लुम्बिनीको मुख्यमन्त्रीमा एमालेका चेतनारायण आचार्य नियुक्त

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एमाले) संसदीय दलका उपनेता चेतनारायण आचार्य नियुक्त भएका छन् ।

प्रदेश प्रमुख अमिक शेरचनले आचार्यलाई संविधानको धारा १६८ (२) बमोजिम सोमबार मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

प्रदेशसभामा रहेका एमालेका २९ र कांग्रेसका २७ सहित ५६ जना सदस्यको समर्थनमा आचार्य मुख्यमन्त्री नियुक्त भएका हुन् ।

उपनेता आचार्यले प्रदेशसभामा रहेका दुई ठूला दल नेकपा (एमाले) र नेपाली कांग्रेसको समर्थनमा प्रदेश प्रमुख अमिक शेरचनसमक्ष मुख्यमन्त्रीमा दाबी प्रस्तुत गरेका थिए ।

मुख्यमन्त्री जोखबहादुर महराले आइतबार प्रदेश प्रमुख शेरचनसमक्ष बुझाउनुभएको राजीनामा स्वीकृत भएपछि नयाँ सरकार गठनका लागि बाटो खुलेको थियो । प्रदेश प्रमुखको कार्यालयबाट जारी सूचनाअनुसार नेपालको संविधानको धारा १६८ (२) बमोजिम प्रदेशसभामा रहेका दुई वा दुईभन्दा बढी दलको समर्थनमा आज बेलुका ६ः३० बजेसम्म मुख्यमन्त्री दाबी गर्न आह्वान गरिएको थियो ।

प्रदेश प्रमुखसमक्ष दाबी पेस गर्न प्रस्तावित मुख्यमन्त्री आचार्यसहित कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरी र एमाले संसदीय दलका प्रमुख सचेतक तुल्सी चौधरीलगायतका सदस्यहरू पुगेका थिए ।

 

अर्घाखाँचीको निर्वाचन क्षेत्र १ (१) बाट निर्वाचित आचार्यले यसअघि आन्तरिक मामिला तथा कानुन, ग्रामीण खानेपानी तथा सहरी विकास र आर्थिक मामिला तथा योजनामन्त्रीको जिम्मेवारी सम्हालिसकेका छन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर