चीनमा नेपाली युवतीको तस्करी : विवाह र विलासी जीवनको आसमा नरकको बास

चिनियाँ ठगी गिरोह र नेपाली दलालहरूको फन्दामा परी कैयौं नेपाली महिला तथा युवतीहरू चीनका विभिन्न ठाउँमा बेचबिखन हुने गरेका छन् ।

नेपाली मानव तस्करी गिरोहद्वारा चिनियाँ पुरूषसँग विवाहको प्रलोभनमा पारेर यस्तो बेचबिखन हुने गरेको हो । विवाहपछि चिनियाँ पुरूषबाट मानसिक, शारीरिक यातना र यौन शोषणको सिकारसमेत भएको ती युवतीहरूको पीडादायी विवरण बाहिरिएको छ ।

यसले नेपाली महिला र युवतीहरूको पीडाका साथै उनीहरूलाई चीनमा कसरी यौन शोषण गर्न बाध्य पारिएको छ भन्ने कुरालाई उजागर गरेको छ ।

सम्झना : निम्न मध्यम वर्गीय परिवारबाट आएकी सम्झनाले उच्च शिक्षा सकेपछि ठमेलको एउटा क्याफेमा काम गर्न थालिन् । काम गर्दागर्दै एक चिनजानको मन्छेले उनलाई चिनियाँ नागरिकसँग विवाहको प्रस्ताव ल्याए । उनले सुरूमा अस्वीकार गरिन् ।

सधैं राम्रो आर्थिक अवस्था हासिल गरेर जीवन बिताउने सपना देखेकी सम्झनाले चिनियाँ नागरिक बनेपछि जीवन चलाउन सहज हुने कुराले उनलाई लोभ्यायो । उनलाई बिहे गरेको पाँच वर्षपछि चिनियाँ रेसिडेन्सी पाउने बताइएको थियो ।

विलासी जीवनको आशामा उत्साहित सम्झनाले चिनियाँ नागरिक र उनको परिवारलाई ठमेलको एउटा रेष्टुरेन्टमा भेटिन् । उनलाई चीन जान चिनियाँ नागरिकसँग विवाह दर्ता गराउनुपर्ने बताइयो । यही सल्लाहअनुसार उनीहरूले सन् २०२३ मार्च २७ मा विवाह दर्ता गराए ।

याे पनि : चिनियाँसँग विवाह गरेर यसरी बेचिन्छन् नेपाली चेली

त्यसपछि नवविवाहित जोडी सन् २०२३ अप्रिल १४ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै चीन उडे । उनलाई उनको श्रीमानद्वारा दक्षिणी चिनियाँ शहर जिंगताई लगियो । सुरूमा उनीहरूबीचको सम्बन्ध राम्रो थियो । तर, दश-बाह्र दिनपछि उनका श्रीमानले उनको इच्छाविपरीत धेरै पटक यौन सम्पर्क गर्न बाध्य पारे । उनी भन्छिन्, ‘यौन उत्तेजक चक्की खाएर दिनमा ५-६ पटकसम्म यौन सम्पर्क गर्थे ।’

उनले यस्तो पीडादायी गतिविधिको विरोध गर्दा झन् अवस्था बिग्रियो । विवाह गरेका चिनियाँ पुरूषले सम्झनालाई वेश्यावृत्तिमा लगाए । उनले भनिन्, ‘मैले आत्महत्या गर्ने प्रयास गरेँ तर दुर्भाग्यवश म मरिनँ ।’

पछि मात्र सम्झनाले नेपालबाट ५ लाख रूपैयाँमा वेश्यावृत्तिका लागि चिनियाँ नागरिकले किनेको थाहा पाइन् । जसोतसो उनी बेइजिङस्थित नेपाली दूतावासमा सम्पर्क गर्न सफल भइन् । त्यसपछि उनलाई चीनबाट उद्धार गरिएको थियो ।

पार्वती : सन् २०१९ मा पार्वती वैदेशिक रोजगारीमा जाने योजनामा थिइन् । उनले आशा तामाङको भाइलाई भेटिन् । पार्वतीलाई भेटेको केटाले आफ्नी बहिनीले चिनियाँ नागरिकसँग विवाह गरेर सुखी जीवन बिताइरहेको बताइन् । साथै युवकले उनलाई सिन्धुपाल्चोककी चिनियाँ श्रीमान भएकी महिलासँग भेटघाट गराउने आश्वासन पनि दिएका थिए । उनलाई बालाजुको माछापोखरीमा विविरानी तामाङसँग भेटघाट गराए । उनलाई स्थानीय एजेन्ट विविरानी तामाङले प्रलोभनमा पारेकी थिइन् ।

चिनियाँ नागरिक ठमेलमा बसेको विविरानीले पार्वतीलाई बताइन् । उनले यदि उसले तिमीलाई मन परायो भने तिमीसँग विवाह गर्नेछ भनिन् । धेरै पैसा कमाउन सकिने पनि बताइन् । कुराकानीपछि पार्वतीलाई ठमेलको एउटा होटेलमा लगेर चिनियाँ नागरिकलाई भेट गराइयो । उनीहरूले सबै कागजातहरूसहित आवश्यक कुराहरू व्यवस्थित गरे ।

उनीहरू सन् २०१९ जुलाई १३ मा भिजिट भिसामा चीनको शानडोङ गएका थिए । उनीहरूसँगै लमजुङका दुई महिला पनि चीन गएका थिए । उनको भिसा एक महिनाको मात्रै भएकाले उनी १५ दिनको चीन बसाइपछि नेपाल फर्किएकी थिइन् ।

उनको भिसा सन् २०१९ अगस्ट २८ मा छ महिनाका लागि थपियो । त्यसपछि उनी फेरि चीन गइन् र नेपालमा भेटेको चिनियाँ नागरिकको घरमा बस्न थालिन् ।

यस पटक उनीमाथि राम्रो व्यवहार भएन । चिनियाँ नागरिकले उनीमाथि शारीरिक र मानसिक दुर्यवहार गर्न थाले । शारीरिक दुर्यवहार सहनका साथै बिना उचित खानपिन राति अबेरसम्म काम गर्न बाध्य भइन् । उनी बिरामी भइन् । पछि मात्र चिनियाँ नागरिकले उनलाई नेपाली एजेन्टले १७ लाख ५० हजार रूपैयाँमा बेचेको बताए । चिनियाँबाट निर्मम व्यवहारपछि उनी चीनमै बस्ने अर्की नेपाली महिलाको सहयोगमा त्यो घरबाट भाग्न सफल भइन् । सन् २०१९ सेप्टेम्बर २६ मा अप्रिय र डरलाग्दा अनुभवहरू लिएर उनी नेपाल फर्किन् ।

याे पनि : वेश्यावृत्तिका लागि नेपालका अदालतमा विवाह गरेर युवतीकाे चीनमा तस्करी

रोशना : घरपरिवारमा आर्थिक तनावको सामना गरिरहेकी रोशना करिब पाँच वर्षअघि थांकाचित्र बनाउन ललितपुरको च्यासलमा सरिन् । त्यहाँ उनको भेट चिनियाँ पर्यटकका लागि गाइड र अनुवादक किरण तामाङसँग भयो । फेसबुकमा जोडिएपछि किरणले रोशनालाई चीनमा धेरै कमाउन सक्ने र चीन जाने भए सबै प्रबन्ध मिलाउन सक्ने प्रस्ताव राखे । सुरूमा उनको इन्कारका बाबजुद किरणले रोशनालाई चीन लैजाने सबै खर्च आफूले गरिदिने शर्तसहित व्यापारका लागि चीन जाने कुरा मनाउन सफल भए ।

सन् २०२० जनवरी १० मा रोशना किरणसँग चीन उडिन् । चीन पुगेपछि उनीहरूको भेट किरणको साथी एक चिनियाँ नागरिकसँग भयो । चिनियाँले उनलाई शानडोङ प्रान्तको हेजे शहरमा लिएर गए । सुरूमा रोशनाप्रति राम्रो व्यवहार गरियो तर केही दिनपछि चिनियाँ व्यक्तिले उनलाई कोठामा बन्द गर्दै पिट्न थाले । रोशनाले किरणसँग मद्दत मागिन् तर किरणले उनलाई फेसबुकमा ब्लक गरे र ८० हजार रूपैयाँमा बेचेको खुलासा गरे ।

उनको अवस्था बिग्रियो तर उनले माया मगरलाई टिकटकमा सम्पर्क गरिन् र मायाले बेइजिङस्थित नेपाली दूतावासलाई सो कुराको जानकारी गराइन् । शानडोङ प्रहरीसँगको समन्वयमा घरमा छापा मारेर दुर्व्यवहार रोकियो । तीन महिना बाहिर काम गर्न अनुमति पाए पनि रोशनाको कमाइ र कागजात चिनियाँ परिवारले जफत गरेको थियो ।

नेपाली दूतावास र शानडोङ प्रहरीको सहयोगमा उनको भिसाको म्याद थप भयो र सन् २०२० को अक्टोबरमा उनलाई सकुशल नेपाल फर्काइएको थियो ।

याे पनि : मानव तस्करी माफिया ‘चिनियाँ’ पक्राउ

टीकामाया : निम्न आर्थिक वर्गको परिवारमा जन्मेकी टीकामाया पनि एसएलसी सकेर काम गर्ने भिसामा ओमान गएकी थिइन् । उनी मध्यपूर्वमा रहँदा आफ्नी आफन्त सरिता तामाङमार्फत सुन्दरी राईसँग फेसबुकमा जोडिन पुगिन् ।

सुन्दरी राईले टीकामायालाई आफू विगत दश वर्षदेखि चिनियाँ नागरिकसँग विवाह गरेर चीनमा खुसीसाथ बस्दै आएको कुरा भनिन् । सुन्दरी राईमार्फत टीकामायालाई चिनियाँ नागरिकबाट विवाहको प्रस्ताव आएको थियो ।

सम्पन्न जीवनको प्रलोभनमा लोभिएकी टीकामाया सन् २०२३ नोभेम्बर १० मा ओमानबाट काठमाडौं फर्किइन् । सुन्दरी राईमार्फत टीकामायाले चिनियाँ नागरिकसँग भेट गरिन् । उनले विवाह गर्नु अगाडि परिवारलाई सबै कुरा जानकारी गराउनुपर्ने भनिन् । तर, चिनियाँ पक्ष र सुन्दरी राईले चिनियाँ पुरूषसँग बिहे गर्न उनको परिवारले नदिने बताउँदै उनलाई त्यसो गर्नबाट रोकेका थिए ।

सबै प्रक्रिया पूरा भएपछि टीकामाया चीनमा बिहे गर्ने आशामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट चिनियाँ नागरिकसँग चीन उडिन् । उनलाई चीनको हार्बिनमा लगियो, जहाँ उनीहरूले विवाह गरे ।

एक हप्तापछि चिनियाँ युवकले उनीमाथि बलात्कार गर्न थाले । त्यसपछि मात्र उनले आफू १ लाख ५० हजार रूपैयाँमा बेचिएको थाहा पाइन् । टिकटकमा भेटेका एक नेपालीको सहयोगमा उनी सन् २०२३ जुन २३ मा चीनबाट भाग्न सफल भइन् ।

माथि उल्लेख गरिएका चारवटै कथामा पीडितहरूलाई बेचबिखनमा फसाउन एउटै तरिका प्रयोग गरिएको देखिन्छ । नेपालका चीनसँग सीमा जोडिएका जिल्लाहरूका ग्रामीण पहाडी क्षेत्रका न्यून आय भएका परिवारका कमजोर महिला र केटीहरूलाई चिनियाँ नागरिकसँग विवाह गर्ने शर्तमा नेपाली दलालहरूले चीनमा आकर्षक रोजगारी र राम्रो जीवनको प्रस्ताव गर्ने गरेको खुल्न आएको छ । स्थानीय अधिकारीहरूलाई घुस दिएर नेपाली दलालहरूले चाहिने कागजातहरू तयार पार्छन् र त्यसपछि नेपाली महिलाहरूलाई चीन लगेर चिनियाँ नागरिकहरूलाई सुम्पने गरेको माथिको घटनाले देखाएको छ ।

राम्रो जागिर दिने वाचा, राम्रो जीवनको आश्वासन, विवाहको प्रस्ताव, सम्पन्न जीवनस्तरको सपनाजस्ता प्रलोभनमा पारेर यी दलालहरू परिवारका सदस्यहरू र महिलाहरूलाई विश्वास दिलाउन सफल हुन्छन् । यौन बेचबिखनलगायत दुर्व्यवहारको दलदलमा फसेपछि मात्र पीडितहरूले यी वाचा र आश्वासनहरू झुटो हुन् भनी थाहा पाउँछन् ।

पीडितहरूले चीन पुगेपछि मात्र आफूलाई के भयो भन्ने बुझ्छन् । तर, त्यतिन्जेल ढिलो भइसकेको हुन्छ । बेइजिङमा नेपाली अधिकारीहरूसँग भेट र पहुँच नपाउने भएकाले उनीहरू केही गर्न सक्ने अवस्थामा हुँदैनन् ।

नेपाल प्रहरी एकपछि अर्को गर्दै तस्करी र्‍याकेटको पर्दाफास गर्न सफल हुन्छ तर पक्राउ पर्नेहरू प्रायः नेपाली दलाल मात्र नै हुन्छन् । अपराधमा संलग्न चिनियाँ नागरिकहरू भने प्राय छुट्छन् ।

अनुसन्धानमा संलग्न प्रहरीहरूले चिनियाँ पक्षलाई कारबाही गर्न असफल भएको यो पहिलो घटना भने होइन । उदाहरणका लागि सन् २०१५ मा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले चीन र कोरिया विवाह र्‍याकेटको पर्दाफास गर्‍याे, जुन त्यस समयको सबैभन्दा ठूलो तस्करी योजनाहरूमध्ये एक हो । सुरूमा नेपाल प्रहरीले अपराधको गम्भीरताबारे अनुसन्धान गर्ने वाचा गरेको भए पनि संलग्न चिनियाँ नागरिकहरू पत्ता लगाउन भने सकेन ।

चिनियाँ पक्षबाट समन्वय र सहयोगको अभावका साथै अपराध अन्तर्राष्ट्रिय र संगठित प्रकृतिको भएकाले अपराधीलाई पक्राउ गर्न कठिन भएको नेपाल प्रहरीका अधिकारीहरू बताउँछन् ।

याे पनि : फ्रि भिसामा आउने, अपराध गर्ने र चीन नै भाग्ने

नेपाल प्रहरीका पूर्व नायब महानिरीक्षक हेमन्त मल्ल ठकुरीले भन्छन्, ‘पीडितले नेपालको सीमा पार गरेपछि उनीहरूको खोजी गर्न र न्याय दिन गाह्रो हुन्छ ।’ यसका साथै यस विषयमा चिनियाँ पक्षसँग समन्वय, सहयोग र सञ्चारको अभाव रहेको ठकुरी बताउँछन् । पूर्व नायब महानिरीक्षक ठकुरीका अनुसार चीन पक्षले नेपाली अनुसन्धान अधिकारीलाई जति सहयोग गर्नुपर्ने हो त्यति सहयोग कहिले पनि गर्दैन ।

नेपाल प्रहरीले २०१५ मा काठमाडौंमा विवाह ब्यूरो चलाउने र युवायुवतीहरूलाई कोरियाली र चिनियाँ पुरूषसँग विवाह गराउने गिरोहको पर्दाफास गर्दा ठकुरी केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का निर्देशक थिए । त्यो घटनाको अनुसन्धान प्रक्रियामा नेपाल प्रहरीले पर्याप्त साथ र सहयोग नपाएको ठकुरीले स्मरण गरे ।

मानव बेचबिखन अनुसन्धान ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक गौतम मिश्रका अनुसार हालसम्म नेपाली युवतीलाई विवाहको प्रलोभनमा पारेर वेश्यावृत्तिमा बेच्ने ६ वटा मुद्दा नेपाल प्रहरीमा दर्ता भएका छन् । यीमध्ये चार चिनियाँ नागरिक संलग्न रहेको मुद्दा छन् ।

प्रवक्ता गौतम मिश्र भन्छन्, ‘समुदाय र परिवारको असहयोग र डरका कारणले पीडितहरू प्रहरीकहाँ आउँदैनन् ।’ प्रवक्ता मिश्रका अनुसार प्रहरीमा मुद्दा दर्तापछि पनि पीडितहरूले आर्थिक प्रलोभनमा परेर उजुरी फिर्ता लिने गर्छन् र अदालतमा बयान फेर्ने गर्दछन्

नुवाकोटका एक स्थानीयका अनुसार गत वर्ष नुवाकोटको दुर्गम गाउँकी एक स्थानीय महिला एक वर्षभन्दा बढी बेपत्ता भइन् । यस वर्षको फेब्रुअरीमा उनी दुई चिनियाँ नागरिकसँग गाउँमा फेरि देखा परिन् । उनले एक चिनियाँ पुरूषसँग आफूले विवाह गरेको र उनीसँगै आएका अर्का चिनियाँ नागरिक उनका आफन्त भएको गाउँलेहरूलाई जानकारी गराएकी थिइन् ।

केही दिनपछि उनी आफ्ना आफन्त र छिमेकीहरूलाई नगद र राम्रो जीवनका लागि चिनियाँ पुरूषहरूसँग आफ्ना छोरीहरूलाई विवाह गर्न मनाउँदै गरेको भेटियो । उनीहरूको यो योजनाबारे प्रहरीले सूचना पाएको थियो । तर, प्रहरी पुग्नुभन्दा पहिले नै उनीहरू गाउँबाट भागिसकेका थिए ।

चिनियाँ तस्करी गिरोहले स्थानीयस्तरमा कसरी काम गर्छ भन्ने कुराको यो एउटा उदाहरण मात्र हो । तिनीहरूले समुदायभित्र अनौपचारिक बिचौलियाहरू भर्ती गर्छन् । यी मध्यस्थकर्ताहरू प्रायः समुदायद्वारा चिनिएका र विश्वास गर्ने व्यक्तिहरू हुन्छन् । जस्तै आफन्तहरू, छिमेकीहरू, साथीहरू, समुदायका नेताहरू वा प्रभावशाली व्यक्तित्वहरू ।

पछिल्लो समय स्थानीयलाई समृद्ध जीवन देखाएर लोभ्याउन चिनियाँ पुरूषसँग विवाह गरिसकेका वा विवाह गरेको देखाउने महिलालाई पनि यस गिरोहले परिचालन गर्न थालेको छ ।

स्थानीयका अनुसार विपन्न गाउँलेहरूलाई लोभ्याउन स्थानीय तहमा प्रशस्त नगदसहित राम्रा लुगा लगाएका महिलाहरूलाई गिरोहले परिचालन गर्न थालिसकेको छ ।

अमेरिकी सरकारको २०२३ को मानव बेचबिखनको प्रतिवेदनले चीनमा केही जबरजस्ती विवाहका घटनाहरू उल्लेख गरेको छ । जसमध्ये धेरै घटनाहरूको सुरूआत विकट गाउँबाट भएको र यी घटनाहरूमा यौन बेचबिखन र जबरजस्ती श्रममा लगाइने गरेको उल्लेख छ । यसमा हुने कारबाहीहरू विरलै पीडितहरूलाई क्षतिपूर्ति प्रदान गर्ने र दोषी फैसलामा परिणत हुन्छन् । चीन र दक्षिण कोरियामा नेपाली कम्पनीमार्फत पुरूषसँग विवाह गर्न राजी हुने केही नेपाली महिलालाई घरेलु दासत्वमा बाध्य पारिएको सन् २०२२ को मानव बेचबिखन प्रतिवेदनले जनाएको छ ।

(पीडितहरूको सुरक्षा र उनीहरूको पहिचानको सुरक्षाका लागि सबै नामहरू परिवर्तन गरिएको छ ।)

-डेमोक्रेसी मिडिया नेटवर्कमा प्रकाशित लेखबाट

स्रोत : आईएनएस-स्वतन्त्र समाचार

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर