बिहीबारदेखि अवकाशमा जाँदै एआईजी डा. आशा सिंह, हेडक्वार्टरले गर्‍याे बिदाइ

प्रहरी सेवाबाट सेवानिवृत्त हुन लागेकी प्राविधिक प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) डा. आशा सिंहलाई प्रहरी प्रधान कार्यालयले बिदाइ गरेको छ ।

प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले बुधबार प्रहरी प्रधान कार्यालयमा आयोजित एक कार्यक्रमबीच उनलाई बिदाइ गरे ।

बिदाइ समारोहलाई सम्बोधन गर्दै महानिरीक्षक कुँवरले सेवानिवृत्त हुन लागेकी अतिरिक्त महानिरीक्षक सिंहले नेपाल प्रहरी अस्पतालको संस्थागत विकास एवं सुदृढीकरणका लागि संगठनबाट सुम्पिएका हरेक जिम्मेवारी उत्कृष्ट रूपमा निर्वाह गरेको बताए ।

सरोकारवाला निकायको समन्वयमा शैक्षिक तथा स्वास्थ्य सेवाको विस्तारलगायत नीतिगत निर्णयबाट सांगठनिक सुधारको क्षेत्रमा अतिरिक्त महानिरीक्षक सिंहले उपलब्धिमूलक कार्य गरेको महानिरीक्षक कुँवरले बताए ।

महानिरीक्षक कुँवरले प्रहरी अतिरिक्त महानिरीक्षक सिंहबाट उनको अवकाशपछि पनि संगठनको हितका लागि सदैव रचनात्मक सल्लाह, सुझाव एवं सहकार्य प्राप्त हुने विश्वास व्यक्त गरे ।

सो अवसरमा महानिरीक्षक कुँवरले अतिरिक्त महानिरीक्षक सिंहलाई मायाको चिनो प्रदान गरेका थिए ।

कार्यक्रममा अतिरिक्त महानिरीक्षक सिंहले आफ्नो सेवा अवधिमा गरेका अनुभवसहित मन्तव्य राखेकी थिइन् ।

अतिरिक्त महानिरीक्षक सिंह वि. सं. २०५२ माघ १८ गते प्राविधिक प्रहरी निरीक्षक पदमा नियुक्त भई प्रहरी सेवामा प्रवेश गरेकी थिइन् । उनी उमेरहदका कारण साउन १० गतेबाट सेवानिवृत्त हुन लागेकी हुन् ।

कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायब महानिरीक्षकहरू एवं वरिष्ठ प्रहरी अधिकृतहरूको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर