सत्तारूढ गठबन्धनमा षड्यन्त्रको गन्ध छ, समाजवादी मोर्चाले प्रतिवाद गर्छ : गंगा श्रेष्ठ

महिन्द्रराय यादव नेतृत्वको नेपाल समाजवादी पार्टीका सहअध्यक्ष तथा समाजवादी मोर्चा नेपालका कार्यदल सदस्य गंगानारायण श्रेष्ठले समाजवादी मोर्चाले राजनीतिक परिवर्तनबाट प्राप्त उपलब्धिहरूको रक्षा गर्ने बताएका छन् ।

कार्यदल सदस्य श्रेष्ठले समाजवादी मोर्चाले देशमा राजनीतिक परिवर्तनबाट प्राप्त भएका उपलब्धिहरुको रक्षा गर्ने बताएका हुन् । उनले नयाँ सत्तारूढ गठबन्धनले देशलाई पश्चगमनमा धकेल्न लागेको आरोप लगाए । उनले प्राप्त उपलब्धिहरूलाई छिन्ने धृष्टता गरे समाजवादी मोर्चाले त्यसको विरूद्धमा सडक र सदनबाट संघर्ष गर्ने बताए ।

उनले देशका समाजवादी, कम्युनिष्ट र वामपन्थी शक्तिहरू एकताबद्ध हुनुपर्ने आवश्यकता रहेको भन्दै मोर्चाले त्यसको आधार तयार गर्ने बताए । उनले आगामी दिनमा मोर्चामा आबद्ध दलहरू पार्टी एकताको तहसम्म पुग्न सक्ने पनि बताए ।

कार्यदल सदस्य श्रेष्ठले वर्तमान सत्तारूढ गठबन्धनभित्र षड्यन्त्रका गन्धहरू देखिएको भन्दै मोर्चाले षड्यन्त्रहरूको प्रतिवाद गर्ने बताए ।
‘अहिले तात्कालिक हिसाबले जसरी ठूला राजनीतिक दलहरूले गठबन्धन बनाएर प्रचण्ड सरकारको नेतृत्वलाई विस्थापन गरेर जुन आइराखेको छ, त्यसभित्र प्रशस्त षड्यन्त्रका गन्धहरू देखिन्छ,’ उनले भने, ‘त्यसको प्रतिवाद गर्छ । नेपालमा भएका वामपन्थी, कम्युनिष्ट दलहरू सँगसँगै अरू कतिपय पहिचानवादी दलहरू पनि छन् । यी सबैलाई पनि हामीले समाजवादी मोर्चामा ल्याउनको लागि जोड गर्नुपर्छ, वातावरण बनाउनुपर्छ भन्ने छ ।’

नेपाल समाजवादी पार्टी औपचारिक रूपमा समाजवादी मोर्चामा समावेश भएसँगै पार्टीका एक अध्यक्ष डा. बाबुराम भट्टराईले पार्टीका सदस्य नरहेका व्यक्तिहरू पार्टीको नाम लिई मोर्चामा गएको भन्दै विरोध जनाएका थिए । यस सम्बन्धमा पार्टी सहअध्यक्ष श्रेष्ठले नेपाल समाजवादी डा. भट्टराई र महिन्द्रराय यादव नेतृत्वमा दुईवटा भइसकेको प्रस्ट परे ।

उनले पार्टीका दुई अध्यक्षमध्ये महिन्द्रराय यादवले नेतृत्व गरेको पार्टी मोर्चामा सामेल भएको उल्लेख गर्दै डा. भट्टराईले आफ्नो पार्टीका सदस्यहरूको हस्ताक्षर दुरूपयोग गरेर निर्वाचन आयोगमा अद्यावधिक गरेको बताए । उनले यस सम्बन्धमा आफूहरूले आयोगमा निवेदन दर्ता गरिसकेको भन्दै पार्टीको आधिकारिकता बारेमा आयोगले स्पष्ट पार्नुपर्ने बताए ।

बागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्रीसमेत रहेका श्रेष्ठले प्रदेश सरकार निर्माणमा केन्द्रबाट हस्तक्षेप गर्न नहुने बताए । प्रदेश सरकार स्वायत्त सरकार भएको उल्लेख गर्दै उनले कुन-कुन दलहरू मिलेर सरकार गठन गर्ने भन्ने निर्णयको अधिकार प्रदेशसँगै हुने बताए ।

उनले केन्द्रीय गठबन्धन टुट्नासाथ सबै प्रदेशका गठबन्धनहरू फेरबदल हुँदा यसले प्रदेशको औचित्य र आवश्यकतामाथि नै प्रश्न उठेको बताए ।

सहअध्यक्ष श्रेष्ठले संघीयताको कार्यान्वयन गर्न प्रहरी समायोजनका लागि केन्द्र सरकारले प्रक्रिया अगाडि नबढाएको भन्दै प्रहरी समायोजनको माग गर्दै सर्वोच्च अदालतमा जाने चेतावनी दिए । प्रदेश सरकारले केन्द्र सरकारका विरूद्ध प्रहरी समायोजनको मागसहित मुद्दा हाल्ने तयारी गरेको भए पनि सम्भव हुन नसकेको उनको भनाइ छ ।

उनले आफू सरकारबाट बाहिरिए पनि प्रहरी समायोजनको माग गर्दै एउटा नागरिकको रूपमा सर्वोच्च अदालतमा मुद्दा दायर गर्ने बताए ।

उनले समाजवादी मोर्चाको भाावी कार्ययोजना बनाउनका लागि कार्यदलले काम गरिरहेको भन्दै तोकिएकै समयसीमाभित्र प्रतिवेदन पेस गरिने जानकारी दिए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर