संसद भवन निर्माण कार्य सन्तोषजनक छैन, छिटो सक्नुपर्‍याे : सभामुख घिमिरे

प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले संघीय संसद भवन निर्माण कार्यमा ढिलासुस्ती भएकामा असन्तुष्टि व्यक्त गरेका छन् ।

शुक्रबार सिंहदरबारमा उपप्रधानमन्त्री तथा शहरी विकासमन्त्री प्रकाशमान सिंह र सम्बन्धित निकायसँगको छलफलमा उनले सो असन्तुष्टि व्यक्त गरेका हुन् ।

सभामुख घिमिरेले सो भवनको निर्माणका कार्य आगामी मंसिरभित्र सम्पन्न गर्ने लक्ष्य लिए पनि सोअनुसारको काम नभएको भन्दै आपत्ति जनाए । उनले सो भवनको निर्माण कार्य छिटो र गुणस्तरीय ढंगले सम्पन्न गर्न पनि मातहतका निकायलाई सचेत गराए ।

सो भवनमा अत्याधुनिक प्रविधिको प्रयोग गर्ने कुरामा भने कुनै कन्जुस्याइँ नगर्न पनि सभामुख घिमिरेले सम्बन्धित पक्षलाई आग्रह गरे । त्यसका लागि कुनै समस्या भए शहरी विकास मन्त्रालयले हेर्ने र त्यसमा आफूहरूले पनि आवश्यक सहयोग गर्ने सभामुख घिमिरेको भनाइ थियो ।

सभामुख घिमिरेले सो भवन निर्माणका लागि आवश्यक जनशक्ति परिचालन गर्न पनि सम्बन्धित निकायलाई ध्यान दिन आग्रह गरे ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर