एमालेसँगको लिखित सहमति कार्यान्वयन हुनेमा कांग्रेस महामन्त्री थापाको आशंका

सत्तारूढ नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले एमालेसँग गरिएको सात बुँदे लिखित सहमति कार्यान्वयन हुनेमा आशंका व्यक्त गरेका छन् ।

जय नेपाल फाउण्डेशनले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले सो आशंका व्यक्त गरेका हुन् ।

महामन्त्री थापाले असार ६ गते (भोलि) प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने क्रममा संसदमा सोबारे संशय नहुने गरी स्पष्ट धारणा राख्नुपर्ने समेत बताए ।

महामन्त्री थापाले पार्टी सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष ओलीबीच विगतमा पनि धेरै पटक धोकाधडीको राजनीति भएको बताए । सरकार आलोपालोमा चलाउने लगायतका दुई पार्टीबीच भएको लिखित ७ बुँदे सहमति कार्यान्वयन हुनेमा सबै मानिसमा संशय रहेको जिकिर उनको छ ।

उनले कांग्रेसले सो समझदारी कार्यान्वयन गरेर अघि बढ्ने विश्वास दिलाउँदै एमालेले पनि सो विश्वास दिलाउनुपर्ने धारणा राखे ।

‘एउटा चरणसम्म नेकपा (एमाले) का अध्यक्षको नेतृत्वमा सरकार रहन्छ । त्यसपछि नेपाली कांग्रेसका सभापतिको नेतृत्वमा सरकार रहन्छ,’ महामन्त्री थापाले भने, ‘अब यसो मनमा कुरा गर्ने हो भने सबैको मनमा संशय छ । अहिले हामीले भाषणमा एउटा कुरा भन्यौ भने पनि यसो बाहिर एउटा कोठामा निस्केपछि अनि छोड्छ त भोलि भनेको बेलामा ? ठयाक्क हुन्छ त ?’

महामन्त्री थापाले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालको अन्य दललाई सधैंभरि झुक्याउन सक्छु भन्ने भ्रम र चकचकका कारणले कांग्रेस र एमालेले मिलेर सरकार बनाउनुपर्ने अवस्था आएको पनि उल्लेख गरे । उनले आफू एमाले-माओवादीसहितका दलहरू मिलेर बनेको सरकारलाई चलाउने पक्षमा नभए पनि दाहाल स्वयंले नयाँ सरकार बनाउने परिस्थिति निर्माण गरेको बताए ।

महामन्त्री थापाले दुई ठूला दलहरूको विश्वास जनतामा गुम्न नदिन पनि दुवै दलबीच भएको सहमति कार्यान्वयनमा आशंका गर्ने अवस्था आउन दिन नहुने तर्क गरे ।

हेर्नुहाेस् भिडियाे 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर