सुशासनको पक्षमा विजेता भएर सरकारबाट बाहिरिएका छौं : अध्यक्ष दाहाल

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफू नेतृत्वको सरकार सुशासन कायम गर्दै बेदाग सत्ताबाट बाहिरिएको यथार्थलाई जनताले बुझेको बताएका छन् ।
नेपाल कम्युनिष्ट पार्टीका संस्थापक सदस्य नरबहादुर कर्माचार्यको आज काठमाडौँमा आयोजित स्मृतिसभामा उनले सुशासन, सामाजिक न्याय, आर्थिक समृद्धिको पक्षमा माओवादी नेतृत्व सक्रियतापूर्वक लागेका बेला अपारदर्शी ढङ्गले सरकार परिवर्तन भएको बताए ।
‘मेरो नेतृत्वको सरकारले सुशासन र सामाजिक न्यायका पक्षमा गम्भीर पहल गर्दै थियो । स्वदेश तथा विदेशमा रहेका श्रमिकलाई सामाजिक सुरक्षाको प्रत्याभूति दिलाउने, सामान्तवादको अवशेषका रूपमा रहेका मिटरब्याज समस्याको कानुनी समाधान खोजिँदै थियो । सुशासनको पक्षमा पहिलोपटक सरकारका तर्फबाट दूरगामी पहल भएपछि सकारका काम भएनन्,’ पूर्वप्रधानमन्त्री दाहालले भने । सरकारबाट देश र जनताको पक्षमा लिनुपर्ने पहललाई तीव्र बनाएर विजेताका रूपमा माओवादी बाहिर आएको बताए ।
‘राजनीतिक रूपमा माओवादीलाई राम्रो आधार बनेको छ, यसलाई सङ्गठनमा बदल्नुपर्छ, अब हामीलाई एउटा नकारात्मक परिघटनाबाट पार्टी पुनःनिर्माण, सङ्गठन सुदृढ  गर्ने अवसर प्राप्त भएको छ । पार्टीलाई एकताबद्ध गर्ने, नीति तथा योजनालाई जनमुखी बनाउनेछौँ,’ अध्यक्ष दाहालले भने ।
माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले माओवादीले मात्रै मुलुकको आर्थिक समृद्धिमार्फत समाजवादको आधार तयार गर्न सक्ने बताए । ‘माओवादीले नै त्यो ऐतिहासिक जिम्मेवारी लिनुपर्छ, माओवादीलाई रूपान्तरण गरेर एकताबद्ध, क्रान्तिकारी र शक्तिशाली पार्टी निर्माण गरेर मात्र राष्ट्रिय कार्यभार पूरा गर्न सकिन्छ,’ उनले भने ।
माओवादी पार्टी सरकारको नेतृत्वबाट प्रतिपक्षमा पुगेको अवस्थालाई सहजै लिइएको उल्लेख गर्दै उनले सरकारमा रहनु र बाहिर आउनु ठूलो कुरा नभएको बताए । ‘यद्यपि, अहिलेको कार्यभार पूरा गर्न सरकारको भूमिका महत्त्वपूर्ण रहन्थ्यो, सङ्घ र प्रदेश सरकारमा नरहेसँगै संसद्मा मुख्य भूमिका रहन्छ । जनतालाई एकताबद्ध गरेर अघि बढ्नुपर्छ,’ वरिष्ठ उपाध्यक्ष श्रेष्ठले भने ।
राष्ट्रिय स्वाधीनता र राष्ट्रिय हितको रक्षा तथा प्राप्त उपलब्धिलाई सृदृढ बनाउनुपर्नेमा जोड दिँदै उनले सामाजिक आर्थिक रूपान्तरणको प्रक्रियालाई तीव्र बनाएर आर्थिक समृद्धि हासिल गर्दै समाजवादको आधार तयार गर्नुपर्ने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर