काठमाडौँ जिल्ला अदालत : मुद्दा फर्छ्योट दरमा सुधार

जिल्ला अदालत काठमाडौँले २०८०/८१ मा मुद्दा फर्छ्योट दरमा तुलनात्मक रुपमा सुधार गरेको छ । यस आर्थिक वर्षमा २३ हजार दुई सय ९१ (४६ दशमलव ७४ प्रतिशत) मुद्दा फर्छ्योट गरेको छ । आर्थिक वर्ष २०७९/८० मा १५ हजार पाँच सय २८ (४२ दशमलव १८ प्रतिशत) मुद्दा फर्छ्योट गरेको थियो । आर्थिक वर्ष २०८०/०८१ मा ४९ हजार आठ सय २७ मुुद्दा रहेकामा फर्छ्योट गर्न बाँकी २६ हजार पाँच सय ३६ मुद्दा रहेका छन् ।

जिल्ला न्यायाधीश कमलप्रसाद पोखरेलले मुद्दा फर्छ्योटमा तीव्रता दिने उद्देश्यले काम गर्दागर्दै पनि मुद्दाको चाप बढी र न्यायाधीशको संख्यामा कमीका कारण नसकिएको भए पनि गत वर्षको तुलनामा सुधार भएको बताए । ‘गत वर्षभन्दा यस वर्ष बढी मुद्दा फछ्र्योट भएको छ, ४६ जनाको दरबन्दी भए पनि ३१ जना न्यायाधीशले मात्रै काम गरिरहेका छौँ’, उनले भने, ‘अदालतबाट समयमै न्याय पाइन्छ भनेर जनआस्था वृद्धि गर्न छिटो न्याय दिनका लागि प्रयन्तरत छौँ ।’

सर्वोच्च अदालतको निर्णयअनुसार काठमाडौँ अदालतले पनि यही साउन १ गतेदेख स्वचालित प्रणाली (अटोमेसन) बाट पेशी व्यवस्थापन कार्य प्रारम्भ गरेको छ । उक्त अदालतले यस आर्थिक वर्षमा छ हजार पाँच सय ५८ मुद्दा फर्छ्योट गरेको छ । दुई वर्ष नाघेका मुद्दामा जिम्मेवारी सरेर आएका मुद्दामा तीन हजार १५ थियो भने यस आर्थिक वर्षमा एक हजार आठ सय ८६ रहेका छन् । फैसला कार्यान्वयनतर्फ दुई हजार छ सय सात (५० दशमलव २८ प्रतिशत) फर्छ्योट गरेको छ ।

कूल मुद्दा पाँच हजार एक सय ८५ मुद्दा रहेकामा दुई हजार पाँच सय ७८ मुद्दा बाँकी रहेको छ । अदालतले दुई वर्ष पुराना मुद्दा मात्र रहने गरी छुट्टै अभियान फाँट स्थापना भई उक्त फाँटहरुका मुद्दाको छुट्टै तोकिएको इजलासबाट सुनुवाइ हुनेगरी व्यवस्था गरिएको छ ।

काठमाडौँमा अदालतमा गत वर्षदेखि पारिवारिक इजलासबाट सुनुवाइ प्रारम्भ गरिएको थियो । कूल मुद्दा एक हजार एक सय ७९ मुद्दा रहेकामा ५५४ (४६ दशमलव ९८ प्रतिशत) मुद्दा फर्छ्योट भएको छ । पारिवारिक विवादका छ सय २६ मुद्दा बाँकी रहेका छन् ।

न्यायाधीश पोखरेलले पारिवारिक विवाद छिटो टुङ्ग्याउन र पीडितलाई चाँडै न्याय दिन पारिवारिक इजलासको मुद्दालाई प्राथमिकतामा राखिएको बताए । उक्त अदालतमा रहेको बाल इजलासमा सात सय ६० (८१ दशमलव ९८ प्रतिशत) फर्छ्योट गरेको छ । जम्मा मुद्दा नौ सय २७ मध्ये एक सय ६७ मुद्दा बाँकी रहेका छन् ।

काठमाडौँमा अदालतमा सबैभन्दा बढी बैंकिङ कसुरमा मुद्दा

जिल्ला अदालत काठमाडौँ यस आर्थिक वर्षमा सबैभन्दा बढी बैंकिङ कुसर सात हजार नौ सय ५७ मुद्दा दर्ता भएको छ । दोस्रोमा सम्बन्ध विच्छेदसम्बन्धी मुद्दा चार हजार चार सय ६६ मुद्दा दर्ता भएका छन् ।

तेस्रोमा चेक अनादारसम्बन्धी मुद्दा तीन हजार आठ सय ७० रहेको छ । सबैभन्दा कम मुद्दा ज्यानसम्बन्धी कसुर एक सय ६९ रहेको छ । सबै न्यायाधीशको कार्यविभाजन गरी प्रत्येक न्यायाधीशलाई एक एक वटा फाँट मिसिल निरीक्षणको अनुगमन गर्ने जिम्मेवारी बाँडफाँट गरिएको र पेशी व्यवस्थापन नीति पारितगरी तदनुरुप पेशी व्यवस्थापन गर्न फाँटहरुलाई निर्देशन दिइएको अदालतका स्रेस्तेदार रामु शर्माले जानकारी दिए ।

अदालतले न्यायाधीश बिदामा बस्दासमेत उपस्थित न्यायाधीशले एकभन्दा बढी फाँट हेर्नेगरी फाँट स्थगित नहुने व्यवस्था मिलाइएको छ । अभियान फाँटहरुका मुद्दा पेस हुने इजलासमा सम्भव भएसम्म थुनछेकका लागि पेस हुने अभियोग पेस नहुनेगरी व्यवस्था गरिएको जसले गर्दा मुद्दा हेर्न नभ्याइनेमा पर्ने अवस्था न्यूनीकरण हुने अपेक्षा गरेको छ ।

अभियान फाँटमा रहेका मुद्दाको मिसिल निरीक्षणलाई नियमित बनाउन त्यस्ता फाँटमा कार्यरत सुपरिटेन्डेट/शाखा अधिकृत/इजलास अधिकृतबाट हरेक १५/१५ दिनमा मिसिल निरीक्षणको प्रगति प्रतिवेदन लिने व्यवस्थाको सुरुआत गरेको छ ।

त्यस्तै, हरेक हप्ताको शुक्रबार निवेदनहरुको मात्र सुनुवाइ हुँदै आएकामा गएको भदौ महिनाको अन्तिम हप्तादेखि हरेक शुक्रबारसमेत अभियान फाँटका मुद्दाहरुको सुनुवाइ हुनेगरी व्यवस्था गरिएको छ । अदालतले अभिलेखालयको कामलाई समेत तीव्रता दिँदै अदालतले जरिवानातर्फ रु दुई अर्ब नगद सङ्कलन गरेको जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर