हक्की स्वभावका मुख्यमन्त्री ‘लामा’

नेपाली कांग्रेस संसदीय दलका नेता बहादुरसिंह लामा(तामाङ) बागमती प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका छन् ।

प्रदेश प्रमुख यादवचन्द्र शर्माले आज संविधानको धारा १६८ को उपधारा २ बमोजिम लामालाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । नुवाकोटको किस्पाङ गाउँपालिका–५ मनकामनामा विसं २०२७ कात्तिक ८ गते जन्मिएका नवनियुक्त मुख्यमन्त्री लामा बागमती प्रदेशको पाँचौँ मुख्यमन्त्री बनेका छन् । स्व दीपबहादुर लामा तामाङ र स्व पूर्णिमाया लामा तामाङको सन्तान बहादुरसिंह कांग्रेसको भ्रातृ सङ्गठन नेपाल विद्यार्थी सङ्घको राजनीति गर्दै मूल पार्टीको राजनीतिमा होमिएका नेपाली कांग्रेसका केन्द्रीय समिति सदस्य हुन् ।

सामान्य परिवारमा जन्मिएका लामा गाउँकै विद्यालयबाट आधारभूत शिक्षा हासिल गरी नुवाकोटको सदरमुकाम विदुरस्थित माध्यमिक विद्यालयबाट प्रवेशिका तथा काठमाडौँको शङ्करदेव क्याम्पसबाट स्नातकसम्मको उच्च शिक्षा हासिल गरेका छन् ।

सानैदेखि अब्बल र हक्की स्वभावका लामा विसं २०४३ मा नेविसङ्घको शङ्करदेव क्याम्पस इकाइ सभापति र २०४५ सालमा नेविसङ्घको क्षेत्रीय सभापति भएका लामा त्यसपछि नेपाली कांग्रेस नुवाकोटका जिल्ला उपसभापति भएका थिए ।

निरन्तर राजनीतिमा सक्रिय रही जनतामाझ लोकप्रिय बहादुरसिंह २०५४ सालको स्थानीय निर्वाचनमा नुवाकोटको तत्कालीन मनकामना गाविसको अध्यक्षमा निर्वाचित भएका थिए ।

गत २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा नुवाकोट क्षेत्र नं ३ बाट पराजित उनी २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा नेकपा (माओवादी केन्द्र) का तत्कालीन महासचिव पोष्टबहादुर बोगटीलाई पराजित गर्दै संविधानसभा सदस्यमा निर्वाचित भएका थिए ।

गत २०७४ सालमा समानुपातिक प्रणालीबाट प्रतिनिधिसभा सदस्य भएका बहादुरसिंह २०७९ सालको प्रदेशसभा निर्वाचनमा नुवाकोटबाट बागमती प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए । कांग्रेस संसदीय दलका नेता उनी मुख्यमन्त्री शालिकराम जम्कट्टेल नेतृत्वको सरकारमा आर्थिक मामिला तथा योजनामन्त्री बनेका थिए ।

निर्माण व्यवसायीका रूपमा समेत परिचित बहादुरसिंह तामाङ समुदायबाट पहिलो र एक्लो मुख्यमन्त्री बन्न सफल भएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर