कर छली गरेका १९८६ फर्ममाथि अनुसन्धान, आयकरतर्फ ७ अर्ब २० करोड ३० लाख छली

आन्तरिक राजस्व विभागले कर छलीमा संलग्न रहेका १ हजार ९ सय ८६ व्यापारिक फर्म तथा करदातामाथिको छानबिन र अनुसन्धान टुंगोमा पुर्‍याएको छ । विभागले ती फर्म तथा करदाताले प्रयोग गरेको झुटा तथा नक्कली बिजकहरूमाथि गरेको अनुसन्धान सकाउँदै ती फर्मबाट ११ अर्ब ३ करोड १७ लाख कर असुली गर्ने निर्णय गरेको छ ।

विभिन्नखाले उच्च दबाबका बाबजुद विभागको नेतृत्वले विभिन्न व्यापारिक फर्मबाट राज्यकोषमाथि हुन लागेको डकैती रोक्दै ती फर्मबाट राज्यकोषमा आउनुपर्ने रकम असुली गर्ने गरी महत्वपूर्ण निर्णय गरेको हो । जसमा आयकरतर्फ ७ अर्ब २० करोड ३० लाख र मूल्य अभिवृद्धि करतर्फ जरिवानासहित ३ अर्ब ८२ करोड ८७ लाख निर्धारण गरिएको विभागले जनाएको छ ।

अब ती फर्म तथा करदाताले विभिन्न परिपञ्च गरी छली गरेको कर सरकारलाई तिर्नुपर्ने छ । विभिन्न फर्म तथा कम्पनीहरूले झुटा तथा नक्कली बिजक प्रयोग गरी कारोबार गरेको सूचनाका आधारमा विभागले एक वर्षअघिदेखि ती कम्पनीको कारोबार र नक्कली बिजकमाथि अनुसन्धान र छानबिन थालेको थियो ।

विभागका महानिर्देशक शिवलाल तिवारीले कर छली गर्ने फर्महरूमाथिको अनुसन्धान टुंगोमा पुर्‍याएर कर निर्धारण गर्नुका साथै विभागले निर्धारण गरेको कर असुली गर्ने क्रमलाई समेत दु्रत गतिमा अघि बढाइरहेको जानकारी दिए । विभागले यस प्रकरणमा १० वर्षअघि भएका नक्कली बिल, राजस्व चुहावट र बदमासीका बारेमा छानबिन गरी कर निर्धारण गर्दै त्यस्ता फर्मसँग कर असुली गर्न थालेको छ ।

विभागका महानिर्देशक तिवारीले हालै सम्पन्न अनुसन्धान र कर निर्धारण प्रक्रियाले कर छली गर्ने कम्पनी वा फर्मको बारेमा सूचना पाउनेबित्तिकै विभागले जुनसुकै समयमा छानबिन गर्ने र कर निर्धारण गरी असुल गर्न सक्ने सन्देश दिएको बताए । ‘अब कुनै पनि फर्म वा कम्पनीले विभिन्न परिपञ्च मिलाएर, झुटा तथा नक्कली बिजकको प्रयोग गरी कर छल्ने र एक दुई वर्ष बितेपछि अब त उम्कियौं भन्ने गलत सोच नराख्दा हुन्छ, कर छल्नेहरूविरुद्ध कैयौं वर्षपछि पनि छानबिन गरी जरिवानासहित कर असुल हुन सक्छ भन्नेबारेमा उनीहरू प्रस्ट हुन जरुरी छ’ –महानिर्देशक तिवारीले भने । यो समाचार नेपाल समाचारपत्र दैनिकमा छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर