बाढी-पहिरोमा परी मृत्यु हुनेको संख्या १३१ पुग्यो

अविरल वर्षाका कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरोलगायतका विपद्मा परी सोमबार दिउँसोसम्म १ सय ३१ जनाको मृत्यु भएको छ ।

काठमाडौं उपत्यकामा २ जना, कोशी प्रदेशमा २२ जना, मधेस प्रदेशमा ५ जना, बागमती प्रदेशमा २५ जना, गण्डकी प्रदेशमा ३८ जना, लुम्बिनी प्रदेशमा २३ जना, कर्णाली प्रदेशमा ७ जना र सुदूरपश्चिम प्रदेशमा ९ जना गरी जम्मा १ सय ३१ जनाको मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

साथै काठमाडौं उपत्यकामा ९ जना, कोशी प्रदेशमा ३४ जना, मधेस प्रदेशमा ९ जना, बागमती प्रदेशमा ७ जना, गण्डकी प्रदेशमा २९ जना, लुम्बिनी प्रदेशमा ९ जना, कर्णाली प्रदेशमा ३३ जना र सुदूरपश्चिम प्रदेशमा १४ जना गरी जम्मा १ सय ४४ जना घाइते भएका छन् । घाइतेहरूलाई उपचारका लागि स्थानीय अस्पताल लगिएको छ ।

यस्तै कोशी प्रदेशमा ४९ जना, गण्डकी प्रदेशमा १२ जना र सुदूरपश्चिम प्रदेशमा ५ जना गरी जम्मा ६६ जनाको उद्धार गरिएको छ । बाढी, पहिरोमा परी कोशी प्रदेशमा २ जना, मधेस प्रदेशमा १ जना, बागमती प्रदेशमा २ जना, गण्डकी प्रदेशमा १ जना, लुम्बिनी प्रदेशमा १ जना, कर्णाली प्रदेशमा १ जना र सुदूरपश्चिम प्रदेशमा १ जना गरी ९ जना बेपत्ता भएका छन् । बेपत्ताको खोजी कार्य जारी छ ।

बाढीका कारण १ सय ८२ घर डुबानमा परेका छन् । २ सय ३१ वटा घर, ८४ वटा गोठ, ४३ वटा पुल, २ वटा विद्यालय र २ वटा सरकारी कार्यालयमा क्षति पुगेको छ । ५ सय ९४ वटा पशुचौपाया मरेका छन् । उक्त अवधिमा विपद्का घटनाबाट ४ हजार ४ घरपरिवार विस्थापित भएका छन् ।

बाढी, पहिरोको जोखिममा रहेका घरपरिवारलाई सुरक्षित स्थानमा सार्ने, पहिरोमा पुरिएका धनमाल निकालेर सुरक्षा गर्ने, विभिन्न स्थानमा भएको बाटो अवरोध हटाउने कार्य भइरहेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर