मानव अधिकार आयोगले भन्यो : विवादित व्यक्तिलाई सार्वजनिक पदमा नियुक्ति नगर्नू

राष्ट्रिय मानव अधिकार आयोगले संवैधानिक परिषद र राज्यका विभिन्न निकायबाट नैतिक रूपमा विवादित व्यक्ति नियुक्ति नगर्न आग्रह गरेको छ ।

आयोगले बुधबार एक विज्ञप्ति जारी गरी संवैधानिक परिषद र राज्यका जिम्मेवार निकायले फौजदारीलगायत विभिन्न अभियोगमा कारबाही प्रक्रिया अगाडि बढाइरहेका र नैतिक रूपमा विवादित व्यक्तिलाई नियुक्ति तथा नियुक्ति सिफारिस गरेको जानकारी आएको भन्दै त्यसो नगर्न भनेको हो ।

आयोगले कुन-कुन निकायले कुन-कुन विवादित व्यक्ति नियुक्ति तथा नियुक्ति सिफारिस गरे भन्ने खुलाएको छैन । यद्यपि, २ असारमा बसेको संवैधानिक परिषदको बैठकले निर्वाचन आयुक्तमा सिफारिस गरेका कृष्णमान प्रधानमाथि एक महिलाले यौन शोषणको आरोप लगाएकी छन् । हाल उनको संसदीय सुनुवाइ समितिमा सुनुवाइ चलिरहेको छ ।

त्यस्तै लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचार्यले नेपालगञ्जकी निर्मला कुर्मीको अपहरण तथा बेपत्ता पारेको घटनाका आरोपी कांग्रेस नेता बादशाह कुर्मीलाई मन्त्रिपरिषदमा सहभागी गराएका छन् ।

आयोगले राज्यका निकायमा नियुक्त हुने व्यक्तिहरू सामाजिक रूपमा स्वच्छ छवि भएका, विवादरहित उच्च नैतिक चरित्र भएका र कानुनी रूपमा फौजदारी अभियोगमा सजाय नभएको हुनुपर्छ भन्ने लोकतन्त्रको आधारभूत मान्यता रहेको बताएको छ ।

सर्वोच्च अदालतले समेत पदीय जिम्मेवारीअनुसारको योग्यता र क्षमता वस्तुगत आधारमा यकिन गरेर मात्र योग्यतम व्यक्तिलाई राज्यका निकायमा नियुक्त गर्नुपर्छ भन्ने नजिर कायम गरेको आयोगले विज्ञप्तिमा उल्लेख गरेको छ ।

हेर्नुहाेस् विज्ञप्ति

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर