निर्माण व्यवसायीको भुक्तानी रोकिँदैन : अर्थमन्त्री पौडेल

उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विभिन्न सरकारी निकायबाट निर्माण व्यवसायीलाई भुक्तानी हुनुपर्ने रकम यकिन भइरहेको र चाँडै भुक्तानी प्रक्रिया अघि बढ्ने जानकारी दिएका छन् ।

नेपाल निर्माण व्यवसायी महासङ्घका पदाधिकारीसँग आज अर्थमन्त्रालयमा भएको भेटघाटमा उनले दायित्व सिर्जना भइसकेको रकम भुक्तानी नरोकिने स्पष्ट पारेका हुन् ।

महासङ्घका पदाधिकारीसंगको छलफल अघि अर्थमन्त्री पौडेलले विभिन्न विषयगत मन्त्रालयका सचिवसँग छलफल गरेका थिए ।

‘काम सम्पन्न भइसकेका आयोजनाको भुक्तानी नरोक्न विभिन्न मन्त्रालयलाई भनिसकेको छ,’ अर्थमन्त्री पौडेलले भने, ‘समस्या आइसकेपछि यत्तिकै राख्ने होइन, समाधान गर्दै जाने हो । दुवै पक्ष छलफल गरेर निकास खोज्नतर्फ लागौँ ।’

सम्पन्न भएको कामको भुक्तानी नरोक्न विषयगत मन्त्रालयका सचिवलाई निर्देशन दिइसकेको अर्थमन्त्री पौडेलले बताए । पूर्वाधार निर्माणको गुणस्तर कायम गर्दै तोकिएको समय र लागतभित्र काम सम्पन्न गर्न पनि अर्थमन्त्री पौडेलले निर्माण व्यवसायीलाई आग्रह गरे ।

‘तपाईंहरूका जायज समस्या सुन्न र समाधान गर्न सरकार तयार छ । तपाईंहरू पनि तोकिएको समय र लागतभित्र काम सक्नुस् । कामको गुणस्तर कायम गर्ने विषयलाई पहिलो प्राथमिकतामा राख्नुहोला,’ अर्थमन्त्री पौडेलले भने ।

निर्माण व्यवसायीले प्रदेश र स्थानीय तहसमेतबाट गरेर करिब ६० अर्ब रूपैयाँ बराबर भुक्तानी पाउन बाँकी रहेको दाबी गर्दै आएका छन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर