बीआरआई परियाेजना विस्तृत छलफल गरेर मात्रै अघि बढ्छ : परराष्ट्रमन्त्री राणा

परराष्ट्रमन्त्री डा. आरजु राणाले चीनसँग गरिएको बेल्ट एण्ड रोड इनिसियटिभ (बीआरआई) सम्बन्धी सम्झौता विस्तृत छलफल नगरी कार्यान्वयनमा लैजान नसकिने बताएकी छन् ।

सो परियोजना कार्यान्वयनसम्बन्धी योजनाबारे विभिन्न अड्कलबाजी भइरहेका बेला मन्त्री राणाले यस्तो बताएकी हुन् । बुधबार प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा बोल्दै उनले सो परियोजना कार्यान्वयन योजनाबारे विस्तृत छलफल हुनै बाँकी रहेको बताइन् ।

उनले सो परियोजना कुन मोडालिटीमा अघि बढाउने भन्ने बारेमा सरकारभित्र छलफल भएपछि संसद, संसदीय समिति र सम्बन्धित पक्षहरूसँग पनि विस्तुत छलफल गरेर अघि बढाइने बताइन् ।

‘बीआरआईसम्बन्धी पनि जति पनि कुराहरू आइरहेका छन्, त्यसमा पनि एउटा ब्रड फ्रेमवर्क २०१७ मा नै साइन भएको हो । र, इम्पिलिमेन्टेसन डकुमेन्टको बारेमा चाहिँ छलफल मात्रै सुरू भएको छ,’ मन्त्री राणाले भनिन्, ‘अहिले यही नै गरिहाल्ने, यो मोडालिटीमा जाने, अब यो ऋण लिने हो कि, लोन लिने हो कि, कुन-कुन प्रोजेक्टमा जाने भन्ने त्यो कुनै पनि तय भएको छैन । अब यसमा लार्जर छलफलमा जानुपर्छ ।’

एमसीसीमाथि संसदमा समेत व्यापक छलफल भएको उल्लेख गर्दै मन्त्री राणाले सरकारले विभिन्न देशसँग गरेको सम्झौता कार्यान्वयन गर्दा सबैसँग छलफल गरेर अघि बढाउन जरूरी रहेको बताइन् ।

मन्त्री राणाले प्रधानमन्त्री केपी शर्मा ओलीले सो परियोजना अघि बढाउन व्यापक छलफलमा ल्याउनका लागि महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास पनि व्यक्त गरिन् ।

मन्त्री राणाले सो परियोजनाबारे डराउनुपर्ने कुनै विषय नभएको बताइन् । सम्बन्धित सबै पक्षसँग छलफल गरेर परियोजना अघि बढाउने उनको भनाइ थियोे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर