बागमती प्रदेशको पाँचौं मुख्यमन्त्री भए बहादुरसिंह लामा

नेपाली कांग्रेस संसदीय दलका नेता बहादुरसिंह लामा बागमती प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका छन् ।

प्रदेश प्रमुख यादवचन्द्र शर्माले संविधानको धारा १६८ (२) अनुसार मंगलबार लामालाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

लामाले आजै कांग्रेसका ३७ र नेकपा (एमाले) का २७ सांसदको समर्थनसहित मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए । प्रदेश प्रमुख शर्माले आज साँझ ५ बजेभित्र संविधानको धारा १६८ (२) अनुसार बहुमतको सरकार गठनका लागि आइतबार आह्वान गरेका थिए ।

नुवाकोटका लामा बागमतीको पाँचौं मुख्यमन्त्री हुन् । उनको भोलि बुधवार ११ बजे प्रदेश प्रमुख कार्यालयमा शपथ हुनेछ । लामाले भोलि नै कांग्रेसका ६ र एमालेका ६ मन्त्रीसहित १३ सदस्यीय मन्त्रीपरिषदलाई एकै पटक पूर्णता दिने तयारी गरेको कांग्रेसका प्रमुख सचेतक गोविन्द लम्सालले जानकारी दिए ।

एमालेले ६ मन्त्रीको टुंगो लगाइसकेको छ भने कांग्रेसमा आकांक्षी धेरै भएकाले मन्त्री छनोटमा कठिनाइ भएको जनाइएको छ । कांग्रेसका मन्त्रीहरूको नाम बुधबार बिहानसम्म टुंग्याइ सक्ने लामाको सचिवालयले जानकारी दिएको छ ।

लामा मुख्यमन्त्री बनेसँगै नेपाली कांग्रेसले बागमती सरकारको पहिलो पटक नेतृत्व गर्ने अवसर पाएको छ ।

बागमतीको पहिलो कार्यकालमा एमालेबाट डोरमणि पौडेल र अष्टलक्ष्मी शाक्य र नेकपा (एकीकृत समाजवादी) बाट राजेन्द्र पाण्डे तथा दोस्रो कार्यकालमा नेकपा (माओवादी केन्द्र) का शालिकराम जम्कट्टेल मुख्यमन्त्री बनेका थिए ।

जम्कट्टेलले ६ साउनमा प्रदेशसभालाई सम्बोधन गरेर राजीनामा दिएपछि नयाँ सत्ता समीकरणअनुसार सरकार गठनको प्रक्रिया सुरू भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर