विमान दुर्घटनाका साक्षीहरू के भन्छन् ?

बुधबार बिहान झण्डै सवा ११ बजेतिर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एक्कासि ठूलो आवाज सुनियो । त्यो आवाजसँगै विमानस्थलको पूर्वी छेउमा धुवाँको मुस्लोसहित आगोको ज्वाला दन्किएको देखियो ।

त्यतिबेला विमानस्थल वरपरको जमिन पनि थर्किएको थियो । यो भयानक दृश्यको साथी बनेका रामकुमार केसीले सौर्य एयरलाइन्स दुर्घटनाको घटना विवरण सुनाए।

बानेश्वर निवासी केसी नियमित झै पसल खोलेर साथीभाइसँग गफिरहेका थिए । ‘शुरूमा डङ्ग आवाज सुनियो, के भएछ भनेर यसो अगाडि हेर्दा त धुँवाको मुस्लोसहित आगोको ज्वाला अगाडि नै आइसक्यो,’ केसीले भने, ‘आगोको रापले पसल छोडेर भाग्नुपर्‍यो, साथीभाइबीच कोलाहल मच्चियो, डरले हातखुट्टा लगलग काँपे, पाइला चाल्न सकिएन, आवाज पनि निस्किएन । विस्तारै समालिएँ । नजिकै गएर हेर्दा त विमान दुर्घटना भएर घाइतेहरू घटपटाइरहेको दृश्यले झनै मन क्षत विक्षत भयो ।’

विमान दुर्घटनास्थलसँगै पेप्सिकोला खहरेस्थित जे.जे मोटर पार्टस एण्ड ट्रेडिङ कम्पनीका सञ्चालक केसीले उक्त स्थानमा विगत छ वर्षदेखि सवारीसाधनको मोटर पार्टस तथा मर्मत पसल सञ्चालन गर्दै आएका रहेछन् ।

आँखै अगाडि कहाली लाग्दो विमान दुर्घटनाको दृश्यले केसीको मनमा छटपटी बढ्यो । मुखबाट शब्द निस्केन । एक छिन त हात–खुट्टाले  पनि काम गरेन । भाग्यवस आफूहरू बाच्न सफल भएको उनले बताए । ‘धावनमार्ग नजिकको कन्टेनर र सँगैको झाडीसहितको कान्लामा नठोक्किएको भए उक्त जहाज सिधै बस्तीमा पस्ने थियो र हामीलगायत अरु धेरैको ज्यान जाने खतरा हुन्थ्यो धन्न बाँचियो,’ केसीले त्यो क्षण सम्झँदै भने।

विमानले धावनमार्गसँगैको कन्टेनरमा ठक्कर दियो र भित्तामा बजारियो । आगोको मुस्लो र धुँवाले नजिक केही देखिएन । आगो लागेको करिब पाँच मिनेटमा दमकल आइपुग्यो । ‘जहाज माथिबाट जल्दै झरेको देखियो । आगो दन्कियो, आवास र गन्ध आइरहेको थियो,’ केसीले भने ।

करिब २५ मिनेटमा आगो नियन्त्रणमा आयो र उद्धार गर्न शुरू भयो । घाइतेको उद्धार र शव निकालेर एम्बुलेन्समा हालियो । एम्बुलेन्सको आवास, मानिसको कोलाहलले दुर्घटनास्थलको माहोल भावविह्वल थियो ।

समयमै दमकल पुगेको भए केहीलाई बचाउन सकिन्थ्यो की भन्ने प्रत्यक्षदर्शीको अनुमान छ । सोही स्थानमा विगत डेढ वर्षदेखि थानापति वर्कसप सञ्चालन गर्दै आएका सुनिल साहीलाई चाही भुँइचालो गएजस्तो लाग्यो । यसो हेर्दा त विमानपो दुर्घटना भएको रहेछ । ‘पसलमा बसिरहेको थिएँ, भुँइचालोले जस्तो हल्लायो, जुरुक्क उठेर हेर्दा त आगोको मुस्लो देखे, आगोको रापले उभिन सकिएन पर गएर दुर्घटनास्थल नियाले,’ उनले भने, ‘दृश्य हेर्दा कोही पनि बाँचेन भन्ने लाग्यो, उद्धार टोली ढिलोगरी पुगे । डाँडाबाट पानी हालेर दुर्घटनास्थलमा पानी पुग्न सकेन । मुख्य आगो लागेको ठाउँ थोरै टाढा थियो ।’

सिन्धुपाल्चोक घर भएका सवारीचालक सन्तोष खड्काले पनि विमान दुर्घटनाको साक्षी बने । उनले भने, ‘गाडीमा रङगरोघन गरिरहेका थियौँ, एक्कासि धुँवाको आगोको तापसँगै मुस्लो आयो, मुटु ढुकढुक भयो, जिउ काम्यो, हेर्दा खेरी डरमर्दो थियो । आगोको ताप शुरू दुई/चार जना मानिस छटपटाइ रहेको देखियो, कोहीको आधा, जीउ कसैको हात घुट्टा छैन, केहीको टाउको थिएन । उद्धारमा ढिलाइ भएकाले धेरैको ज्यान बचाउन सकिएन ।’

सुमित कार्कीले पनि वर्कसपबाटै प्रत्यक्ष विमान दुर्घटनाको वीभत्स दृश्यको साक्षी बने । ‘स्कुल बसमा कलर गर्दै थिएँ । एक्कासि ठूलो आवाजसहित आगो बलेको देखियो । दौडेर सुरक्षित ठाउँतिर गइयो, विमान जलिरहेको भिडियो पनि मोबाइलमा कैद गरियो । केही समयपछि दमकल र उद्धारकर्मी आए । सायद चाँडै आएको भए केहीको ज्यान बचाउन सकिन्थ्यो की !,’ उनले भने।

सप्तरीका सुरज पासवान पनि विमान दुर्घटना हुँदा नजिकैको धारामा हातखुट्टा धुँदै थिए । जहाज ठोक्किएर आगो लागेको दृश्यले धेरैबेरसम्म बोल्न पनि सकेनन् । आगोको रापले भागाभाग भयो । ‘एउटा पाइलटले हात हल्लाएको देखे अरु जलेर चिन्न नसक्ने अवस्थामा थिए । हातखुट्टा लरबराए, धेरै डर लागेको छ ।’

विमान दुर्घटनास्थल नजिकको न्यू संयुक्त अटो वर्कसपमा कार्यरत मजदुर विमान दुर्घटनाका साक्षी बने । त्यहाँको सम्पूर्ण घटनाक्रम नियाले । अनि मोबाइलमा तस्बीर र भिडियो कैद पनि गरे ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार सौर्य एयरलाइन्सको सिआरजे ७ (९एन–एएमइ) कलसाइन विमान बुधबार स्थानीय समयअनुसार बिहान ११ बजेर ११ मिनेटमा पोखरा उडानको क्रममा उड्ने वित्तिकै दुर्घटनाग्रस्त भएको थियो ।

चालकदलसहित १९ जना सवार उक्त विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग ०२ बाट उडान गर्नेवित्तिकै दाहिने मोडिन गई धावनमार्गको पूर्वतिर रहेको स्थानमा दुर्घटनाग्रस्त भएको हो । दुर्घटनामा १८ जनाको मृत्यु हुनका साथै एक जना पाइलट घाइते भएका छन् । घाइतेको सिनामङ्गलस्थित केएमसी अस्पतालमा उपचार भइरहेको छ ।

अन्तर्राष्ट्रिय विमानस्थलमा टावर नजिकै भएको दुर्घटनाले विभिन्न संशय  उब्जाएको छ । मिडिया र सामाजिक सञ्जालमा विमान दुर्घटनाबारे विभिन्न विषयहरू आइरहेका छन् । यता नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणले विमान दुर्घटनाका कारणबारे अहिले नै केही भन्न नसकिने बताएको छ ।

प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भूलले विमान दुर्घटना के कसरी भयो भन्ने कुरा अत्यन्त प्राविधिक विषय भएकाले अहिले अनुमानका आधारमा भन्न नसकिने बताए । हल्ला भए जस्तो विमान पुरानो वा समयमै मर्मत नभएको भन्ने कुरामा सत्यता नरहेको उनले स्पष्ट पारे ।

सौर्य एयरलाईन्सको सीआरजे ७०० ९ एन–एएमई विमान ‘विमानको सम्पूर्ण चेक पार्टसको चेक’ (सी–चेक) का लागि इञ्जिनियरसहितको टोली लिएर पोखरा जाँदै थियो । उक्त विमान धावनमार्गबाट उड्ने वित्तिकै दुर्घटनाग्रस्त भयो । हरेक दुई वर्षमा सी–चेक गरिन्छ । कम्पनीसँग यही सिरिजका तीन विमान थिए । एक दुर्घटना र एक जहाज ग्राउन्डेड रहेकाले अब एक मात्रै उडानमा हुनेछ । हाल भद्रपुर र विराटनगरमा दैनिक समान तीन उडान गरिरहेको थियो । सी–चेकका लागि इञ्जिनियरहरूसहितको टोली विमान दुर्घटनामा परेको हो ।

उक्त वायुयान दुर्घटनाको सत्यतथ्य जाँचबुझ गरी प्रतिवेदन पेस गर्न सरकारले पाँच सदस्यीय दुर्घटना जाँचबुझ आयोग गठन गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर