बागमतीको मुख्यमन्त्रीमा कांग्रेसका लामाको दाबी पेस

बागमती प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका बहादुरसिंह लामाले दाबी पेस गरेका छन् ।

कांग्रेसका ३७ र नेकपा (एमाले) का २७ गरी ६४ सांसदको समर्थनसहित लामाले मंगलबार प्रदेश प्रमुख यादवचन्द्र शर्मासमक्ष मुख्यमन्त्रीका लागि दाबी पेस गरेका हुन् ।

प्रदेश प्रमुख शर्माले मंगलबार साँझ ५ बजेभित्र संविधानको धारा १६८ (२) अनुसार बहुमतको सरकार गठनका लागि आइतबार आह्वान गरेका थिए ।

मंगलबार नै साँझ पाँच बजेपछि प्रदेश प्रमुख शर्माले लामालाई मुख्यमन्त्रीमा नियुक्त गर्ने तयारी रहेको प्रदेश प्रमुख कार्यालयले जानकारी दिएको छ । नुवाकोटका लामा बागमती प्रदेशमा कांग्रेसबाट र तामाङ समुदायबाट पहिलो पटक मुख्यमन्त्री बन्दै छन् ।

लामाले सोमबार नै मुख्यमन्त्रीमा दाबी गर्ने कार्यक्रम तय भएको थियो । तर, मन्त्रालय भागबण्डामा सहमति हुन बाँकी र एमालेभित्र मन्त्री छनौटको समस्या कारण दलका नेता जगन्नाथ थपलियासहितका सांसदहरू काठमाडौं हिँडेपछि दाबी पेस गर्ने कार्यक्रम मंगलबारका लागि सारिएको थियो ।

बागमतीमा मन्त्रालय भागबण्डामा कांग्रेस-एमालेबीच सहमति भइसकेको छ । कांग्रेसले मुख्यमन्त्रीसहित ७ र एमालेले आर्थिक मामिला तथा योजना मन्त्रालयसहित ६ वटा मन्त्रालय लिने सहमति भएको कांगेस नेता लामाले जानकारी दिए ।

यसअघि कृषि तथा पशुपन्छी विकास मन्त्रालय र युवा तथा खेलकुद मन्त्रालय कसले लिन भन्ने विवाद थियो । एमालेलाई कृषि मन्त्रालय दिएर मन्त्रालय बाँडफाँड टुंग्याइएको लामाले बताए ।

११० सदस्यीय प्रदेशसभामा सरकार गठनका लागि ५६ सांसदको समर्थन आवश्यक पर्छ । कांग्रेस र एमालेसँग ६४ सांसद छन् । प्रदेश सभामा नेकपा (माओवादी केन्द्र) केन्द्रका २१, राप्रपाका १२ (सभामुखबाहेक), नेकपा (एकीकृत समाजवादी) का ७, नेमकिपाका ३ र हाम्रा नेपाली पार्टीको २ सांसद छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर