पूर्वराज्यमन्त्री हत्या : घटनास्थल नजिकैबाट रगत लत्पत्तिएको ‘फरसा’ बरामद

सर्लाही प्रहरीले पूर्वराज्यमन्त्री रामचन्द्र रायको हत्या भएको घटनास्थल नजिकैबाट घरेलु हतियार बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठका अनुसार घटनास्थलबाट ५० मिटर उत्तर–पश्चिम बाँसको झाङबाट घरेलु हतियार ‘फरसा’ बरामद भएको हो । रगत लत्पतिएको अवस्थामा फेला परेको उक्त हतियार पूर्वराज्यमन्त्री रायको हत्यामा प्रयोग भएको हुन सक्ने प्रहरीको आशङ्का छ ।

घटनामा संलग्नहरूको पहिचान हुन बाँकी रहेकाले फेला परेको हतियारका विषयमा अनुसन्धान भइरहको प्रहरी नायब उपरीक्षक श्रेष्ठले जानकारी दिए । “फरसा भन्ने घरेलु हतियार घटनास्थल नजिकैबाट फेला परेको छ”, उनले भने, “यस विषयमा अनुसन्धान गरिरहेका छौँ । सोही हतियार घटनामा प्रयोग भएको आशङ्का छ ।

मलङ्गवा नगरपालिका–४, पुख्र्यौली घर भएका ८० वर्षका पूर्वराज्यमन्त्री रामचन्द्र रायको चन्द्रनगर गाउँपालिका–१ स्थित खेतसँगैको घर (फार्म हाउस) मा गएराति धारिलो हतियार प्रहारगरी हत्या भएको थियो । उनको शव सुतेकै ओछ्यानमा फेला परेको थियो ।

रायसँगै सहयोगीका रूपमा बसेका युवकको बयानअनुसार हत्या भएको राति रायलाई भेट्न तीन जना अपरिचित व्यक्ति उनी बसेकै स्थानमा आएका थिए । उनीहरूले रायसँग जग्गाको विवाद मिलाइदिन भनेको खुलेको छ । रायले आफू सुत्ने कोठामै सुताएका उनीहरू परिचित रहेको प्रहरीको आशङ्का छ । घटनालगत्तै प्रहरीले तालिम प्राप्त कुकुरको सहायतामा अनुसन्धान शुरु गरेको थियो ।

राय राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट ३० वर्षअघि भूमि व्यवस्था राज्यमन्त्रीमा नियुक्त भएका  थिए । उनको दुई छोरा र पाँच छोरी छन् । परिवारसँगै काठमाडौँ बस्दै आएका उनी केही दिन पहिला मात्र धान रोपाइँ गर्न सर्लाही आएको परिवारले जनाएको छ । रायको चन्द्रनगर गाउँपालिका–१, मा ठूलो क्षेत्रफलमा खेती रहेका कारण बेलाबेला उनी खेत हेर्न आउने जाने गरेको स्थानीयले बताएका छन् ।

जिल्ला प्रहरी कार्यालय सर्लाही र मधेस प्रदेश प्रहरी कार्यालयको टोली अहिले पनि सुक्ष्म अनुसन्धानमा जुटिरहेको प्रहरी नायब उपरीक्षक श्रेष्ठले बताए । रायको शव प्रादेशिक अस्पताल मलङ्गवामा राखिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर