

साथै डब्ल्यूआईएसडीएमलाई प्रयोग गर्ने सम्भावनाको यकिन गर्न पाइलट फेज सञ्चालन गर्दा राहदानी विभागको सिस्टममा एकीकृत गर्न सकिने राहदानी विभागको सुझावअनुरूप नै समझदारी भएको उनले बताए ।

महानिरीक्षक कुँवरले लामो समयदेखि हराएका, चोरी भएका तथा रद्द गरिएका राहदानीको नेपालमा मात्र नभएर वैदेशिक भूमिमा समेत आपराधिक तथा अवैधानिक प्रयोगमा नियन्त्रण तथा जानकारी प्राप्त हुने, डाटाबेसमा अपडेट गर्दा त्रुटि हुने सम्भावनाको अन्त्य हुने, लामो र झन्झटिलो प्रक्रिया यसपश्चात सहज र छिटो हुनुका साथै नेपाल प्रहरी इन्टरपोल शाखा, अध्यागमन विभाग र राहदानी विभागबीचमा समेत समन्वय हुने विश्वास व्यक्त गरे ।

राहदानी विभागका महानिर्देशक तीर्थराज अर्यालले समझदारीको महत्त्व र औचित्यताबारे आफ्नो धारणा राख्दै राहदानीको दुरूपयोगबाट हुने अपराध नियन्त्रण गर्न यस समझदारीले सहयोग पुर्‍याउने उल्लेख गरे । साथै आगामी दिनमा पनि नेपाल प्रहरीसँग भएको सहकार्यलाई थप व्यवस्थित बनाउँदै लैजाने उनले बताए ।

समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षक, प्रहरी नायब महानिरीक्षक, वरिष्ठ प्रहरी अधिकृत तथा राहदानी विभागका पदाधिकारीको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर