दुई तिहाइका कम्युनिष्ट प्रधानमन्त्रीलाई कम्युनिष्टकै अविश्वास

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाबाट दुई तिहाइ सांसदको विश्वास पाएका छन् । आइतबारको प्रतिनिधिसभा बैठकमा विश्वासको मतका लागि उनले पेस गरेको प्रस्तावको पक्षमा दुई तिहाइ बहुमत परेको हो ।

संसदबाट यति ठूलो विश्वास पाएका नेकपा (एमाले) का अध्यक्षसमेत रहेका ओलीले आफ्नो दलबाहेक अन्य कम्युनिष्ट दलकै भने विश्वास पाएनन् । बरू उनलाई लाेकतान्त्रिक दलहरूकाे राम्राे साथ मिल्याे । एमाले फुटेर बनेको एकीकृत समाजवादी र एमालेसँग एकीकरण (नेकपा) मा आएर पनि पूर्ववत् फर्किएको माओवादी केन्द्रले उनलाई विश्वासको मत दिएनन् ।

प्रतिनिधिसभामा उपस्थित २६३ मध्ये ओलीको पक्षमा १८८ मत परेको थियो । विपक्षमा ७४ मत पर्‍याे भने मत दिन्नँ भन्नेमा १ मत परेको छ । २७५ सदस्यीय प्रतिनिधिसभामा १८४ मतले दुई तिहाइ पुग्छ । ओलीले त्यसभन्दा बढी मत पाएका छन् ।

गत ३० असारमा प्रधानमन्त्री नियुक्त भएका ओलीले सोमबार शपथ लिएर कार्यभार सम्हालेका थिए ।

संसदको सबैभन्दा ठूलो दल नेपाली कांग्रेससँग १७ असारमा भएको सत्ता समीकरणको समझदारीअनुसार ओली चौथो पटक प्रधानमन्त्री बनेका हुन् । राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई संविधानको धारा ७६ को उपधारा २ अनुसार प्रधानमन्त्रीमा नियुक्त गरेका हुन् । यस व्यवस्थाअनुसार दुई वा दुईभन्दा बढी दलको समर्थनमा संसदमा बहुमत जुटाउन सक्ने कुनै पनि सदस्य प्रधानमन्त्री बन्न सक्छ ।

प्रतिनिधिसभामा ओलीको पक्षमा कांग्रेस, एमाले, जसपा, जसपा नेपाल, जनमत पार्टी, लोसपालगायतका दलसहित केही स्वतन्त्र सांसदको समर्थन छ । माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, नेकपा एकीकृत समाजवादी, राप्रपा, राष्ट्रिय जनमोर्चा, नेमकिपा भने ओलीको विपक्षमा उभिए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर