कर्णालीका पाँच जिल्लामा यातायात सेवा अवरूद्ध

कर्णालीका पाँच जिल्लामा यातायात सेवा अवरूद्ध भएको छ । पहिरो तथा खोलामा पानी बढेका कारण यातायात सेवा अवरूद्ध भएको प्रदेश प्रहरी कार्यालयले सुर्खेतले जानकारी दिएको छ ।

भेरी करिडोरभित्र पर्ने डोल्पाको त्रिपुरासुन्दरी-१, छलगाडमा खोलामा पानी बढेका कारण यातायात सेवा ठप्प भएको छ । त्यस्तै त्रिपुरासुन्दरी नगरपालिका-५, साङलेखोलामा पहिरो कारण साना यातायातका साधन मात्र सञ्चालनमा छन् ।

त्रिपुरासुन्दरी-९, चुँगाडमा ट्रक फस्न गएपछि यातायात सेवा ठप्प भएको छ भने भेरी करिडोरकै रुकुमपश्चिमको आठबिसकोट-६, रिजिगारमा खोलामा पानी बढेपछि आवतजावत ठप्प भएको प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ ।

भित्री सडकअन्तर्गत रूकुमपश्चिमको मुसिकोट-३, माझमीमा पहिरो गएका कारण सडक अवरुद्ध भएको प्रहरीको भनाइ छ । त्यस्तै बाँफिकोट गाउँपालिका-३ र ४ को बीचमा रहेको छिनखेत-पिपल जोड्ने सडक खोलामा पानी बढेका कारण अवरूद्ध भएको छ ।

कर्णाली करिडोरअन्तर्गत खार्पुनाथ-१, सुनखडादेखि लालुबगरसम्म सुक्खा पहिराका कारण यातायात सेवा अवरूद्ध भएको प्रहरीको भनाइ छ । कालिकोटको पचालझरना-८, लाभामा पहिराका कारण सडक अवरूद्ध भएको छ । मुगुको छायाँनाथ रारा नगरपालिका-७ जिरोप्वाइन्ट भित्री सडकमा पहिरो आएपछि सडक अवरूद्ध भएको छ । अवरूद्ध भएको ठाउँमा सडक खुलाउने प्रयास भइरहेको कर्णाली प्रदेश प्रहरी प्रवक्ता वीरबहादुर ओलीले जानकारी दिए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *