मनसुनी विपद्मा परेर हालसम्म १३३ जनाको मृत्यु

यस वर्षको मनसुनी विपद्का घटनामा हालसम्म १३३ जनाको मृत्यु भएको छ । अविरल वर्षाका कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरोलगायतका विपद्मा उनीहरूको मृत्यु भएको नेपाल प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

काठमाडौं उपत्यकामा २ जना, कोशी प्रदेशमा २२ जना, मधेस प्रदेशमा ६ जना, बागमती प्रदेशमा २५ जना, गण्डकी प्रदेशमा ३८ जना, लुम्बिनी प्रदेशमा २३ जना, कर्णाली प्रदेशमा ७ जना र सुदूरपश्चिम प्रदेशमा १० जनाको मृत्यु भएको हो ।

साथै काठमाडौं उपत्यकामा ९ जना, कोशी प्रदेशमा ३४ जना, मधेस प्रदेशमा ९ जना, बागमती प्रदेशमा ७ जना, गण्डकी प्रदेशमा २९ जना, लुम्बिनी प्रदेशमा ९ जना, कर्णाली प्रदेशमा ३४ जना र सुदूरपश्चिम प्रदेशमा १४ जना गरी जम्मा १ सय ४५ जना घाइते भएका छन् । घाइतेहरूलाई उपचारका लागि स्थानीय अस्पताल लगिएको छ ।

यस्तै काठमाडौं उपत्यकामा १ जना, कोशी प्रदेशमा ४९ जना, गण्डकी प्रदेशमा १२ जना र सुदूरपश्चिम प्रदेशमा ५ जना गरी जम्मा ६७ जनाको उद्धार गरिएको छ । बाढी-पहिरोमा परी कोशी प्रदेशमा २ जना, बागमती प्रदेशमा २ जना, गण्डकी प्रदेशमा १ जना, लुम्बिनी प्रदेशमा १ जना र कर्णाली प्रदेशमा १ जना जना गरी ७ जना बेपत्ता भएका छन् । बेपत्ताको खोजी कार्य जारी छ ।

बाढीका कारण जम्मा १ सय ८४ घर डुबानमा परेका छन् । २ सय ३५ वटा घर, ८६ वटा गोठ, ४३ वटा पुल, २ वटा विद्यालय र २ वटा सरकारी कार्यालयमा क्षति पुगेको छ । ५ सय ९७ वटा पशुचौपाया मरेका छन् । उक्त अवधिमा विपद्का घटनाबाट ४ हजार १८ घरपरिवार विस्थापित भएका छन् ।

बाढी-पहिरोको जोखिममा रहेका घरपरिवारलाई सुरक्षित स्थानमा सार्ने, पहिरोमा पुरिएका धनमाल निकालेर सुरक्षा गर्ने, विभिन्न स्थानमा भएको बाटो अवरोध हटाउने कार्य भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *