सशस्त्र प्रहरी बल : विपद्मा खोज तथा उद्धारदेखि राजस्व सङ्कलन

सुनसरी जिल्लास्थित सशस्त्र प्रहरी बल नेपाल नम्बर ४ हेडक्वाटरले विपद्मा खोज तथा उद्धार, चोरी तस्करी तथा लागुऔषध नियन्त्रण र विपद् जोखिम न्यूनीकरणलाई उच्च प्राथमिकतामा राखेर कार्यसम्पादन गर्दै आएको छ ।

गत आर्थिक वर्षमा सशस्त्र प्रहरी बल नेपाल नम्बर ४ हेडक्वाटरले विपद् खोज तथा उद्धारका क्रममा कोशी प्रदेशका विभिन्न नदी र खोलामा डुबेका १० जनाको शव निकालिएको जनाएको छ ।

विपद्मा फसेकाको खोज तथा उद्धारका लागि कोशी नदीमा नमूना अभ्यास गर्ने क्रममा डुबेका १३ जना र गत चैत २७ गतेदेखि बराहक्षेत्र चतराधाममा सञ्चालन भएको पूर्णमहाकुम्भ मेलामा फसेका १० जनाको जीवित उद्धार गरिएको कार्यालय प्रमुख सशस्त्र प्रहरी  उपरीक्षक समेनन्द बज्राचार्यले जानकारी दिए ।

सोही अवधिमा कार्यालयले विभिन्न चोरी तथा अवैध सामान बरामदका शीर्षकमा प्रतिवादीलाई कारबाही गरी १७ करोड ९९ लाख १३ हजार चार सय नौ राजस्व सङ्कलन गरेको बज्राचार्यले बताए ।

जिल्लास्थित सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट बसन्तपुरबाट खटिएको टोलीले जाँच गर्ने क्रममा घुस्की नाकाबाट हरिनगरतर्फ जाँदै गरेको बा १६ प ७६१३ नम्बरको कारबाट रु एक करोड एक लाख, विशेष सुराकीका आधारमा हरिपुरबाट मकै भनी  ४५ लाख ५० हजार बराबरको चिनीलगायत विभिन्न समयमा अवैध सामग्री बरामद गरिएको बज्राचार्यले जानकारी दिए ।

गत आवमा एक सय १५ वटा सडक दुर्घटना हुँदा २७ को मृत्यु, दुई सय ११ जना घाइते भएका छन् । हेडक्वाटरले एक सय ४१ आगलागीका घटनालाई नियन्त्रण गरिएको जनाएको छ ।

एक हजार तीन सय तीन किलो भन्दाबढी गाँजा, ब्राउन सुगर ५७ दशमलव ८३ ग्राम, ट्रामाडोलरट्रामोल २३ हजार सात सय एक लागुऔषध बरामद गरिएको उपरीक्षक बज्राचार्यले जानकारी दिए । ‘सो क्रममा ४२ जनालाई पक्राउ गरी कारबाही गरेका छौँ’, उनले भने, ‘लागुऔषध ओसारपसारमा दुई एम्बुलेन्स, १२ मोटरसाइकल र एउटा अटोसहित चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धानका लागि सम्बन्धित निकायमा बुझाएका छौँ ।’

सङ्कलन भएको रकम राजस्व कार्यालयलाई बुझाइसकिएको बज्राचार्यले बताए। कार्यालयले चोरी तस्करी तथा लागुऔषध नियन्त्रण र विपद् जोखिम न्यूनीकरणलाई उच्च प्राथमिकतामा राखी कार्य सञ्चालन गरिरहेको उनले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर