विश्वका १३४ वटा मुलुकसँग साढे १४ खर्बको व्यापार घाटा

गत आर्थिक वर्ष २०८०–८१ मा १७ खर्ब ४५ अर्ब ३६ करोड रुपैयाँको वैदेशिक व्यापार हुँदा १ खर्ब ५२ अर्ब ३८ करोड रुपैयाँको मात्र वस्तु निर्यात हुन सकेको छ ।

१ वर्षमा १५ खर्ब ९२ अर्ब ९८ करोड रुपैयाँबराबरको वस्तु आयात हुँदा कुल व्यापार घाटा १४ खर्ब ४० अर्ब ६० करोड रुपैयाँ भएको छ ।

यद्यपि, यो व्यापार घाटा अघिल्लो आवको तुलनामा १ दशमलव ३३ प्रतिशतले कम हो । भन्सार विभागका अनुसार आयातमा १ दशमलव १६ प्रतिशत र निर्यातमा ३ दशमलव शून्य ३ प्रतिशतले कमी आएको छ । समग्र व्यापारमा नै कमी आएकाले व्यापार घाटा पनि अघिल्लो वर्षको तुलनामा झन्डै १ प्रतिशतले घटेको भन्सार विभागको तथ्यांक छ ।

आव २०७९–८० मा १६ खर्ब ११ अर्ब ७३ करोड रुपैयाँबराबरको वस्तु आयात भएको थियो । सोही अवधिमा १ खर्ब ५७ अर्ब १४ करोड रुपैयाँबराबरको वस्तु निर्यात भएको विभागले जनाएको छ ।

भन्सार विभागका अनुसार सबैभन्दा धेरै व्यापार घाटा भारतसँग रहेको छ । गत वर्षको साउनदेखि असारसम्ममा भारतबाट ९ खर्ब ९६ अर्ब ६८ करोड २१ लाख ६१ हजार रुपैयाँको वस्तु आयात हुँदा नेपालबाट भारतमा जम्मा १ खर्ब ३ अर्ब १७ करोड ६९ लाख ८३ हजार रुपैयाँको वस्तु निर्यात भएको छ ।

भारतपछि व्यापार घाटा रहेको मुलुकमा चीन रहेको छ । चीनबाट २ खर्ब ९८ अर्ब ७७ करोड ४६ लाख रुपैयाँको आयात भएकामा २ अर्ब ९८ करोड ८६ लाख रुपैयाँको मात्रै निर्यात भएको छ ।

यसैगरी, युनाइटेड अरब इमिरेट्सबाट २९ अर्ब ८ करोड ८० लाखको आयात हुँदा त्यसतर्फ २ अर्ब ५७ करोड ८७ लाख रुपैयाँको निर्यात भएको छ । व्यापार घाटामा चौथो स्थान रहेको युक्रेनबाट मात्रै १८ अर्ब ८८ करोड ५९ लाखको आयात भएको छ । त्यसतर्फ भने जम्मा ५ लाख ८३ हजार रुपैयाँको निर्यात भएको छ । यसैगरी, मलेसियाबाट १७ अर्ब ९१ करोडको आयात हुँदा २४ करोडको निर्यात भएको छ । त्यस्तै, अस्ट्रेलियाबाट १५ अर्ब, अर्जेन्टिनाबाट १२ अर्ब, फ्रान्सबाट १३ अर्ब, साउदी अरेबियाबाट ११ अर्ब र इन्डोनेसियाबाट १० अर्बको आयात भएको छ ।

१ वर्षमा यूएइसँग २६ अर्ब ५० करोड, युक्रेनसँग १८ अर्ब ८८ करोड, मलेसियासँग १७ अर्ब ६७ करोड, अस्ट्रेलियासँग १३ अर्ब ५७ करोड, अर्जेन्टिनासँग १२ अर्ब ३७ करोड, फ्रान्ससँग ११ अर्ब र इन्डोनेसियासँग १० अर्ब रुपैयाँको व्यापार घाटा रहेको छ ।

अघिल्लो आवको तुलनामा गत वर्ष आयात १ दशमलव १६ प्रतिशत र निर्यात ३ प्रतिशतले घटे पनि यस आवमा विभिन्न मुलुकबाट सामान आयात गरेबापत ४ खर्ब २० अर्ब १६ करोड ८२ लाख रुपैयाँ राजस्व उठेको छ ।

गत आव २०८०–८१ मा सबैभन्दा बढी पेट्रोल, डिजेल र एलपी ग्यास आयात गरिएको छ । १ वर्षमा १ खर्ब ४३ अर्ब ९७ करोड ६९ लाख रुपैयाँको डिजेल आयात गरिएको छ । यसैगरी, ६८ अर्ब १० करोड २० लाख रुपैयाँको पेट्रोल आयात भएको तथ्यांक विभागको रहेको छ । १ वर्षमा ५५ अर्ब ६१ करोड ८४ लाख रुपैयाँबराबरको एलपी ग्यास आयात गरिएको छ ।

यसैगरी, १ वर्षमा २८ अर्ब ६६ करोड ६२ लाख ३५ हजार रुपैयाँबराबरका १८ लाख ३९ हजारवटा स्मार्टफोन आयात भएका छन् । गत आवमा सुन मात्रै २३ अर्ब ६५ करोड ३९ लाख रुपैयाँको आयात भएको छ ।

भन्सार विभागले सार्वजनिक गरेको १ वर्षको तथ्यांकनुसार आव २०८०–८१ मा ४८ हजार मेट्रिक टन बासमती चामलसहित कुल ४५ अर्ब ४५ अर्ब ७९ करोड रुपैयाँ बराबरको खाद्यान्न आयात भएको हो ।

विभागका अनुसार गत आवमा ४ लाख मेट्रिक टन धान र चामल आयात भएको छ । यसबाट २२ अर्ब २३ करोड रुपैयाँ बाहिरिएको छ । ३ लाख ५२ हजार मेट्रिक टन मकै आयात गर्दा १४ अर्ब रुपैयाँ खर्च भएको विभागको तथ्यांक छ ।

यस्तै, साढे १ मेट्रिक टनबराबर मैदा, पिठो, गहुँलगायत खाद्यान्न आयात भएको छ । यसबाट नेपालले १९ अर्ब रुपैयाँबराबर खर्च गरेको विभागको तथ्यांक छ ।

आव २०८०–८१ मा ११ हजार ७ सयवटा विद्युतीय गाडी (कार, भ्यान, जिप) आयात भएका छन् । निर्याततर्फ भने गलैंचा, अलैंची, फलामजन्य वस्तु, मिश्रित जुस अधिक रहेका छन् । १ वर्षमा १० अर्ब ५७ करोड २४ लाख रुपैयाँबराबरका गलैंचा निर्यात भएको छ । यसैगरी, ७ अर्ब ९३ करोड ८१ लाख रुपैयाँबराबरको अलैंची तथा ६ अर्ब ८६ करोड ६३ लाख रुपैयाँबराबरको फलामे छड निर्यात भएको छ । मिश्रित जुस मात्रै ५ अर्ब ६२ करोड ७१ लाखको निर्यात भएको छ ।

गत आवमा नेपालको वस्तु निर्यात ३ दशमलव शून्य ३ प्रतिशतले घटेको छ । अघिल्लो आवमा नेपालबाट १ खर्ब ५७ अर्ब १४ करोड ६ लाख रुपैयाँको वस्तु निर्यात भएको थियो भने गत आवमा २ खर्ब ४४ अर्ब ६ करोड ४ लाख रुपैयाँमा सीमित भएको छ ।

आव २०८०–८१ मा नेपालले विश्वका १ सय ७० वटा मुलुकसँग वैदेशिक व्यापार गरेको छ । जसमा १ सय ३४ वटा राष्ट्रसँग व्यापार घाटा गरेको छ ।

तीमध्ये ३६ वटा मुलुकसँगको व्यापारमा मात्रै नेपाल नाफामा छ । नेपालले अफगानिस्तानसँग ४६ करोड ६० लाख रुपैयाँ, आन्टिगुवा एन्ड बारबुडासँग ७ लाख ६७ हजार रुपैयाँ, आर्बुवासँग २५ लाख, बाहामाससँग १५ लाख १६ हजार र बर्मुडासँग १० लाख रुपैयाँ व्यापार नाफा गरेको छ । यो समाचार राजधानी दैनिकमा छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *