अध्यागमन मुलुकको अनुहार हो : गृहमन्त्री लेखक

गृहमन्त्री रमेश लेखकले अध्यागमन मुलुकको अनुहार भएको बताएका छन् ।

मंगलबार बिहान काठमाडौंस्थित अध्यागमन विभागको निरीक्षण गर्दै गृहमन्त्री लेखकले मुलुकभित्र प्रवेश गर्ने प्रत्येक मानिसले सबैभन्दा पहिले नेपालीका रूपमा भेट्ने अध्यागमन कर्मचारीलाई भएको बताए ।

‘तपाईंहरूलाई भेट्ने बित्तिकै नेपाल कस्तो छ, नेपाली कस्ता छन् भन्ने कुरा त्यहीँबाट प्राप्त हुन्छ,’ उनले भने, ‘त्यो भाव र भावनाका साथ काम गर्नुस् ।’

देशभन्दा बाहिर जाने मानिसहरूलाई बिदाइ गर्ने अन्तिम नेपाली पनि अध्यागमनकै कर्मचारी भएको उनको भनाइ थियो । ‘अलि स्मार्ट र स्माइलिङ पनि हुनुपर्‍याे,’ उनले भने, ‘गलत ढंगले मान्छे आउने र जाने कुरामा कर्मचारीको संलग्नता देखिए कारबाही गरे हुन्छ ।’

पछिल्लो समय मानव बेचबिखनका घटनाहरू बढिरहेको सुन्नमा आएको बताउँदै त्यसतर्फ कर्मचारीलाई सचेततापूर्वक खटिन गृहमन्त्री लेखकले निर्देशन दिए । ‘मानव बेचबिखन पूर्ण रूपमा रोकिनुपर्छ,’ उनले भने, ‘अवाञ्छनीय गतिविधि स्वीकार्य छैन ।’

गृहमन्त्री लेखकले अध्यागमनसम्बन्धी विधयेक संशोधनका लागि एक महिनाभित्र मन्त्रालयमा प्रस्ताव पेस गर्न आग्रह पनि आग्रह ।

राम्रो कानुन बनाएर कानुनबमोजिम काम गर्दा मुलुकमा सुशासन कायम हुने उनले विश्वास व्यक्त गरे । ‘संशोधन गर्नुपर्ने कानुन, नियम र कार्यविधि ल्याउनुस्,’ उनले भने, ‘कानुन निर्माणको विषय मेरो धेरै बढी चासो, रूचि र अनुभवको विषय भएकाले यसका लागि यो उपयुक्त समय हुन सक्छ ।’

१६ वर्षअघि श्रममन्त्री हुँदा आफूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ‘श्रम डेस्क’ राखेको गृहमन्त्री लेखकले स्मरण गरे । उनले दार्चुलाको तिंकर र मुस्ताङको कोरलामा अध्यागमन कार्यालय तत्काल स्थापनाका लागि प्रक्रियाअघि बढाउन निर्देशन दिए ।

त्यसैगरी कोरोनापछि नेपाल-भारतका नाकामा भारतीय पक्षबाट विदेशीहरूलाई आवागमनमा गरिएको अवरोध हटाएर पूर्ववत् अवस्थामा फर्काउने विषयमा भारतीय पक्षसँग सकरात्मक छलफल भएको गृहमन्त्री लेखकको भनाइ थियो ।

सुदूरपश्चिम प्रदेशमा दक्षिण-उत्तर जोड्ने महाकाली करिडोर, दोधारा चादँनीमा सुख्खा बन्दरगाह निर्माणको योजना अघि बढेको बताउँदै गृहमन्त्री लेखकले तिंकरमा अध्यागमन कार्यालयको आवश्यकता औंल्याए ।

यसैगरी कार्यक्रममा गृहसचिव एकनारायण अर्यालले अन्तरनिकायबीच समन्वय हुनुपर्नेमा जोड दिए । अध्यागनमा कर्मचारीको क्षमता विकाससँगै भौतिक संरचना निर्माण क्रमशः हुँदै गइरहेको उनले गृह, पर्यटनलगायतका निकायबीच समन्वय र राम्रो व्यवहार हुनुपर्ने गृहसचिव अर्यालको भनाइ थियो ।

यस्तै अध्यागन विभागका महानिर्देशक केशहरि निरौलाले अध्यागनमले गरिरहेको कामकारबाही, आगामी योजना र चुनौतीका विषयमा जानकारी गराएका थिए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर