सरकारले निजी क्षेत्रलाई दुःख दिँदैन : अर्थमन्त्री पौडेल

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वर्तमान सरकारले निजी क्षेत्रलाई कुनै पनि दुःख नदिने प्रतिबद्धता जनाउनुुका साथै सरकार समस्याको आगो ताप्न नबनेको बताएका छन्।

शुक्रवार नेपाल चेम्बर अफ कमर्सका पदाधिकारीहरुसँगको भेटमा उपप्रधान तथा अर्थमन्त्री पौडेलले यस्तो बताएका हुन्।

‘तपाईंहरु सरकारप्रति आशा, भरोसा र विश्वास गर्नुस्। निजी क्षेत्रका समस्या समाधान गर्नको निम्ति प्रभावकारी पहलकदमी लिन्छ‚’ उनले भने, ‘निजी क्षेत्रले शिथिल र संकुचनमा रहेको अर्थतन्त्रलाई लयमा फर्कन सक्छ भन्ने विश्वास लिनुस्‚ अभिभावकको भूमिका सरकारले निर्वाह गर्छ। सरकारले निजी क्षेत्रलाई दुःख दिँदैन।’

उनले अर्थतन्त्रमा देखिएका समस्यालाई प्राथमिकतामा राखेर समाधान गर्ने बताए। अर्थमन्त्री पौडेलले राजनीतिक अस्थिरताको कारण मुलुक र निजी क्षेत्रले समस्या भोग्दै आएको भन्दै स्थायित्व र स्थिर सरकारको सन्देश दिने गरी सरकार बनेकाले सबै समस्याको समाधान पनि यही सरकारले दिने उल्लेख गरे।

‘अहिलेको सरकार समस्याको आगो ताप्नका निम्ति बनेको सरकार होइन। यो सरकार समस्याको आगो निभाउने र समस्या समाधान गर्नको निम्ति बनेको सरकार हो‚’ उनले भने, ‘राजनीतिक अस्थिरताको कारण मुलुक र निजी क्षेत्रले समस्या भोग्दै आएको छ। राजनीतिक स्थायीत्व सुनिश्चित गर्ने र अर्थतन्त्रका समस्याहरु समाधान गर्ने प्रयासका साथ सरकार अगाडि बढेको छ। बजारमा माग र उत्पादन, पुँजीगत खर्च घटेको र राजश्व घटेको अवस्था छ।’

उनले राजनीतिक स्थायित्व सुनिश्चित गर्ने र अर्थतन्त्रका समस्यालाई समाधान गर्ने प्रयासका साथ सरकार अगाडि बढेको बताए।

अर्थमन्त्री पौडेलले बजारमा माग, उत्पादन, पुँजीगत खर्च र राजश्वलगायतका सूचकहरु घटेको अवस्था रहेको बताए। उनले अर्थतन्त्रका सूचकहरु मात्रै नभएर मानिसहरुको मन टुटेको भन्दै आत्मविश्वास बढाउने गरी काम गर्ने बताए।

उनले बैंकमा तरलता हुँदा र ब्याजदर घट्दै जाँदासमेत कर्जा प्रवाह नभएको भन्दै निजी क्षेत्रको आत्मविश्वास जगाउनु सरकारको पहिलो चुनौती रहेको बताए।

उनले उद्योगीहरु नयाँ क्षेत्रमा लगानी गर्नेभन्दा पनि कसरी व्यवसाय बचाउने भन्ने चिन्तामा रहेकाले कर्जा प्रवाह हुन नसकेको बताए।

उनले निजी क्षेत्र मुलुकको अर्थतन्त्रको बलियो आधार भएकाले  निजी क्षेत्रको आत्मविश्वास बढाउन सरकारको ध्यान केन्द्रित रहेको बताए।

उनले निजी क्षेत्रले सरकारप्रति आशा,भरोसा र विश्वास गरे त्यहाँका समस्या समाधान गर्नको निम्ति प्रभावकारी पहलकदमी लिने बताए।

उनले निजी क्षेत्रले शिथिल र संकुचनमा रहेको अर्थतन्त्रलाई लयमा फर्कनसक्ने विश्वास दिन आग्रह गरे। उनले सरकार सबैको अभिभावक भएकोले अभिभावकको भूमिका निर्वाह गर्ने बताए।

अर्थमन्त्रीसँगको भेटमा नेपाल चेम्बर अफ कमर्सले कर्जाको पुनर्तालिकीकरण गरेर धराशायी उद्योग बचाउन माग गरेको छ।

चेम्बरले आर्थिक गतिविधीमा आएको संकुचनले माग र आपूर्तिबीच असन्तुलन, निजी क्षेत्रको सम्पत्तिमा संकुचन एवं बैंक तथा वित्तीय संस्थामा तरलता भएपनि निजी क्षेत्रमा लगानीप्रति आर्कषण नभएकोप्रति ध्यानाकर्षण गरायो।

च्याम्बरले कालोसूचीमा पर्न लागेका उद्यमी व्यवसायीहरुलाई उद्योग व्यवसायको प्रकृति हेरेर केही समयका लागि कर्जाको पुनःतालिकीकरण गर्नुपर्ने माग राख्यो।

कर्जाको पुनःतालिकीकरण गर्न सकिए उद्यमी व्यवसायीहरुमा ठूलो आत्मविश्वास सिर्जना गर्न सकिने र धेरै उद्यमी व्यवसायीलाई धराशायी हुनबाट जोगाउनुपर्ने चेम्बरको माग छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर