आयात घट्दा वीरगञ्जको आन्तरिक राजस्व खस्कियो, छ अर्ब ८६ करोड सङ्कलन

आन्तरिक राजस्व कार्यालय वीरगञ्जले गत आर्थिक वर्ष २०८०/८१ मा रु छ अर्ब ८६ करोड ८६ लाख ७८ हजार राजस्व सङ्कलन गरेको छ । गत आवमा अन्तःशुल्क र आयात घटेसँगै राजस्व सङ्कलनमा प्रत्यक्ष असर देखा परेको छ ।

कार्यालयले आव २०७९/८० को तुलनामा आव २०८०/८१ मा रु २७ करोड १५ लाख कम राजस्व सङ्कलन गरेको छ । आन्तरिक राजस्व कार्यालय वीरगञ्जका प्रमुख कर अधिकृत ढाकाराम तिवारीले कार्यालयले गत आवभरिमा सबै शीर्षकमा रु छ अर्ब ८६ करोड ८६ लाख ७८ हजार  राजस्व सङ्कलन गरेको बताए ।

‘गत आवको वर्षभरिमा मूल्य अभिवृद्धि कर सङ्कलन र आयकर सङ्कलन उत्साहजनक देखिएको छ’, उनले भने, ‘गत आवमा अन्तःशुल्क कर बापतको राजस्व असुलीमा धेरै गिरावट आएको छ । यसले समग्र राजस्व सङ्कलनमा असर पारेको छ ।’

आन्तरिक राजस्व विभागले गत आवमा कार्यालयका लागि रु नौ अर्ब ४१ करोड ९७ लाख ९३ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य निर्धारण गरेको थियो । कार्यालयले गत आवमा आयकरतर्फ रु दुई अर्ब २६ करोड ७५ लाख ५४ हजार सङ्कलन गरेको छ ।  मूल्य अभिवृद्धिकरतर्फ रु दुई अर्ब २० करोड २५ लाख चार हजार सङ्कलन गरेको छ । सोही अवधिमा अन्तःशुल्कतर्फ रु चार अर्ब २० करोड २५ लाख ३६ हजार सङ्कलन गर्ने लक्ष्य राखिएको थियो । तर गत आवमा हिमालयन डिष्ट्रिलरीको उत्पादन घटेसँगै अन्तःशुल्कबापतको रकममा प्रत्यक्ष प्रभावित भएको देखिन्छ । कार्यालयले अन्तःशुल्कबापत रु दुई अर्ब ३९ करोड ८६ लाख २० हजार सङ्कलन गरेको छ ।

प्रमुख कर अधिकृत तिवारीले राजस्व सङ्कलन बढाउन नियमित रूपमा बजार अनुगमन र कर सचेतनालगायत कार्यक्रम अघि बढाउँदै आइरहेको बताए । आन्तरिक राजस्व विभागले आव २०७९/८० मा कार्यालयलाई रु १० अर्ब ६२ करोड राजस्व सङ्कलन गर्ने लक्ष्य निर्धारण गरेकामा सो अवधिमा भने रु सात अर्ब १४ करोड सङ्कलन गरेको थियो । कार्यालयले विशेषगरी आयकर, भाडा कर, ब्याजकर, मूल्य अभिवृद्धि कर, अन्तःशुल्क र स्वास्थ्य कर असुली गर्ने गर्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर