‘रेकर्ड ब्रेक’ वर्षापछि विस्थापित परिवार बादल देख्दा पनि त्रसिन्छन्

वेदकोट नगरपालिका–७ शान्तिटोलकी ६५ वर्षीया शान्ती धामी दुई साताअघिदेखि गाउँ नजिकैको विद्यालयमा आश्रय लिएर बस्दै आएकी छिन्। असार २३ गते राति कनकट्टी खोलामा आएको बाढीले घरभित्रको सबै सामान बगाएर लगेपछि धामी विद्यालयमा बस्दै आएकी हुन‍्।

खोलाको बाढी बस्तीमा छिरेपछि रातिको समयमा घर छाड्न बाध्य भएका यहाँका ७९ परिवारमध्ये आठ परिवार वडाका दुईवटा विद्यालयमा आश्रय लिएर बस्दै आएका छन्। बाढीको पानी घटेपछि ७१ परिवार भने घर फर्किसकेका छन्। आठ परिवार भने बाढीबाट घरबारविहीन भएकाले अझै पुनर्वास हुनसकेका छैनन्।

विद्यालयमा छुट्टीको समय भएकाले बाढी प्रभावित परिवारलाई अस्थायी रुपमा बस्ने प्रबन्ध गरिएको छ। यी परिवारलाई नेपाल रेडक्रस सोसाइटीले खाद्यान्न, भाँडाकुँडा र त्रिपालको व्यवस्था गरेको छ।

पशुपति आधारभूत विद्यालयमा बस्दै आएका रामसिंह नायकले बाढीको पानीले घरसहित सबै समान बगाएर लगेपछि विचल्लीमा परेको बताए। ‘शरीरमा लगाएको एकसरो लुगा मात्रै बाँकी छ। अरू सबै बाढीले लग्यो,’ उनले भने, ‘राहतका रूपमा उपलब्ध गराइएको खाद्यान्न सबै सकिने अवस्थामा छ, थप राहत पाइएको छैन।’

बाढीपीडित वसन्ती कुँवरले बाढीका कारण लालाबालासहित असार २३ गते राति घरछोडेकामा पुनः फर्किने अवस्था नरहेको पीडा सुनाइन्। ‘रातिका बेला पानी परिरहेको थियो। अचानक खोलाको बहाव बढ्न थाल्यो। हेर्दाहेर्दै घर भित्रै पानी पस्यो। हतारमा बालबालिका बोकेर राति १० बजे घर छाडेर भाग्यौँ,’ उनले दुःखेसो पोखिन्, ‘घर भित्रको अन्न, लुगाफाटो, खाना बनाउने ग्यास सिलिन्डर, खाद्यान्न केही झिक्न पाएनौँ, सबै बाढीले बगाएर लग्यो।’

स्थानीय मञ्जु पार्कीले वर्षौँदेखि बस्दै आएको स्थानमा यति ठूलो वर्षा र बाढी यसअघि कहिल्यै नदेखेको बताए। बाढी बस्तीमा पसेपछि धेरैको बिचल्ली भएको उनको भनाइ छ।

बाढीपीडित स्थानीय भुवन दमाईंले त्यो रात सम्झिँदा अहिले पनि आकाशमा बादल देख्दा समेत त्रसित हुने गरेको सुनाए उनले भने, ‘त्यो रातिको वर्षा र बाढीको डरले सताउन छाडेको छैन। आकाशमा बादल लागे अझै डराउनुपर्ने अवस्था छ। त्योभन्दा बढी चिन्ता अब फेरि कसरी घर जाने र के खाने भनेर लाग्छ किनकि घर बगाएको छ, अन्नपात सबै बाढीले बगाएको छ।’

घरको अन्न मात्रै होइन खेतमा रोपेको धानसमेत बालुवा पुरिएको छ। खेत बगरमा परिणत भएको छ। विद्यालयको छुट्टीका कारण यहाँ आश्रय लिइरहे पनि केही दिनपछि पुनः पढाई सुरू भएपछि थप समस्या हुने पीर बाढीपीडितलाई छ।

स्थानीय सुरमा चन्द यही पीरले प्रभावित परिवारलाई आवश्यक राहत र सुरक्षित बासको प्रबन्ध मिलाइदिन स्थानीय सरकारसँग आग्रह गर्छन्।

वडाध्यक्ष थानेश्वर भट्टकानुसार असार २३ गते रातिको विनाशकारी बाढीबाट प्रभावित ७९ परिवारमध्ये २२ परिवार पूर्ण रूपमा विस्थापित भएका छन्। आठ परिवारको घरजग्गा केही पनि बाँकी छैन। यी परिवारको व्यवस्थापनका लागि छलफल चलिरहेको उनले जानकारी दिए।

‘पूर्ण रूपमा विस्थापित भएका परिवारलाई पुनःस्थापना गराउन नगरप्रमुख लगायत सरोकार भएकाहरूको ध्यानाकर्षण गराएको छु। अब बस्ने नगरपालिकाको कार्यपालिका बैठकमा पनि यो कुरा उठाउँछु,’ उनले भने।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार असार २३ र २४ गतेको २४ घण्टामा शान्तिपुरसँगै जोडिएको सुन्दरपुर लगायत क्षेत्रमा ‘रेकर्ड ब्रेक’ (अति भारी) वर्षा भएको थियो। त्यस क्षेत्रमा पाँच सय ५६ दशमलव चार मिलिलिटर वर्षा मापन गरिएको थियो।

सोही वर्षाका कारण पूर्वपश्चिम राजमार्गको सुँडाखण्डमा रहेको कल्र्भट बगेको थियो। हाल बगेको कल्भर्टको छेउमा डाइभर्सन निर्माण गरी अस्थायी रूपमा सवारीसाधन सञ्चालनको व्यवस्था गरिएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *