मन्त्रीलाई बधाई दिन राजदूतहरू कार्यालय पुग्नुपर्ने जरूरत छैन : रवीन्द्र मिश्र

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले नवनियुुक्त मन्त्रीहरूलाई बधाई दिने नाममा देखिएको विदेशी राजदूतहरूको सक्रियतामाथि आपत्ति जनाएका छन् ।

नेपालमा कार्यरत विदेशी राजदूतहरूलाई सामाजिक सञ्जालमा खुलापत्र लेख्दै मिश्रले कूटनीतिक आचरण पलान गर्न आग्रह गरेका छन् ।

मिश्रले लेखेका छन्, ‘केही अपवादबाहेक हाम्रा राजनीतिज्ञहरूको कूटनीतिक, पेसागत र नैतिक स्तर एकदमै न्यून छ भन्ने कुरा तपाईं सबैलाई थाहा छ । जे होस्, उनीहरूको मापदण्ड कम भएकाले भेटघाट र सम्पर्क गर्दा तपाईंले सामान्य कूटनीतिक प्रोटोकलहरूलाई बेवास्ता गर्न सक्नुहुन्छ भन्ने होइन ।’

उनले नेपाली नेताहरू कमसल हुँदैमा नेपालमा आएर राजदूतहरूले कूटनीतिक आचरण मिच्न नहुने बताएका छन् ।

‘निराशाजनक कुरा यो छ कि तपाईंहरूमध्ये धेरैले नवनियुक्त मन्त्रीहरूलाई सिधै भेटेर बधाई दिनुहुन्छ । यसको कुनै जरूरत छैन । यस्तो कुरा तपाईंहरूको देशमा हुँदैन,’ मिश्रको खुलापत्रमा लेखिएको छ ।

नेपालका राजदूतहरूले मन्त्रीहरूसँगको सिधा सम्बन्ध भएकामा गर्व गर्नुमा कुनै तुक नभएको भन्दै नेता मिश्रले यसो हुनुमा नेपाली नेताहरूकै दोष भए तापनि राजदूतहरूको पनि यसमा कूटनीतिक सभ्यपना नदेखिएको बताएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर