सर्भरमा समस्या आएपछि यातायात कार्यालयको सेवा प्रभावित, सेवाग्राही मारमा

काभ्रेपलाञ्चोकको साँगाबाट कल्पना कार्की बिहान ७ बजे यातायात व्यवस्था कार्यालय भक्तपुरमा आइपुगिन् । विगत तीन दिनदेखि कार्यालयमा धाएकी उनले आज पनि सेवा नपाइ फर्कनुपर्‍यो ।

केही दिनयता सर्भरमा समस्या आएको भन्दै देशभरका यातायात कार्यालयमा सेवा प्रवाह रोकिएपछि सेवाग्राही निकै प्रभावित बनेका छन् । तीमध्येकी कल्पना एक उदाहरण मात्रै हुन् ।

कार्यालयमा सेवा लिन बिहानैदेखि भीड लाग्ने र सेवा नपाएर फर्कने उहाँजस्ता धेरै नागरिक छन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत यातायात व्यवस्था विभाग, केन्द्रीय डाटा सेन्टरमा समस्या आएको भन्दै गत आइतबारदेखि नै सेवा प्रभावित भइरहेको छ ।

यातायात व्यवस्था कार्यालय भक्तपुरका प्रमुख दण्डबहादुर बस्नेतले गत आइतबारदेखि नै सर्र्भरमा समस्या आएको बताए । उनले भने, ‘आइतबारदेखि बुधबारसम्म सर्भर कहिले आउने र कहिले जाने भइरहेको छ, आउँदा पनि निकै ढिलो थियो तर बिहीबारदेखि सोमबारसम्म त बन्द नै भयो, आज बेलाबेला चल्ने र नचल्ने समस्या भयो ।’

उनले यस्तो समस्या भक्तपुरमा मात्र नभई देशभरका यातायात कार्यालयमा देखिएको बताए । यातायात कार्यालयअन्तर्गत सम्पूर्ण डाटा एवं अनलाइन प्रणाली आन्तरिक रूपमा विभागमार्फत नियन्त्रण तथा सञ्चालन हुँदै आएकाले यस सन्दर्भमा अनुरोध गर्नेबाहेक कार्यालयको भूमिका नहुने बस्नेतको धारणा छ ।

उनले यसबाट कर्मचारी र सेवाग्राही दुवै समस्यामा परेको गुनासो गरे । ‘सर्भरमा समस्या भयो भनेर माथिबाट निर्देशन आएपछि कार्यालयले सेवा प्रवाह नहुने सूचना टाँस्नु पर्छ, बिहानैदेखि आउने सेवाग्राहीहरू मारमा पर्छन्, सूचना टाँस्ने बित्तिकै सेवाग्राहीको आक्रोस र कहिलेकाही नाराबाजीलाई थेग्न निकै गाह्रो हुन्छ, के गर्नु हाम्रो समस्या समाधान गर्न हाम्रो भूमिका छैन ।’

नयाँ सवारी चालक अनुमतिपत्र, पुरानो नवीकरण, प्रयोगात्मक, पुनःपरीक्षालगायतका सेवाका लागि दैनिक एक हजार पाँच सयसम्म सेवाग्राही भक्तपुर कार्यालयमा आउँने गरेका छन् ।

सर्भरमा समस्या हुँदा सवारी चालक अनुमतिपत्रको लिखित तथा प्रयोगात्मक परीक्षासमेत प्रभावित हुने गरेको छ ।  कार्यालय प्रमुख बस्नेतकानुसार यस्तो समस्याले आइतबार हुने परीक्षालाई बिहीबार र सोमबार हुनेलाई शुक्रबार गर्दै पछाडि धकेल्दा सेवा खप्टिदै गएको छ ।

यस्तो हुँदा बिचौलिया प्रवृत्ति मौलाइरहेको सेवाग्राहीको आरोप छ । सेवाग्राही रामशरण महतले आफू तीन दिनदेखि कार्यालय धाउँदा पनि उस्तै समस्या दोहोरिएको तर बिचौलियाले भने पैसा दिएमा काम गरिदिन्छौँ भनेर प्रलोभन देखाउने गरेको गुनासो गरे ।

सङ्घीय यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजालले प्राविधिक समस्याका कारण सर्भरमा समस्या भएको जानकारी दिए ।

उनले प्राविधिक खटाएर समस्या समाधानको प्रयास भइरहेको बताए । महानिर्देशक रिजालले भने, ‘समस्या समाधानको प्रयास भइरहेको छ ।  प्राविधिकबाट ‘डाटा’ धेरै भएर समस्या आएको र सर्भरमा डाटा क्रयास भएको छ भन्छन्, त्यसलाई सफा गर्ने काम भइरहेको छ ।’ उनले थप विज्ञ प्राविधिक ल्याएर समस्याको दीर्घकालिन समाधान गर्ने प्रयास गरिने सुनाए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर