बङ्गलादेशबाट काँकडभिट्टा हुँदै स्वदेश फर्किए नेपाली विद्यार्थी

बङ्गलादेशमा अशान्ति बढेपछि त्यहाँ अध्ययनरत नेपाली विद्यार्थीहरु काँकडभिट्टाको स्थलमार्ग हुँदै स्वदेश फर्किएका छन् । आज मात्रै दुई सयभन्दा बढी विद्यार्थी काँकडभिट्टा नाका हुँदै सकुशल नेपाल भित्रिएका हुन् ।

पछिल्लो दुई दिनको तुलनामा आज विद्यार्थीको आगमन बढेको हो, अध्यागमन कार्यालय काँकडभिट्टाका प्रमुख मोहन पनेरुले भने,विद्यार्थीहरु विहानैदेखि आइरहेका छन् । उनीहरुलाई छिटोभन्दा छिटो अध्यागमन प्रक्रिया पूरा गरेर घर जाने वातावरण मिलाइरहेको उनले जानकारी दिए।

बङ्गलादेशमा विद्यार्थीको आन्दोलन हिंसात्मक भएपछि विगत सात दिनदेखि नेपाली विद्यार्थीहरु स्वदेश फर्किने क्रम सुरु भएको हो । सात दिनमा काँकडभिट्टा नाका हुँदै स्वदेश फर्किने विद्यार्थीको सङ्ख्या सात सयभन्दा बढी रहेको अध्यागमन प्रमुख पनेरुले बताए ।

आज दिउँसो काँकडभिट्टा आइपुग्नु भएकी रंगपुर कम्युनिटी मेडिकल कलेजकी एमबीबीएस छात्रा भावना राईले नेपाली समुदायका चार सयभन्दा बढी विद्यार्थीलाई कलेजले आफ्नो बसमा ओसारेर भारतको सीमानाका फुलबारीमा ल्याइदिएको बताए । इटहरी निवासी राईले विद्यार्थी ओसार्न प्रयोग गरिएको कलेजको बसलाई बङ्गलादेश सरकारले सुरक्षा दिएको थियो । कलेजका प्राध्यापक र कर्मचारीहरु पनि भारतको सीमासम्म हामीलाई पुर्याउन आउनु यो, उनले भने, कफ्र्यु लागेको अवस्थामा बङ्गलादेशबाट भारत प्रवेश गर्न सफल भयौँ ।

आज मात्रै नौ वटा बसमार्फत एकै भारतीय सीमानाकासम्म आएका रंगपुर मेडिकल कलेज र प्राइम मेडिकल कलेजका विद्यार्थीमध्ये धेरैजसो दार्जीलिङ, सिक्किम र सिलिगुढी क्षेत्रका भएको उनले जानकारी दिए । केही विद्यार्थी भुटानबाट समेत आएका थिए ।

रंगपुर कम्युनिटी मेडिकल कलेजमा एमबीबीएसमा अध्ययनरत् समृद्ध थापाले स्वदेश फर्किने हतारका कारण आज सबै विद्यार्थी भोकै रहेको बताए । काठमाडौं निवासी उनले भने, एक हप्तादेखि होस्टेलबाट बाहिर निस्कन पाएका थिएनौँ । सडकमा दिनहुँ गोली चलेको आवाजले हाम्रो मुटु हल्लिन्थ्यो । कहिले घर जान पाइएला जस्तो भएको थियो । आज खाना खाने फुर्सद पनि भएन । काँकडभिट्टा आइपुग्दा भोक र तिर्खा सबै हरायो । ढुक्क भइयो ।

उत्तरी बङ्गलादेशको विभिन्न मेडिकल कलेजमा अध्ययनरत् नेपाली विद्यार्थीहरु नजिकको दूरी भएकाले काँकडभिट्टाबाट स्वदेश फर्किरहेका हुन् । काँकडभिट्टा आइपुग्ने वित्तिकै उनीहरुले परिवारसँग फोन र इन्टरनेट सम्पर्क गरी आफू सकुशल रहेको खबर गरेका थिए ।

सुर्खेत घर भएका रेणुका गुरुङले बङ्गलादेशमा फोन र इन्टरनेट बन्द भएपछि अत्यास लागेको अनुभूति सुनाए । नयाँ विद्यार्थीहरुलाई सम्झाउन गाह्रो भएको उनको भनाइ थियो ।उनले भने, आज विहान चार बजे कलेजबाट हिँडेका थियौँ । शिक्षकहरुले हामीलाई भारतको सीमासम्म ल्याउन सहयोग पुर्याउनु भयो । जुस र पानी मात्र पिएर हामी काँकडभिट्टा आइपुग्यौं ।

बङ्गलादेशस्थित कलेजले त्यहाँको सुरक्षा निकायसँग समन्वय गरेर भारतीय सीमानाका फुलबारीसम्म ल्याइदिएको कञ्चनपुरकी रक्षा भण्डारीले बताए । विद्यार्थीहरुले बङ्गलादेशको बङ्गलाबन्ध, भारतको फूलबारी र पानीट्याङ्की नाकामा अध्यागमन प्रक्रिया पूरा गरेपछि मात्र नेपाल आउन पाउँछन् ।

पानीट्याङ्की नाकाबाट ई–रिक्सा र ट्याक्सी चढेर उनीहरु सिधै काँकडभिट्टस्थित अध्यागमन कार्यालयमा आइपुग्छन् । अध्यागमन प्रक्रिया सकेर उनीहरु झापा, इलामलगायतका नजिकका जिल्लाबासी भए गाडी रिजर्भ गरेर घर जाने गरेका छन् ।

काठमाडौं र त्योभन्दा पश्चिमका विद्यार्थीहरु भद्रपुर विमानस्थलबाट हवाईमार्ग हुँदै घर जाने गरेका छन् । कतिपय अभिभावकहरु छोराछोरी लिन काँकडभिट्टाको अध्यागमन परिसरमै पुग्ने गरेका छन् । बङ्गलादेशको फरिदपुरस्थित मेडिकल कलेजमा एमबीबीएसमा अध्ययनरत् प्रतिभा नायकलाई लिन उनका आमावुवा अध्यागमन परिसरमै घण्टौं कुर्नु भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *