‘कांग्रेस-एमाले गठबन्धनले सत्तामा पुग्न संविधान संशोधनको खोल ओढेको आशंका हुन थालेको छ’

नयाँ सत्ता समीकरणसँगै देशमा राजनीतिक स्थायित्व कायम हुने आम नागरिकको विश्वास छ । राजनीतिक स्थायित्वसँगै देश विकासमा गति आउने आकलन सबैले गरेका छन् । निजी क्षेत्र, राजनीतिक दल, विभिन्न पेसा व्यवसाय अपनाएकाहरू नयाँ सरकारप्रति अझ बढी उत्साहित छन् ।

संसदका दुई ठूला राजनीतिक दल नेपाली कांग्रेस र नेकपा (एमाले) बीचको सत्ता सहकार्यले देशले गति लिने विश्वास सबैको छ । तर, केही राजनीतिक दलहरू संसदका दुई ठूला दलबीचको सत्ता सहकार्यबाट सन्तुष्ट छैनन् । दुई ठूला दल मिलेर सत्ता समीकरण बनाउनुले देशमा निरंकुशता हाबी हुने उनीहरूको आशंका छ । नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) लगायतका राजनीतिक दलहरू कांग्रेस र एमालेको सत्ता समीकरणलाई सहज मानिरहेका छैनन् ।

नेकपा (माओवादी केन्द्र) ले त संविधान मिचेर संविधानको धारा ७६ (२) अनुसार नै सरकार गठनको आह्वान गरेकोमा असन्तुष्टि जनाएको छ । तर पनि आम नागरिकले वर्तमान सत्ता समीकरणलाई आशाका रूपमा हेरेका छन् । संसदकै पाँचौं ठूलो राजनीतिक दल राष्ट्रिय प्रजातन्त्र पार्टीले कांग्रेस-एमाले सत्ता सहकार्य सुरूवाती रूपमा सकारात्मक भए पनि पछिल्ला दिनका घटनाक्रमहरू अस्वभाविक रहेको बताएको छ ।

न्युज एजेन्सी नेपालसँगको कुराकानीमा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले पछिल्ला दिनमा विकसित हुँदै आएका घटनाक्रमहरूले आशंका गर्नुपर्ने प्रशस्त ठाउँ दिएको बताए ।

कांग्रेस-एमाले सहकार्य प्रारम्भिक रूपमा सकारात्मक
अध्यक्ष लिङ्देनले कांग्रेस-एमाले सहकार्य प्रारम्भिक रूपमा सकारात्मक रहेको टिप्पणी गर । उनले पछिल्ला घटनाक्रमहरूलाई आफूले होसियारीपूर्वक हेरिरहेको उल्लेख गर्दै दुई ठूला राजनीतिक दलहरू मिलेर सरकार बनाउने कुरा अस्वाभाविक भएको बताए । उनले वर्तमान सरकार संविधान संशोधनका लागि बनेको भनिए पनि पछिल्ला गतिविधिहरूले आशंका गर्ने धेरै ठाउँ देखाएको बताए । उनले राप्रपाले सरकारका कामकारबाही हेरेर आगामी दिनमा थप निर्णय लिने बताए ।

उनले भने,‘यो सबै घटनाक्रमलाई राष्ट्रिय प्रजातन्त्र पार्टीले होसियारीपूर्वक हेरिरहेको छ । अप्रत्याशित रूपमा खासगरी देशका मुख्य ठूला दुई राजनीतिक दलको गठबन्धन बनेको छ । त्यो हेर्ने हो भने राजनीतिमा जुन किसिमको प्रचलन छ, त्यसलाई अस्वाभाविक रूपमा लिइन्छ । तर यो समीकरण बन्ने प्रारम्भमा के भनियो भने यो प्रकारको गठबन्धन किन हुनुपर्‍याे भन्दा संविधान संशोधनका लागि भनिएको छ । यसलाई हामीले प्रारम्भिक रूपमा सकारात्मक रूपमा लिएका छौं । तर, अहिले घटनाक्रमहरू जसरी विकसित हुँदै आइरहेको छ, अब त्यसमा प्रशस्त आशंकाहरू पनि पैदा भएका छन्, अहिले नै हामी तुरून्तै धेरै प्रतिक्रिया व्यक्त गर्ने भन्दा पनि यसलाई होसियारीपूर्वक हेर्नुपर्छ र यो घटनाक्रम कसरी अघि जान्छ ? त्यसपछि निर्णय लिएर अघि बढ्नुपर्छ भन्ने तहमा छौ ।’

कांग्रेस-एमाले संविधान संशोधनको खोल ओढेर सत्ता सहकार्यका लागि मात्रै मिले
अध्यक्ष लिङ्देनले दुई ठूला दलहरू संविधान संशोधनको सिँढी बनाएर वा संविधान संशोधनको खोल ओढेर सत्ता सहकार्यका लागि मात्रै मिलेको महसुस हुन थालेको बताए । उनले संविधान संशोधनको विषय दुई दलकै प्राथमिकतमा नपरेको बताए । दुवै दलले लिखित रूपमा वा न्यूनतम साझा कार्यक्रम कतै पनि संविधान संशोधनको विषयलाई उल्लेख नगरेको बताए ।

अध्यक्ष लिङ्देनले नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले संविधान संशोधनको सामान्य खाकाका रूपमा दुई दलीय व्यवस्थातर्फ लैजाने संकेत गर्नुले देशमा निरंकुशता ल्याउन खोजेको देखिएको बताए । उनले महासचिवको उक्त टिप्पणीबाट सकारात्मक सोचका साथ सरकार बनेको भन्न नसकिने बताए ।

उनले भने, ‘संविधान संशोधन त भनियो तर यी ठूला दलहरू जसरी अस्वाभाविक ढंगले मिल्न पुगे, त्यो जनतालाई के भन्ने त भन्दा संविधान संशोधनका लागि भन्यो भने राम्रो हुन्छ भनेर त्यसलाई सत्ता चढ्नको लागि सिँढी वा खोल ओढेको हो कि भन्ने मात्रै देखिन थालेको छ । अहिले संविधान संशोधन प्राथमिकतामा पनि देखिएको छैन यो सरकारको । कहीँ लिखित रूपमा पनि आएको छैन । सरकारका मन्त्री र प्रधानमन्त्रीबाट पनि यो विषयहरू आएको छैन । अहिलेको प्रधानमन्त्रीको पार्टीको महासचिवले जुन प्रकारको संविधान संशोधनको खाका प्रस्तुत गर्नुभयो एउटा टेलिभिजनमा, त्यो हेर्ने हो भने सकारात्मक सोचका साथ यो सरकार बनेको होइन । देशमा निरंकुशता लाद्ने, दुई दलीय व्यवस्था खडा गर्ने सोचका साथ यो सरकार बनेको हो भन्ने आशंका देखिएका छन् ।’

संविधान संशोधनको प्रक्रिया अघि बढ्छ भने निःशर्त समर्थन गर्छौं
अध्यक्ष लिङ्देनले कांग्रेस-एमाले सरकारले संविधान संशोधनको विषयमा जोड दिए राष्ट्रिय प्रजातन्त्र पार्टीले निःशर्त समर्थन गर्ने बताए । उनले राष्ट्रिय प्रजातन्त्र पार्टीले अहिले वर्तमान गठबन्धनमा सहभागिता जनाउनुपर्ने कुनै कारण नरहेको पनि बताए ।

वर्तमान सरकार चलाउन गणितको कुनै आवश्यकता नरहेको उल्लेख गर्दै राप्रपाले सत्तालाई प्राथमिकतामा नराख्ने उनले बताए । उनले अहिलेको संविधानले काम गर्न नसकेको बताए । मुलुकको समस्याको जड सरकारको नेतृत्व गर्दै आएका राजनीतिक दलका नेतृत्व र अहिलेको संविधान भएको उनले बताए ।

उनले भने,‘राष्ट्रिय प्रजातन्त्र पार्टीले अहिले यो सरकारमा सहभागिता जनाउनुपर्ने कुनै कारण छैन । पहिलो कुरा त यो सरकार चलाउनका लागि मात्रै गणितको खाँचो छैन यो सरकारलाई । हामीले सुरूदेखि नै केवल सत्ताका लागि मात्रै सत्ता भन्ने कुरामा अब प्राथमिकता राख्दैनौं, राष्ट्रिय प्रजातन्त्र पार्टी त्यस प्रकारको खेलमा सहभागी हुँदैन भनिसकेका छौं । सरकारमा सहभागी हुने कुरा हाम्रो प्राथमिकताको विषय छैन । जहाँसम्म विश्वासको मत दिने कुरा छ, साँच्चै नै यो संविधानले काम गर्न सकेन र यो मुलुकको समस्याको जड अहिलेको नेतृत्व त हुँदै हो, त्योभन्दा पनि मुख्य यो नेतृत्वले ल्याएको अहिलेको संविधान हो । त्यसकारणले यो संविधानमा नमिलेको विषय थुप्रै छन्, जसलाई अब मिलाएर जानुपर्छ र देशमा राष्ट्रिय सहमति कायम गर्नुपर्छ भन्ने कुरामा हामी प्रारम्भदेखि नै छौं । सरकारले यसलाई प्राथमिकतामा राखेर साँच्चिकै संविधानको बाटो खुला गर्छ र संविधान संशोधनको प्रक्रिया अघि बढ्छ भने हामी जुनसुकै बेला पनि यो सरकारलाई निःशर्त समर्थन गर्दछौं । तर, अहिलेकै ढंगले अघि बढिरहने हो भने तत्काल राष्ट्रिय प्रजातन्त्र पार्टीले यो सरकारललाई विश्वासको मत दिँदैन । अहिलेका प्रधानमन्त्रीका पार्टीका महासचिवले एउटा टेलिभिजन अन्तर्वार्तामा दुई दलीय व्यवस्थाको बारेमा बोलिरहनुभएको छ । म त्यसको कडा प्रतिवाद गर्न चाहन्छु । अहिलेको समस्या साना दलहरू होइनन् । समानुपातिक निर्वाचन प्रणाली पनि होइन । अहिलेको समस्या भनेको अहिलेको सरकारको नेतृत्व गरिरहेका दलहरू हुन् । किनभने उनीहरूको कारण यो प्रकारको संविधान आयो, उनीहरूकै कारण यो प्रकारको विकृति देशमा आएको छ । विकृतिको जड नै अहिलेका मुख्य राजनीतिक दलहरू हुन् । समानुपातिकमा जसलाई ल्याउनुपर्ने हो उसलाई नल्याएर व्यापारीलाई कसले ल्यायो ? समानुपातिक सिट खरिदबिक्रीमा कसले राख्यो ? यिनै मुख्य दलहरूले राखे । साना राजनीतिक दललाई फुटाउने र प्रलोभनमा पार्ने काम कसले गर्‍याे ? यिनै ठूला राजनीतिक दलले गरे । विकृति र समस्या ठूला राजनीतिक दलमा छ । उनीहरू सच्चिनुपर्छ । यो सच्चिनका लागि यो संविधानमा सुधार र उनीहरूले आफ्नो व्यवहारमा परिवर्तन गर्नुपर्छ ।’

भागबण्डाको हिसाबले मात्रै सरकार बनेको हो भने दशैं-तिहारसम्म मात्रै हो
अध्यक्ष लिङ्देनले लेनदेन र भागबण्डाको हिसाबले मात्रै सरकार बनेको भए दशैं-तिहारसम्म मात्रै अघि बढ्ने बताए । गणितका हिसाबले कुनै समस्या नरहेको भए पनि सरकार कुन जगमा निर्माण भएको छ भन्ने कुराले सत्ता सहकार्य अघि बढ्ने उनले बताए । उनले सरकार अब कुनै अस्थिरतामा नरहेको अहिलेको गणितबाट पुष्टि हुने बताए ।

उनले अहिलेसम्म कुनै न्यूनतम साझा कार्यक्रम नआउनु, सम्झौताहरू नबाहिरिनुले शंका पैदा गर्ने बताए । उनले कुनै पनि संवैधानिक नियुक्तिको विषयलाई लिएर सरकार ढल्न सक्ने बताए ।उनले संविधान संशोधनको प्रक्रियामा अघि बढ्ने र दीर्घकालीन प्रभाव पार्ने काम सुरू भएको खण्डमा सरकारले स्थायित्व पाउने बताए ।

उनले भने, ‘सामान्यतया गणितका हिसाबले हेर्ने हो भने दुई ठूला राजनीतिक दलहरू मिलिसकेपछि अब गणितको कुनै समस्या छैन । बाँकी समय अब यही गठबन्धन अघि जान्छ । अब सरकारमा त्यस प्रकारको अस्थिरताको सम्भावना छैन भन्ने प्रकारको देखिन्छ । फेरि पनि भन्छु, यो सरकार कुन जगमा निर्माण भएको छ, अहिलेसम्म कुनै न्यूनतम साझा कार्यक्रम आएको छैन । के-के सम्झौता भयो भनेको छैन । जनताले सुनेको भनेको १८/१८ महिना सरकारको नेतृत्व गर्ने भन्नेबाहेक अरू संविधान संशोधनका कुरा, सुशासनका कुरा हामीले यसै बाहिर-बाहिर सुनेको बाहेक केही छैन । भागबण्डाको हिसाबले मात्रै सरकार बनेको हो भने लामो समय जाँदैन । कुनै पनि बेला नियुक्तिमै आएर यो सरकार ढल्न सक्छ । दशैं-तिहार मनाउने कुराको कल्पना गर्न सकिन्छ, त्यहाँभन्दा माथि स्थायित्वको कल्पना गर्न सकिँदैन । संविधान संशोधनको प्रक्रियामा गयो, त्यसले दीर्घकालीन प्रभाव पार्ने कामरूरुतिर गयो भने त स्वाभाविक रूपमा यो आफ्नो गतिमा अगाडि बढ्ला । होइन, विगतको जस्तै ढंगले लेनादेनामा सरकार चलाउने हिसाबले गए अरू बाटोमा प्रवेश गर्न सक्छ ।’

कसैलाई उपेक्षा गरेर संविधान संशोधन हुन सक्दैन
अध्यक्ष लिङ्देनले सत्तामा रहेका, प्रतिपक्षमा रहेका वा कुनै पनि राजनीतिक दलहरूको उपेक्षा गरेर संविधान संशोधन हुन नसक्ने बताए । उनले संविधान संशोधनका लागि राष्ट्रिय सहमति तयार हुनुपर्ने बताए ।

सरकारमा रहेका राजनीतिक दल, संसदमा रहेका शक्ति मात्रै नभई संसद, सत्तामा नरहेका शक्तिहरूको सहमतिमा सबैलाई अटाउने नयाँ सम्झौता गर्न आवश्यक रहेको उनले बताए । कसैलाई पाखा नलगाउने गरी, सबैलाई अपनत्व महसुस हुने गरी र विगतका नमिलेका विषयलाई मिलाएर संविधान संशोधन गर्न आवश्यक रहेको उनले बताए ।
उनले भने, ‘संविधान संशोधन गर्नका लागि कसैलाई पनि उपेक्षा गरेर, कसैलाई पनि पाखा पारेर संविधान संशोधन हुँदैन । संविधान संशोधनका लागि राष्ट्रिय सहमति तयार पार्नुपर्छ । त्यसकारण अहिले सरकारमा रहेका राजनीतिक दलहरू वा संसदमा रहेका शक्ति मात्रै होइन, संसद, सत्तामा नरहेका शक्तिहरूको सहमतिमा सबैलाई अटाउने नयाँ सम्झौता हो । यहाँ अल्पमत र बहुमतको कुरा आउँदैन । कसैलाई पाखा नलगाउने गरी, सबैलाई अपनत्व महसुस हुने गरी हिजो नमिलेका विषय मिलाएर जानका लागि गर्ने हो संविधन संशोधन । कसैलाई पाखा पार्न गरे पो बहुमत पुग्छ कि पुग्दैन भन्ने समस्या हुन्छ । राष्ट्रिय प्रजातन्त्र पार्टी संविधान संशोधन यो विषयमा गरेर जानुपर्छ भन्नेमा पूर्ण स्पष्ट छ । तर, भोलि छलफलको क्रममा सबैलाई सहमत गराउने क्रममा, सबैलाई जोड्ने क्रममा हामीले भनेको जस्तो नहुन सक्छ । तर, हामीले त भनेका छौं, अहिलेको राज्य संरचना, निर्वाचन प्रणाली, नियुक्ति प्रणालीमा व्यापक रूपमा संशोधन गरेर जानुपर्छ । प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री, पूर्ण समानुपातिक संसद, सांसदले मन्त्री हुन नपाउने व्यवस्था, प्रदेशको खारेजी, केन्द्र र बलियो स्थानीय तहको व्यवस्था । संवैधानिक अंगहरूमा योग्यता र क्षमताको आधारमा नियुक्ति, दलीय भागबण्डा होइन जस्ता विषयहरू जो सबैका लागि हुन्, यस्ता विषयहरू हामीले भनेका छौं ।’

अध्यक्ष लिङ्देनले राप्रपा संविधान संशोधन कुन-कुन विषयमा गर्ने भन्ने बारेमा स्पष्ट रहेको बताए । राज्य संरचना, निर्वाचन प्रणाली, नियुक्ति प्रणालीमा व्यापक संशोधन गरेर जान आवश्यक रहेको उनको भनाइ छ । यस्तै प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री, पूर्ण समानुपातिक संसद, सांसदले मन्त्री हुन नपाउने व्यवस्था, प्रदेशको खारेजी, केन्द्र र बलियो स्थानीय तहको व्यवस्था, वैधानिक अंगहरुमा योग्यता र क्षमताका आधारमा नियुक्ति गर्ने कुरामा संविधान संशोधन हुन जरूरी रहेको उनले बताए ।

हेर्नुहाेस् भिडियाे 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर