धनगढीमा अस्पताल भन्दै बनाइएको भवन ‘चर्च’ !

धर्मप्रचारमा कोरियाली क्रिश्चियन

कैलालीको धनगढीमा अस्पतालका लागि भनेर बनाइएको भवनमा चर्च सञ्चालन गरेकाे पाइएकाे छ । धनगढी उपमहानगरपालिका-७, मनेहरामा अस्पताल खोल्ने भन्दै बनाइएको भवनमा चर्च सञ्चालन भएको पाइएकाे हाे ।

स्थानीय जग्गाधनी प्रभाकर भण्डारीसँग अस्पताल निर्माणका लागि सम्झौता गरी भवन बनाइए पनि त्यहाँ चर्च सञ्चालन भएको पाइएकाे हाे ।

सेमिनार र तालिम चलाउने भन्दै वडा कार्यालयबाट इजाजत लिएर नेपाल लाइफ वर्ड मिसनले ‘लेट मेइन धनगढी प्रालि’ नामक संस्था बनाई चर्च सञ्चालन गरेको बताइएकाे छ ।

छालाको अस्पताल खोल्ने भनी झुक्याएर आलिसान चर्च भवन सञ्चालन गरेको भन्दै स्थानीयले आपत्ति जनाएका छन् । इसाई धर्मावलम्बीको बसोबास नभएको समुदायमा झुक्याएर चर्च खोलिएको भन्दै स्थानीय आक्रोशित छन् ।

२०८१ वैशाख ६ गते ७ नम्बर वडा कार्यालयबाट सेमिनार र तालिम सञ्चालन गर्ने इजाजत लिएर असार १५ गतेबाट इसाई संगति लाग्न थालेको स्थानीयहरू बताउँछन् । चर्चमा दुई जना दक्षिण कोरियाका नागरिक पनि धर्म प्रचार गर्न बसेको पाइएकाे छ । चर्चमा १० वर्षदेखि इसाईमा लागेकादेखि भर्खरै इसाई प्रवेश गरेका व्यक्तिहरूसमेत रहेका बताइन्छ ।

प्रदेश ३-०१-०२२ च ५६९२ नम्बरको कारको अगाडिको सिसामा अस्पताल जनाउने अंग्रेजी ‘एच’ लेखिएको लोगो टाँसिएको कार इसाईको प्रचारमा आएका कोरियनहरूलाई गाउँ लैजाँदा प्रयोग हुने गरेको स्थानीय बतारउँछन् ।

उपमहानगरले माग्यो जवाफ
अस्पताल खोल्ने भन्दै भवन निर्माण गरी चर्च चलाउने लेट मेइन धनगढी प्रालिलाई धनगढी उपमहानगरपालिकाले २४ घण्टाभित्र लिखित जवाफ दिन पत्र काटेको छ । अस्पताल खोल्ने भन्दै चर्च निर्माण गरेर धर्म परिवर्तन गर्न कोरियन नागरिक संलग्न भएको विषयमा लिखित जवाफ तथा प्रमाणहरू पेस गर्न उपमहानगरले सोमबार पत्र काटेको हो ।

उपमहानगरपालिकाले समाचार तथा स्थानीयको समेत गुनासो आएकाले लेट मेइन धनगढी प्रालिलाई पत्र काटेर संस्था दर्ता भएर नभएको, भवनको नक्सा पास भए/नभएको, जग्गाधनीसँग गरिएको सम्झौता, सम्झौताबमोजिम कार्यक्रम भए/नभएको लगायतका प्रमाण माग गरेको छ । उपमहानगरपालिकाले संस्थासँग हालसम्म चलाएको कार्यक्रमको अभिलेखसहित लिखित जवाफ मागेको हो ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर