साढे ७ लाख युवा रोजगारीका लागि बिदेसिए

वैदेशिक रोजगारीका लागि गत आर्थिक वर्ष २०८०–८१ मा ७ लाख ४१ हजार २ सय ९७ जना नेपाली श्रमिक बिदेसिएका छन् ।बिदेसिनेमा पुरुषको संख्या ६ लाख ६१ हजार १ सय २५ रहेको छ भने महिलाको संख्या ८० हजार १ सय ७२ रहेको छ ।

वैदेशिक रोजगार विभागका अनुसार यो संख्या श्रम स्वीकृति लिएर जानेहरूको मात्रै हो । श्रम स्वीकृति नलिईकन भिजिट भिसामा गई काम गर्नेहरूको तथ्यांक पनि बढी नै हुने गरेको छ । यद्यपि, कति नेपाली श्रमिक भिजिट भिसामा गई कामदार बनेका छन् भने यकिन तथ्यांक आउन सकेको छैन ।

वैदेशिक रोजगार विभागका अनुसार श्रम स्वीकृति लिएर बिदेसिएका मध्ये ७ सय ३२ जना मात्रै उच्च सीप भएका कामदार रहेका छन् । यसैगरी, पेसागत दक्षता भएकाहरूको संख्या २ हजार ७ सय ७२ रहेको छ । ६० हजार १ सय ३२ अर्धदक्ष कामदार बिदेसिएको तथ्यांक छ । यसैगरी, सीपयुक्त ५ लाख ३२ हजार १ सय २३ जना कामदार वैदेशिक रोजगारीमा गएका छन् । बाहिरिनेमध्ये १ लाख ४५ हजार ५ सय ४७ जना भने अदक्ष कामदार रहेका छन् ।

४ लाख ६० हजार १ सय २ जनाले नयाँ श्रम स्वीकृति लिएका छन् भने २ लाख ८१ हजार १ सय ९५ जनाले श्रम नवीकरण गरेका छन् ।

आव २०७९–८० को तुलनामा आव २०८०–८१ मा वैदेशिक रोजगारीमा जानेको संख्या घटेको छ । वैदेशिक रोजगारीका लागि बिदेसिनेको संख्या ३ दशमलव ८८ प्रतिशतले घटेको विभागको तथ्यांक रहेको छ ।

आव २०७९–८० मा ७ लाख ७१ हजार ३ सय २७ जना बिदेसिएका थिए भने आव २०८०–८१ मा ७ लाख ४१ हजार ३ सय ९७ जनाले श्रम स्वीकृति लिएका छन् । यो अघिल्लो आवको भन्दा २९ हजार ९ सय ३० जनाले कम हो ।

वैदेशिक रोजगार विभागले तथ्यांक राख्न थालेदेखि हालसम्ममा आव २०७९–८० मा बिदेसिनेको संख्या हालसम्मको उच्च हो ।

विभागले २०५० सालदेखि श्रम स्वीकृति लिएर विदेश जाने श्रमिकको तथ्यांक राख्न सुरु गरेको थियो । आव २०७८–७९ मा श्रम स्वीकृति लिएर विदेश जाने श्रमिकको संख्या ६ लाख ३० हजार ९० थियो ।

यसैगरी, आव २०७७–७८ मा कोभिड कालमा १ लाख ६६ हजार ६ सय ९८ नेपाली श्रम स्वीकृति लिएर बिदेसिएका थिए । आव २०७०–७१ मा ५ लाख २७ हजार ८ सय १४ जनाले श्रम स्वीकृति लिएका थिए ।

यसैगरी, आव २०७१–७२ मा ४ लाख ९९ हजार १ सय २ नेपाली श्रमिक बन्न विदेश गएका थिए । आव २०७२–७३ मा ४ लाख ३ हजार १ सय ७४ जना नेपाली बिदेसिएका थिए भने आव २०७३–७४ मा ३ लाख ८३ हजार ४ सय ९३ जना बाहिरिएका थिए ।

आव २०७४–७५ मा ३ लाख ५४ हजार ८२ जना वैदशिक रोजगारीमा गएको तथ्यांक विभागसँग छ । आव २०७५–७६ मा भने २ लाख ३६ हजार २ सय ८ जनाले श्रम स्वीकृति लिएका थिए ।

वैदेशिक रोजगार विभागका अनुसार गत आव २०८०–८१ मा म्यानपावर कम्पनीमार्फत बिदेसिने कामदारको संख्या ३ लाख ५३ हजार १ सय ६३ रहेको छ । जसमा पुरुषको संख्या ३ लाख १५ हजार ४ सय ४५ रहेको छ भने महिलाको संख्या ३७ हजार ७ सय १८ रहेको छ ।

व्यक्तिगत तवरबाट बिदेसिने कामदारको संख्या ९५ हजार रहेको छ । जसमा पुरुषको संख्या ७४ हजार ४ सय ३ जना र महिलाको संख्या २० हजार ६ सय ३५ रहेको छ ।

बिदेसिनेमध्ये जीटुजी (गभर्मेन्ट टु गभर्मेन्ट)अन्तर्गत बिदेसिनेको संख्या ११ हजार ९ सय १ रहेको छ । जीटुजीअन्तर्गत वैदेशिक रोजगार दिने मुलुक दक्षिण कोरिया, जापान र इजरायल रहेका छन् । जीटुजीमार्फत जानेमा पुरुष १० हजार ६ सय ९७ जना र महिला १ हजार २ सय १ जना रहेका छन् ।

वेैदेशिक रोजगार विभागको तथ्यांकनुसार बिदेसिने नेपालीको रोजाइमा यूएई पर्ने गरेको छ । गत आवमा यूएईका लागि श्रम स्वीकृति लिनेको संख्या १ लाख ९३ हजार ४ सय ३८ रहेको छ ।

यसैगरी, साउदी अरेबियाका लागि १ लाख ४१ हजार ५ सय २ जनाले श्रम स्वीकृति लिएर उडेका छन् । कतारका लागि भने १ लाख ३४ हजार ६ सय ६९ जनाले श्रम स्वीकृति लिएका छन् । श्रम गन्तव्यका रूपमा रहेको मलेसियामा भने गत वर्ष १ लाख ३ हजार ४ सय ४२ जनाले श्रम स्वीकृति लिएका देखिएको छ । कुवेतका लागि श्रम भिसा लिनेको संख्या ४० हजार ३ सय ६८ रहेको छ ।

नयाँ श्रम गन्तव्य हुँदै गएको रोमानियाका लागि १५ हजार २१ जनाले श्रम स्वीकृति लिएका छन् । कोरियाका लागि भने १३ हजार २६ जनाले श्रम स्वीकृति पाएका छन् । मरिससका लागि ७ हजार ४ सय ८ जनाले श्रम स्वीकृति पाउँदा माल्टा जानेको संख्या ५ हजार ७ सय पुगेको छ ।

जापानका लागि १३ हजारले श्रम स्वीकृति पाएका छन् भने बहराइनका लागि ९ हजार ८ सय ६ जनाले श्रम स्वीकृति लिएका छन् । क्रोएसियामा भने १५ हजार ३ सय ६४ जना गएका छन् । साइप्रसमा पनि ६ हजार ९ सय ५० जना कामदारका रूपमा पुगेका छन् ।

बिदेसिने कामदारकै कारण गत आवको ११ महिनामा १३ खर्ब २७ अर्ब रेमिट्यान्स भित्रिएको थियो । यो समाचार राजधानी दैनिकमा छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *