प्रहरीले सफल अनुसन्धान गरेका हत्या, लुटपाट र चोरीका यी ९ घटना

मुलुकमा पछिल्लो समय आपराधिक क्रियाकलाप बढिरहेका छन् । प्रहरीको तथ्याङ्कअनुसार प्रविधिको विकाससँगै आपराधिक क्रियाकलाप बढिरहेका छन् ।

नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले पछिल्लो समय साइबर तथा बैङ्किङ अपराधहरू बढ्दो क्रममा रहेका जानकारी दिए । परम्परागत रूपमा हुने अपराध पनि भइरहेका देखिन्छन् ।

प्रहरीको तथ्याङ्कमा गत आर्थिक वर्षमा ५९ हजार बढी अपराधका घटना भएका छन् । आर्थिक वर्ष २०७९/८० मा ५६ हजार अपराधका घटना दर्ता भएका थिए । अपराध बढेसँगै चुनौती पनि बढेको नेपाल प्रहरीले जनाएको छ ।

प्रहरी नायब महानिरीक्षक कार्कीले साइबर तथा बैङ्किङ अपराध बढेसँगै प्रहरीले आफ्नो अनुसन्धान पद्धतिलाई पनि विकास गरिरहेको बताए । कतिपय अनुसन्धानमा सफलता नपाए पनि धेरै अनुसन्धान सफल भएका उनको दाबी छ ।

‘निर्मला पन्तको बलात्कारपछि हत्यालगायत घटनाको अनुसन्धानमा प्रहरीले निरन्तर खोजी गरे पनि सफलता पाएका छौनौँ, तर त्यस्तै प्रकृतिका र अन्य ठूला अपराधमा भने सफलता पाइरहेका छौँ,’ उनले भने ।

गएको एक वर्षमा प्रहरीले केही ठूला आपराधिक घटनाको अनुसन्धानमा सफलता प्रााप्त गरेको छ । यी नौ घटना, जसमा प्रहरीलाई सफलता प्राप्त गरेको छ ।

तीनकुने सामूहिक हत्या प्रकरण
विसं २०८० भदौ २९ गते तीनकुने सामूहिक हत्या प्रकरण भएको थियो । काठमाडौँको तीनकुनेस्थित दिव्य स-मिलमा रातिको समयमा धारिलो हतियार प्रहार गरी चार जनाको हत्या भएको घटनाको प्रहरीले छोटो समयमा नै सफल अनुसन्धान गरेको थियो ।

दोलखा कालिन्चोक गाउँपालिका-८ घर भई सोही स-मिलमा काम गर्ने कुमार भुजेल भन्ने पूर्णबहादुर भुजेल, उनकी श्रीमती अम्बिका भुजेल, पूर्णबहादुर भुजेलकी आमा सुभद्रा भुजेल र सोही मिलमा बस्ने नवीन भन्ने विशाल राईको हत्या भएको थियो ।

अनुसन्धानका क्रममा उक्त घटना सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका-९ घर भई काठमाडौँको काँडाघारी बस्ने २३ वर्षीय सञ्जय भण्डारीले गरेको खुल्यो । मोटरसाइकलले ठक्कर दिएको र त्यस विषयमा उत्पन्न विवादको रिसइबीले घटना भएको पाइएको प्रहरीले जनाएको छ ।

सञ्जय भण्डारीले मोटरसाइकल ठोक्किएको विवादमा मोरङका विशाल राईको हत्या गरेको र उक्त घटना देखेपछि घटना बाहिर जाने डरले अरूको पनि हत्या गरेको स्विकारेका प्रहरीको अनुसन्धान टोलीद्वारा अनुसन्धानका क्रममा सार्वजनिक गरिएको प्रहरी नायब महानिरीक्षक कार्कीले जानकारी दिए ।

किशोरी हत्या गरी शिवपुरी जङ्गलमा गाडेको
घटना विसं २०८० माघ २२ गतेको हो । उक्त दिन अन्दाजी ५ बजेको समयमा तारेभिरस्थितमा सुष्मा लामाको शव गाडेको अवस्थामा भेटियो ।

उक्त घटनाको अनुसन्धानमा प्रहरी टोली खटियो । अनुसन्धानका क्रममा उनलाई आफ्नै प्रेमीले प्रेम प्रस्ताव अस्वीकार गर्दा पूर्वयोजनाअनुसार नै हत्या गरेर खाल्डो खनी गाडेको खुल्यो ।

प्रहरी प्रवक्ता कार्कीले प्रतिवादी रूपेन्द्र लामाले मन पराई प्रेम प्रस्ताव राख्दा अस्वीकार गरेकाले उनले पूर्वयोजना बनाई हत्या गरेर घर नजिकै शिवपुरी राष्ट्रिय निकुञ्जमा लगी खाल्डो खनी गाडेको पत्ता लागेको जानकारी दिए । उनलाई पक्राउ गर्न प्रहरी सफल भएको छ ।

महोत्तरी बैङ्क लुटपाट
विसं २०८० जेठ १६ गते अन्दाजी १२:२५ बजेको समयमा महोत्तरीमा रहेको एनएमबी बैङ्कमा अपरिचित नकाबधारी चार/पाँच जनाको हतियारधारी समूहले बैङ्क लुटपाट गर्‍याे । उनीहरू बैङ्कमा प्रवेश गरी बैङ्कका कर्मचारी तथा सेवाग्राही समेतलाई पेस्तोल देखाई बैङ्कबाट तत्काल १५ लाख रूपैयाँभन्दा बढी लुटेर लगे । उनीहरूले बैङ्कका कर्मचारीको मोबाइलसमेत लुटी डाँका गरी नम्बर नखुलेको दुईवटा मोटरसाइकलमा चढेर भागेका थिए ।

घटनाको अनुसन्धानका क्रममा उक्त घटनामा भारतीय नागरिक अजय कुमार, धनुषा मुजर्निया मुखियापट्टी-२ बस्ने २२ वर्षका अनर्जित राम र अर्का एक जना संलग्न रहेको खुलेको प्रहरीले जनाएको छ ।

आमाछोरीको आगो लगाएर हत्या
सल्यानमा विसं २०८० भदौ ५ गते ६:५० बजेको समयमा एउटा घरमा मानिस सुतिरहेका बेला जलेको अवस्थामा आमाछोरी भेटिए । टिनले छाएको एकतले कच्ची घरमा पीडितहरू बिहानसम्म पनि नउठेपछि स्थानीय छिमेकीले ढोका खोली हेर्दा कोठाभित्र आगलागी भई जली मृत अवस्थामा फेला परेका थिए ।

सल्यानको त्रिवेणी गाउँपालिका-२, झालेढुङ्गा बस्ने २९ वर्षकी रेवती थापा र उनकी नौ महिनाकी छोरी ऋतु थापाको आगो लगाएर हत्या गरिएको थियो । उक्त घटनाको अनुसन्धानका क्रममा प्रतिवादीले प्रेम सम्बन्धका कारण आगो लगाई आमाछोरीको हत्या गरेको पाइएको प्रहरीले जनाएको छ ।

घटनामा संलग्न रहेको आरोपमा सल्यानको सिद्धकुमाख गाउँपालिका-२, खानीगाउँ बस्ने २८ वर्षका कर्णबहादुर बस्नेत र २८ वर्षकै गीता कार्कीलाई पक्राउ गरिएको प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले बताए ।

परिवारको सामूहिक हत्या
मुगुमा विसं २०८० कात्तिकमा आफ्नै घरमा धारिलो हतियार प्रहार गरी कर्तव्य गरी मारेको अवस्थामा परिवारका सबै सदस्यकाे शव फेला परेको थियो ।

प्रहरीका अनुसार मुगु छायाँनाथ रारा नगरपालिका-६, मुन्दुगाउँ बस्ने श्रीदेवी बोहोरा, उनका नाबालक छोराहरू मनोज बोहोरा र रहर बोहोरा तथा नाबालिका छोरी अप्सरा बोहोराको हत्या भएको थियो ।

त्यस घटनामा छायाँनाथ रारा-६, कोटिला बस्ने ३० वर्षका का गोपाल बोहोरा र वडा नं ७ पिना बस्ने ३० वर्षका का गोर्खराज शाही संलग्न रहेको पाइएको प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले अनुसन्धानका क्रममा खुलेको बताए ।

उक्त घटनाको पनि प्रहरीबाट सफल अनुसन्धान गरी अपराधीलाई पक्राउपश्चात् कानुनी कारबाही भइरहेको छ । पैसा र सम्पत्तिका कारण हत्या गरेको खुल्न आएको उनको भनाइ छ । हत्या गर्ने एक जना आफन्त नै रहेका प्रहरीले जनाएको छ ।

दम्पती हत्या प्रकरण
पर्वतमा २०८० साल चैत २० गते जलजला गाउँपालिका-२, राममन्दिर बस्ने श्रीमान् र श्रीमती ढुङ्गा माटोले बनेको आफ्नै घरमा बसिरहेका बेला हत्या भएको थियो ।

जलजला-२, राममन्दिर बस्ने ६९ वर्षका सूर्यबहादुर घर्ती र श्रीमती ६७ वर्षकी कमला घर्ती मृत भेटिएका हुन् । दुईतले पक्की घरको भुइँतलाको आफू सुत्ने कोठाभित्र रगताम्मे अवस्थामा दम्पतीको शव भेटिएको थियो । उक्त घटनाको पनि सफल अनुसन्धान गरी प्रहरीले प्रतिवादी पक्राउ गरेको छ ।

घटनामा जलजला-२ बस्ने ३२ वर्षका कृष्णबहादुर विश्वकर्मा र कुश्मा नगरपालिका-२, खुर्कोट स्थायी घर भई कास्की बस्ने दीपक दर्जी संलग्न रहेका प्रहरीले जनाएको छ । उनीहरूले सम्पत्ति लुट्ने उद्देश्यले निज दम्पतीको हत्या गरेका पाइएको प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिए ।

बोरामा दुई जनाको शव फेला
विसं २०८० मङ्सिर ६ गते १२:५० बजेको समयमा चितवनको भरतपुर महानगरपालिका-१२, मिलनचोकमा दुई शव बोरामा बाँधेर फ्याँकिएको अवस्थामा फेला पर्‍याे ।

सडक कल्भर्टमुनि दुईवटा जुटको बोरामा एक पुरुष र एक महिलाको शव फेला परेको थियो । भारत मोतिहारीका १९ वर्षीय ऋषभकुमार कुशवाहा र सोही ठाउँकी अस्मिता भन्ने सञ्जु देवीको शव भएको प्रहरीले पुष्टि गर्‍याे । उनीहरूको हत्या अस्मिताका पति ३३ वर्षीय अखिलेश भगतले गरेको सीआईबीको अनुसन्धानले पत्ता लागेको थियो ।

अखिलेष भगत हाल भारतस्थित कारागारमा अपहरण मुद्दामा सजाय काटिरहेका छन् । विवाहपछि भतिजसँगको सम्बन्धका कारण उनले आफ्नै श्रीमती र भतिजको हत्या गरेका थिए ।

विनोद सुनचाँदी पसल चोरी प्रकरण
चितवनको कालिका नगरपालिका खोलेसिममा रहेको विनोद सुनचाँदी पसलमा गत असार १ गते चोरी भएको थियो । सीसीटीभी फुटेजमा दुई जनाले झोला भरी राखेर मोटरसाइकलमा सुन लगेको देखिन्थ्यो ।

उक्त घटनापछि प्रहरीले अनुसन्धान थाल्यो । घटनामा पसल सञ्चालक विनोद सुनुवार आफैँले योजना बनाएर बीमा दाबीका लागि सुन चोरी गर्न लगाएको पाइएको केन्द्रीय प्रहरी प्रवक्ता कार्कीले बताए ।

उक्त घटनापछि निजले दुई करोड ५५ लाख रूपैयाँको बीमा दाबी गरेका थिए । उनले आफ्ना चिनेजानेका र काम गर्ने कर्मचारी प्रयोग गरेर चोरी गर्न लगाएको पाइएको कार्कीले बताए । उनका अनुसार प्रहरीले सञ्चालकसहित पाँच जनालाई पक्राउ गरी कारबाही अघि बढेको छ ।

बलात्कारपछि हत्या
गत मङ्सिरमा धनुषामा भएको बालिकामाथिको बलात्कारपछि हत्याको घटनामा पनि प्रहरीले सफल अनुसन्धान गरेको छ । अनुसन्धानमा अपराधीले बलात्कार गरी घाँटी थिचेर हत्या गरेर पोखरीमा शव फालेको स्विकारेका प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले बताए ।

उक्त अनुसन्धानका क्रममा प्रहरीले धनुषा सबैला नगरपालिकाका ३१ वर्षीय विनोदकुमार राय र कमला नगरपालिका-६ बस्ने २४ वर्षीय रोशनकुमार मुखियालाई पक्राउ गरी कारबाही गरेको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर